नसर्ने रोगबाट बच्न सुझाव


पुष १८, चितवन । सर्ने भन्दा नसर्ने रोगको अवस्था जटिल बन्दै गईरहेकाले यसबाट बच्न सरोकारवालाहरुले सुझाव दिएका छन् । राप्ती नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रवार जनप्रतिनिधीहरु र सरोकारवालाहरुका लागि आयोजना गरेको एक दिने अभिमुखीकरण गोष्ठीमा नसर्ने रोग भयावह बन्दै गएको उनीहरुको भनाई थियो ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालले सानो हेलचक्र्याइँले ठूला जटिल रोग लाग्ने भएकाले स्वास्थ्यमा विषेश ख्याल गर्न आग्रह गरिन् । सामाजिक विकासको काम भएकाले यस्ता रोगका बारे जनचेतना जगाउन जनप्रतिनिधीहरु,राजनितिक दलहरुले सक्रियता देखाउनु पर्ने प्रमुख बरालले बताईन् ।
बकुलहर रत्ननगर अस्पतालका डाक्टर प्रशान्त पौडेलले सर्ने रोगको तुलनामा नसर्ने रोग बढ्दै गएको बताए । डाक्टर पौडेलका अनुसार उच्च रक्तचाप, क्यान्सर, मधुमेह, स्वास्थ्य प्रस्वास, दम जस्ता रोगका कारण मानिसमा जटिल समस्या बन्दै गईरहेको छ ।
राप्ती नगरपालिका ५ की वडाध्यक्ष मेनुका पाठकको अध्यक्षतामा भएको कार्यक्रममा राप्तीका उपप्रमुख इमानसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांई, स्वास्थ्य शाखा सहसंयोजक राममणी सिलवाल लगायतले नसर्ने रोगका बारे तल्लो वर्ग सम्म सचेतना फैलाउनु पर्नेमा जोड दिए । कार्यक्रममा राप्तीका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
