लघुवित्त क्षेत्रबाट गरिवी निवारणमा योगदान पुर्याएको भन्दै भगवती चौधरीलाई अभिनन्दन

पुस १२, काठमाडौं । काभ्रेको बनेपामा ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’ अन्तरगत लघुवित्त विशेष कार्यक्रममा लघुवित्त अभियानकर्मी महिला नेतृ भगबती चौधरीलाई अभिनन्दन गरिएको छ । लघुबित्तमार्फत गाउँगाउँमा पुँजी पुर्याएर महिलाहरुलाई आर्थिक क्षेत्रमा अगाडी बढाउन र गरिवी निवारणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै महिला अधिकारवादी तथा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकि अध्यक्ष चौधरीलाई अभिनन्दन गरिएको हो ।
दुई दशक भन्दा बढिदेखि लघुवित्त क्षेत्रमा सक्रिय चौधरीले नेतृत्व गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था अहिले देशका ४० भन्दा बढि जिल्लाहरुमा सक्रिय रहेको छ ।
अभिनन्दन ग्रहण गरेपछि समारोहमा लघुवित्त अभियन्ता भगबती चौधरीले महिलाको शसक्तिकरणका लागि लघुवित्त महत्वपूर्ण भएको उल्लेख गर्दै कर्जा सदुपयोग गरेर अगाडि बढ्न लघुवित्त सदस्यहरुलाई आग्रह गरिन् । उनले संसारमा ससानो पुँजी परिचालनबाटै ठुला उद्यमीहरुको जन्म भएको उल्लेख गर्दै काम गर्नका लागि सक्रियता र हिम्मत जुटाउन महिलाहरुलाई आग्रह गरिन् ।

‘आज विश्वमा सफल उद्यमी र विजनेशमेन भएकाहरुले सानै पुँजी लिएर अगाडि बढेका थिए, सफल हुन मेहनत, लगनशीलता र काम प्रतिको इमान्दारिता चाहिन्छ ।’ चौधरीले भनिन् । लघुवित्तबाटै देशको गरिवी निवारण सम्भव हुने भन्दै उनले यसकालागि राज्यले सक्रियता अपनाउनुपर्ने खाँचौ औंल्याइन् ।
लघुवित्त हबका रुपमा रहेको बनेपामा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले समृद्धिका लागि हरेक व्यक्तिले उद्यमी बन्ने अठोट बोक्नुपर्ने बताए । साथै उनीहरुले गरिवी निवारणमा लघुवित्तको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उद्यमशीलताको विकास विना समृद्ध हासिल हुन नसक्ने बताए । कार्यक्रममा ससानो रकमलाई पनि पुँजीका रुपमा परिचालन गर्नुपर्ने आबश्यकता औंल्याइयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक सुशील ज्ञवालीले वित्तीय चेतना विना समृद्धि सम्भव नहुने बताए । उनले हरेक व्यक्ति वित्तीय रुपमा साक्षर हुनुपर्ने समय आएको उल्लेख गर्दै विकासका लागि वित्तीय साक्षरता जरुरी रहेको जिकिर गरे ।
बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले उद्यमीलताको विकासका लागि योजना बोकेर नगरपालिकामा आउन नगरबासीलाई आग्रह गरे । उनले काम गर्नका लागि अग्रसर हुन पनि सबैलाई आग्रह गरे । कार्यक्रममा लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले नेपालमा ४२ लाख नागरिकहरु लघुवित्त सदस्य रहेको उल्लेख गर्दै सबैलाई उद्यमशीलताको माध्यमबाट ठुला उद्यमी बन्न आग्रह गरे । उनले गरिवी निवारणको कार्यमा लघुवित्तले महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।
त्यसैगरी सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले अन्तर्राष्ट्रिय स्तरमै वित्तीय साक्षर हुने देश समृद्ध भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि वित्तीय साक्षरता महत्वपूर्ण भएको बताए ।
उनले कर्म गर्न र सहि ठाउँमा लगानी गर्न सके पैसा कमाउन कठिन नहुने दावि गरे । त्यसैगरी वित्तीय जागरण राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक माधव निर्दोषले हरेक नागरिकले राज्य र राजनीतिबाट आशा नबोकी आफ्नै पौरखमा उद्यमी बन्नुपर्ने समय आएको बताए । उनले संसारमा सय रुपैयाँ कर्जाबाट समेत ठुला उद्यमी जन्मीएको उल्लेख गर्दै लाज नमानी काम सुरु गर्नेहरु नै समृद्धिका वाहक भएको औल्याए । उनले हरेक लघुवित्त सदस्यलाई काममा ध्यान दिएर लगानी गर्न पनि आग्रह गरे ।
कार्यक्रममा फाइनान्सीयल टेक्नोलोजी विज्ञ केशवराज आचार्यले बैंक अब मोवाइलमै केन्द्रीत रहेको हुँदा मोवाइल वालेटको प्रयोग बढाउनुपर्ने बताए । उनले वित्तीय लनेजका लागि र वित्तीय सुविधाका लागि वालेटको प्रयोग आबश्यक रहेको बताए ।
मिडिया इन्टरनेसनलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा नेपाल लघुवित्त बैंकर्स संघको सहकार्यमा भएको उक्त कार्यक्रममा सिन्धु विकास बैंकले बैंकिङ पार्टनर र प्रभु पे ले डिजिटल बैंकिङ पार्टरका रुपमा सहभागिता जनाएका थिए । कार्यक्रम उद्यमशीलता गर्नेका लागि फलदायी भएको उपस्थित लघुवित्त सदस्यहरुले बताए ।








