यसरी उठ्दैछ प्रताप मल्लको ‘रानीपोखरी’ (१५ तस्वीर)


माघ ३, काठमाडौं । राजा प्रताप मल्लले एक सन्यासीको सल्लाहमा आफ्नो जीवनकालमै आफ्ना ४ छोरालाई पालैपालो राजा बनाउन थाले । तीन छोराले तीन वर्ष राज्य चलाए । पालो रानीको प्यारो कान्छो छोरा चक्रवर्तीन्द्रको आयो । राजा पनि बने । तर दुर्भाग्य राजा भएको रातमा नै उनकाे मृत्यु भयो ।
छोराको याद तथा सम्झनामा राजा प्रतापले ५ वर्ष लगाएर वि.सं. १७२७ कार्तिक १७ गते रानीपोखरीको निर्माण सम्पन्न गरे । त्यसको करिब अढाई शतकपछि अर्थात् १९९० सालको भुकम्पले उक्त पोखरीमा क्षति पुग्यो । वि.सं.२०१३ मा राजा महेन्द्रले रानीपोखरी तथा मन्दिरको मर्मत गराए ।
२०७२ बैशाख १२ को भुकम्पले फेरि ध्वस्त बनाएको रानीपोखरी पुनर्निर्माणको काम अहिले धमाधम चलिरहेको छ । चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शिलान्यास गरेकी रानीपोखरीमा पानी जमाउनका लागि कालोमाटो बिछ्याउने, पोखरीको बिच भागमा रहेको बालगोपाल मन्दिर ठड्याउने, पुल उठाउने लगायतका कामहरु भइरहेका छन् ।
पुलको काम ८० प्रतिशत सकिएको सिएम तुलसी जेवीका इन्जिनियर सनम श्रेष्ठले जानकारी दिए । ‘पुल लगभग फिनिसिङ्ग लेभलमा आइसकेको छ । मन्दिरको काम ३५/४० प्रतिशत सकिएको छ । मन्दिर पनि टाइविम लेभलमा आइसकेको छ । आउँदो वैशाख १२ गते उद्घाटन गर्ने कुरा आएको छ । त्यतिबेलासम्म काम सकिन्छ होला’, उनले भने ।
उनका अनुसार सिएमले मन्दिर, वरिपरिका फुटपाथ, बगैंचा र पुलको ठेक्का १३ करोडमा लिएको हो । मन्दिरमा १६ वटा काठका पिलरहरु उठाइ सकिएको छ । ६० प्रतिशत काम बाँकी छ । पोखरीको काम भने उपभोक्ता समितिले हेरिरहेको छ ।
रानीपोखरी पुनर्निर्माण गर्ने तयारी सुरु गरेको नगरपालिकाले वरिपरिको पर्खाल उठाइसकेको थियो । मन्दिर पनि थोरै उठाइसकेको थियो । त्यस समय निर्माण शैलीका विषयलाई लिएर केही विवाद देखिएका थिए । अहिले भने त्यस्तो कुनै विवाद नआएको इन्जिनियर सनमको भनाइ छ ।
सिमेन्ट, बालुवा, सुर्की र चुन मिसाएर बनाइएको मसलाबाट मन्दिरको पुनर्निर्माण थालिएको एक कामदारले बताए । पुरानो संरचना पूरै भत्काएर पुरानो शिखर शैलीमा निर्माण भइरहेको उक्त मन्दिरमा सिमेन्टको सट्टा परम्परागत सुर्कीको प्रयोग गरिएको हो ।
सुर्की पुरानो इँट्टा कुटेर निकालिएको धुलो हो । यसमा चुना मिसाएर मन्दिरको भित्तामा इँट्टा जडान गरिँदैछ । राजा प्रताप मल्लको पालामा यसरी नै बनाइएको र यो निकै बलियो हुने उनको भनाइ छ ।
ठेकेदार ५५ वर्षीय देवरत्न महर्जनले ४०/४५ कामदार राखेर धमाधम काम भइरहेको बताए । १४/१५ वर्षको उमेरदेखि डकर्मी काम थालेका उनी भदौ ११ देखि रानीपोखरी पुनर्निर्माणको काममा जोडिएका हुन् । यसअघि उनकै नेतृत्वमा विजेश्वरी मन्दिर पनि पुनर्निर्माण भइसकेको छ ।
‘मन्दिरको काम साउन १४ देखि सुरु भएको हो । मेरो हाजिर ११ गतेदेखि छ । सक्दो छिटो सकाउने गरी काम भइरहेको छ । रानीपोखरी पुनर्निर्माणको काम छिटै सकाउन पाए पर्यटकहरु थपिन्थे होला’, महर्जनले भने, ‘आउँदो वैशाख १२ गते उद्घाटन गर्ने घोषणा भइसकेको छ । अलिकति प्रेसर बढेको छ ।’
पानी पर्दा काम रोकिने हुँदा यतिबेलै सकिन्छ भन्न नसकिने महर्जन बताउँछन् । ‘आजदेखि ओभरटाइम लगाउने कुरा थियो । पानी पर्यो । पानी रोकियो भने भोलिदेखि बेलुकी १ घण्टा ओभरटाइम गराउँछौँ । जनशक्ति थप्ने हो भने तोकिएको समयमा नै सकिन्छ रानीपोखरी पुनर्निर्माणको काम । नत्र गाह्रै पर्ला !’– महर्जनको भनाइ छ ।
उनका अनुसार सामान्य काम गर्नेलाई पनि एक हजार रुपैयाँ दैनिक दिनुपर्छ । डकर्मीलाई भने दिनको २२ सय बढी दिनुपर्छ । बिहानको खाना पनि खुवाउनुपर्छ ।
ठेकेदार महर्जनले भने स्क्वायरफिटका आधारमा कम्पनीबाट ज्याला रकम पाउँछन् । काम रामै्रसँग सम्पन्न भइरहेको र अहिलेसम्म सम्बन्धित निकाय तथा कम्पनीबाट कुनै गुनासो नआएको पनि उनले सुनाए ।
पोखरीको काम पनि धमाधम भइरहेको ठेकेदार राजकुमार श्रेष्ठले जानकारी दिए । ‘पोखरीको ५० प्रतिशत काम सकियो । निर्धारित समयमै सक्न हामी प्रयासरत छौँ । कालोमाटो राखेर ईँट्टा सोलिङ गर्ने काम भइरहेको छ । समयले साथ दियो भने समयमा नै सकिन्छ । पानीका लागि बोरिङ खन्ने कुरा भइरहेको छ । तर निश्चित भने छैन’, उनले भने ।
जुम्ला पटमाराका कृष्ण रानीपोखरी पुनर्निर्माणमा जोडिएको १ वर्ष भयो । पहिले सोलारसम्बन्धी काम गर्ने कृष्णलाई उनका साथीले रानीपोखरीमा ल्याएका हुन् ।
बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ठडिँदै गरेको रानीपोखरीमा मसला घोल्ने काम गर्ने कृष्णको ज्याला दैनिक एक हजार छ । उनले घर बनाउने काम गर्न थालेको ५ वर्ष भयो ।
पहिले पैसा फसेका कारण कम्पनीमा जोडिएका हुन् उनी । यहाँ भने अलि सुविस्ता भएको २८ वर्षीय कृष्ण बताउँछन् । ‘हामीले काम इमान्दारितापूर्वक गरेका छौँ । कराउने बाटो राखेका छैनौँ । त्यसैले पनि गाली खानुपरेको छैन । पैसा पनि समयमा नै आउँछ । बिहानको खाना कम्पनीले खुवाउँछ । दिउँसोको खाजा र बेलुकीको खाना आफैँ खान्छौँ’, कृष्णले भने ।
नेपालको ऐतिहासिक सम्पदा रानीपोखरी बनाउन पाउँदा आफू निकै उत्साहित भएको उनी बताउँछन् । ०७२ को भूकम्पले रानीपोखरी भत्काउनु अघि एक पटक छिरेका थिए कृष्ण, तिहारको भाइटिकाको दिन । त्यसपछि आउन पाएका थिएनन् ।
‘पहिले यहाँभित्र छिर्न पाइँदैन थियो । अहिले आफ्नै हातले रानीपोखरी बनाउँदैछु । निकै खुशी लागेको छ । योभन्दा अघि एकपटक यहाँभित्र छिरेको थिएँ, तिहारको टिका लगाउन । मेरो दिदीबहिनी हुनुहुन्न । यहाँ टिका लगाउन पाइन्छ भन्ने सुनेको थिएँ, एकजना दिदीले लगाइदिनु भयो’, उनले बताए ।
रानीपोखरीको इतिहासबारे भने त्यति जानकार छैनन् उनी । वैशाख १२ गतेसम्म काम सकिनेमा उनी ढुक्क छन् । भन्छन्, ‘रानीपोखरीको बारेमा त्यति थाहा छैन । एक जना राजाले बनाउनु भएको भन्ने सुनेको हो । तर भत्किएको सुन्दा निकै दुःख लाग्यो । अब वैशाख १२ सम्ममा तयार हुन्छ होला । त्यसपछि फेरि दिदीबहिनी र दाजुभाईले तिहारमा टिका लगाउन पाउनेछन् ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले काम तीव्र गतिमा भइरहेको र वैशाखभित्र सकिने बताए । ‘काम तीव्र गतिमा भइरहेको छ । वैशाखमा उद्घाटन गर्ने कुरा छ । हेरौँ के हुन्छ’, उनले भने ।
