पोलोका लागि हात्तीहरु अभ्यासमा व्यस्त

पुष ८, चितवन । हात्तीका खेलहरु समावेश गरेर आयोजना गरिदैँ आएको चितवन हात्ती महोत्सवका लागि यतिबेला हात्तीहरु अभ्यासमा व्यस्त रहेका छन् ।
सफारीमा व्यस्त हुने हात्तीहरु बिगत केही दिनदेखी दिउँसो तीन बजेपछि पोलो, फुटवलका लागि व्यस्त हुने गरेका हात्ती महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए ।
एक अर्कामा घुलमिल भई सहज रुपमा खेलहरु खेल्न सक्ने बनाउन अभ्यास गराईएको भट्टराईको भनाई छ । बाघमारा चौरमा हुने १६ औं संस्करणको हात्ती महोत्सव यही पुष १० गतेदेखी १८ गते सम्म संचालन हुँदैछ ।

महोत्सवको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको भट्टराईले बताए । महोत्सवमा हात्ती पोलो प्रतियोगिता,हात्तीका छावाहरुबीच फुटवल प्रतियोगिता,हात्ती फास्ट बाक प्रतियोगिता,हात्ती पिकनिक, हात्ती सुन्दरी प्रतियोगिता लगायत गतिविधी समावेश गरिएको छ ।
यस पटक गाढा दौड, टाँगा दौड र डुंगा दौडलाई पुन समावेश गरिएको छ भने राष्ट्रियस्तरको महिला बीच भलिवल प्रतियोगिता थप गरिएको छ । प्रदेश सरकारले भ्रमण वर्ष सौराहाबाट सुरु गर्न लागेकाले यस पटकको महोत्सवको समयावधी ४ दिन थप गरेर बिभिन्न गतिविधीहरु समावेश गरिएको हात्ती महोत्सवका संयोजक एवंम् क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणी खनालले जानकारी दिए ।
प्रदेश सरकारले यही पुष १८ गते प्रदेश स्तरीय भ्रमण वर्षको सुरुवात चितवनको सौराहाबाट शुभारम्भ गर्दैछ । भ्रमण वर्षलाईनै लक्षित गर्दै प्रदेश सरकारलेनै प्रदेशका १३ जिल्लाका संस्कृति प्रर्दशन गर्ने तयारी समेत गरेको संयोजक खनालले बताए ।
यस पटकको महोत्सवमा पर्यटन व्यवसायी १ जना र संरक्षणकर्मी २ जनलाई सम्मान गर्ने निर्णय भएको छ । संघको पछिल्लो बैठकले महोत्सवको उद्घाटनका दिन पुराना पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठ,संरक्षणकर्मीहरु नन्द प्रसाद भट्टराई र डिम्वर चौधरीलाई सम्मान गर्ने निर्णय भएको संयोजक खनालले बताए ।








