वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न दौडधुप

माघ ६, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दौडधुप शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक सुचना प्रकाशित गर्दै उपकुलपतिको आब्हान गरेसँगै कार्य योजना बनाएरै उपकुलपति हुनेहरु सक्रिय भएका छन् ।   

मन्त्रालयले उपकुलपतिको रोष्टर नै तयार गरेर आवेदन सहितको विवरण माग गरेपछि प्रतिष्ठान भित्र र बाहिरका चिकित्सकहरु कार्य योजना बनाउँन र शक्ति केन्द्र समेत धाउन ब्यस्त छन् ।   

पदाधिकारी नियुक्तिमा यस अघि वीपी प्रतिष्ठानका कर्मचारी, शिक्षकहरु प्रतिष्ठान भित्रैबाट बुझेको ब्यक्ति आउनुपर्छ भन्नेमा एक मत थिए । तर, विगत ५ वर्षयता प्रतिष्ठानमा देखिएको विवाद र भ्रष्टाचारले कर्मचारीहरु समेत विभक्त देखिएका छन् ।   

प्रतिष्ठान भित्रबाट पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठानमा ब्यापक भ्रष्टाचार भएको भन्दै केहि कर्मचारीले यस पटक प्रतिष्ठान बाहिरबाट पदाधिकारी ल्याउनु पर्नेमा छन् । केहि कर्मचारीहरु भित्रैबाट उपकुलपति हुनुपर्ने बताउँदै छन् । साथै केहि कर्मचारी पदाधिकारी भित्र बाहिर जहाँबाट आएपनि इमान्दार नैतिकवान र नेतृत्व गर्न सक्ने क्षमताको हुनुपर्ने बताउँछन् ।   

वीपी प्रतिष्ठानको उपकुलपति भएर आफ्नो गरिमा बढाउनका लागि प्रतिष्ठान बाहिरबाट केहि चिकित्सकले आवेदन दिने तरखर गरेका छन् ।   

स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपतिले आन्तरिक सुचि तयार गरी तीन जनाको नाम प्रतिष्ठानका कुलपति समक्ष सिफारिस गर्ने र त्यस मध्येबाट एक जनालाई सहकुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्ति गर्ने प्रावधान छ । सोहि ब्यवस्था अनुरुप ५ दिनभित्र कार्य योजना बनाउन चिकित्सकहरु सक्रिय रहेका छन् ।   

प्रतिष्ठानको उपकुलपति हुनका लागि प्रतिष्ठान बाहिरबाट विराट नर्सिङ होमका डा. ज्ञानेन्द्र गिरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.अर्जुन कार्की, झापाका डा.गेहनाथ बराल, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा.नारायणविक्रम थापा, शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा.हरिहर वस्ती, राप्ति प्रतिष्ठानका शिक्षाध्यक्ष डा.विएन यादव, डा.अरुण सायमी तथा डा.भगवान कोइराला समेत आवेदन दिने तयारीमा रहेको स्रोतको दावि छ ।   

यसैगरी प्रतिष्ठान भित्रबाट समेत आकांक्षी रहेका छन् । प्रतिष्ठानका डा.प्रल्हाद कार्की, पूर्वशिक्षाध्यक्ष डा.विक्रम श्रेष्ठ, डा.पारस पोखरेल, डा.बद्री वडु समेतले आवेदन दिने मनस्थिति बनाएका छन् । भने, डा.मोहन रेग्मीको समेत नाम चर्चामा छ । 

उपकुलपतिको दौडमा आवेदन दिने मध्ये विराटनगरका डा. ज्ञानेन्द्र गिरीको नाम अग्रपङ्तीमा छ । ३५ वर्षदेखि चिकित्सकीय पेशामा आबद्ध डा. गिरी आफु साँढे तीन दशक देखि पूर्वको स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको बताउँदै वीपी प्रतिष्ठानको गिरेको साख फर्काउने क्षमता आफुसँग रहेको बताउँछन् । ‘प्रतिष्ठानलाई अगाडी बढाउन मसँग स्पष्ट भिजन छ ।’ उनी भन्छन् ।   

आवेदन दिएका वीपी प्रतिष्ठानकै फस्ट ब्याचका डा. नारायण विक्रम थापाले प्रतिष्ठानमा विद्यमान समस्या समाधान गरी दक्षिण एशियाकै उत्कृष्ट शिक्षण संस्थाका रुपमा पुर्नजागृत गराउन आफुले ठोस योजना बनाएको बताउँछन् । उनी प्रतिष्ठानको फस्ट ब्याचको डाक्टर समेत रहेकोले प्रतिष्ठानसँग छुट्टै एट्याचमेन्ट समेत रहेको बताउँछन् ।   

प्रतिष्ठानको उपकुलपति हुने इच्छा देखाएका मध्ये डा. प्रल्हाद कार्कीलाई नेपाली कांग्रेस, डा. विएन यादवलाई पूर्वमन्त्री उपेन्द्र यादव, डा. बद्रीप्रसाद बडूलाई फोरमको शिवजी यादवबाट साथ छ ।   

प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनाल समेत उपकुलपतिको दौडमा छन् । उनलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालको साथ रहेको बुझिएको छ । डा. विक्रम श्रेष्ठ, डा. पारस पोखरेल, डा. अरुण सायमी, डा. हरिहर वस्ती समेत लाइनमा छन् ।   

यता नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण प्रसाद अधिकारी मार्फत डा. गेहनाथ बराल पनि उपकुलपति हुन लागिरहेका छन् । भने, काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालालाई वीपी प्रतिष्ठानको उपकुलपति बनाएर आफु काउन्सिलको अध्यक्ष हुन डा.कृष्णप्रसाद अधिकारीको समेत लविङ रहेको बालुवाटार स्रोतको जिकिर छ ।   

रजिष्ट्रारमा पनि दौडधुप 

उपकुलपति नियुक्ति पछि प्रतिष्ठानको रजिष्ट्रार हुनेहरुको दौड समेत शुरु भइसकेको छ । रजिष्ट्रारका लागि पूर्वको राष्ट्रिय दैनिक पत्रिका ब्लाष्टका संस्थापक पत्रकार, अधिवक्ता किशोरकुमार कार्की, विराटनगरमा आँखा अस्पताल चलाइरहेका राजेश प्रसाई, प्रतिष्ठानका प्रसुति विभागका प्रमुख डा. मोहन रेग्मीको समेत चर्चा छ । यसका अलावा धरानका नेकपाका नेता मुरारी सुवेदीका भाइको समेत चर्चा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *