डा. शेखरको बचन तिलक राईलाई संजिवनी, यसरी गुमायो नेकपाले धरान

धरानसँग कांग्रेस नेता डा.शेखर कोइरालाको विशेष सम्बन्ध छ । सुनसरीको छिमेकी जिल्ला विराटनगरका डा. कोइराला धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति समेत भएकाले धरानको आर्थिक, सामाजिक, राजनीतिक, स्वास्थ्यका दृष्टिकोणले परिचित छन् ।   

राष्ट्रिय राजनीतिमा लाग्नु अघि डा. कोइरालाकै सद्प्रयासमा अहिलेको वीपी प्रतिष्ठान बन्न सकेको भन्दा अत्युक्ति नहोला । पूर्वाञ्चलका जनतालाई गुणस्तरीय मेडिकल शिक्षा र स्वास्थ्य सेवा दिन वीपी प्रतिष्ठानको स्थापना भएसँगै धरानबासीसँग भावनात्मक सम्बन्ध पनि बनाएका थिए । त्यहि भएर बेलाबेलामा धरानको राजनीति र वीपी प्रतिष्ठानसँग जोडिएर डा. कोइरालाले अभिब्यक्ति दिने गर्दछन् ।   

यसपटक धरानमा कम्युनिस्टको लालकिल्ला तोडिनुमा उपनिर्वाचनका उम्मेद्वार तिलक राईको जति मेहनत छ, त्यसमा डा. शेखर कोइरालाको सहभागिता पनि उत्तिकै छ ।   

चुनाबी अभियान भइरहँदा डा. कोइराला स्वयं तिलक राईलाई भोट माग्न धरान पुगे । उनले त्यहाँका सुकुम्बासी क्षेत्रमै गएर तिलक राईका पक्षमा भोट मागिदिँदा २४ हजार सुकुम्बासी माझ सकारात्मक धारणा पैदा गरिदियो । डा. शेखर धरानका गल्ली, चौक र सुकुम्बासी क्षेत्रमा डा. शेखर हिँड्दा वर्षौंदेखि खहरे, सर्दु र सेउती किनारामा बसिरहेका सुकुम्बासीका मन पनि कांग्रेस तर्फ फर्कियो । त्यत्ति मात्र हैन, चार दिन धरानमा रहँदा डा. शेखरले धरानका पार्टी भित्रै रुष्ट कम्युनिस्टहरुसँग भेटघाट गरे, उनीहरुलाई परिवर्तनको पक्षमा ल्याए ।   

‘बारम्बार कम्युनिस्टहरुबाट धोका पाइरहेकाहरुले कांग्रेसलाई पत्याए । र, ०४६ सालपछि पहिलो पटक कांग्रेसलाई जीत दिलाए ।’ कांग्रेसीहरु तिलकको जीत कम्युनिस्टलाई नै दिन्छन् ।   

डा. शेखरले धरानका २४ हजार सुकुम्बासी र कम्युनिस्टलाई संवोधन गर्दै ‘कांग्रेसले मात्र सुकुम्बासी समस्या समाधान गर्न सक्छ’ भनिदिँदा त्यहि बचन तिलक राईलाई संजिवनी वुटी भइदियो । यो कुरा स्वयं तिलक राईले समेत स्विकारी सकेका छन् । उनले मेयरमा विजयी भइसकेपछि खुल्ला रुपमै भनिदिए ‘यो कांग्रेसको जीत मात्र होइन, जनताको जीत हो । मलाई कम्युनिस्ट साथीहरुले नै मत दिएर जिताउनु भएको छ’   

यससँगै गगन थापा, महेश आचार्य, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, पार्टी सभापति शेरबहादुर देउवा तथा काग्रेस महिला नेतृहरु स्वयं धरान गएर तिलक राईका पक्षमा भोट मागे । भने, स्थानीय नेताहरु सुजेन्द्र तामाङ, चन्द्रप्रसाद श्रेष्ठ, श्यामा रेग्मी, जिल्ला सभापति राजिब कोइराला, तरुण दलका जिल्ला, क्षेत्र र नगरका नेता कार्यकर्ताहरु प्रतिनिधिसभा सदस्य मिना सुब्बा, मिन विश्वकर्मा लगायतको सक्रिय सहभागिता पनि महत्वपूर्ण रह्यो ।   

यस अघिका निर्वाचनमा नेकाका यतिका धेरै ठूला नेताहरु एकै पटक धरान गएका थिएनन् । यस पटक धरानको बाम किल्ला भत्काउन कांग्रेसले वडा, नगर तथा जिल्ला र केन्द्रिय तहमै एक भएर रणनीति बनाएको थियो । यसमा केन्द्रले जिल्ला र नगरको रणनीतिमा सहयोग त गर्यो नै त्यो भन्दापनि धरानमा विगतमा पटकपटक ब्यक्तिगत टकरावमा रहेको कांग्रेस यसपटक एक भयो ।   

धराने कांग्रेसमा अहिलेसम्म नसुल्झिएको दुई राईको विवाद पनि उपनिर्वाचनले साम्य बनाइदिएको छ । ०७४ सालको स्थानीय निर्वाचनमा टिकट नपाउँदाको झोँकमा तिलक राईलाई सहयोग नगरेका पूर्वनगर सभापति किशोर राईले यसपटक तिलक राईलाई सहयोग गरे ।   

धरानमा कांग्रेस आउनुमा कम्युनिस्ट शासनको दम्भ एकातिर थियो भने, अर्काे तिर तिलक राई र नेपाली कांग्रेसले पनि विगतको पराजयको कारण खोतल्दै एकतागत रणनीति बनाउनु थियो । धरानबासीले परिवर्तन चाहेकै थिए, त्यसमा तिलक राईले ग्रासरुटमै गए । हरेक सुकुम्बासी बस्ती गए, जनताका घरदैलोमा गए । बढ्दो एकीकृत सम्पत्ति करको कुरा उठाए, धरान उपमहानगरपालिका भित्र मौलाएको भ्रष्टाचार, वेथिती, कर्मचारीतन्त्रका कुरा गरे । अब्यवस्थित बसपार्क समस्या निराकरणका कुरा गरे । सर्दु, सेउतीमा गिट्टी कुट्ने सुकुम्बासीका पक्षमा कुरा गरे । जुन कुरा धरानको विकासको बाधक थियो । 

तिलक राईले धरानबासीलाई ठूल्ठूला आश्वासन बाँडेनन् । तीन वर्षका लागि उपमहानगरपालिकामा आउने उनले स्थानीय निकायलाई कसरी बलियो बनाउने, एककिृत सम्पत्ति कर वाहेक दिर्घकालिन स्रोत नभएको उपमहानगरको आम्दानी कसरी बढाउने ? पारदर्शीता, शुशासन र मितब्ययीताका कुरा गर्दा धरानबासी आकर्षित भएका हुन् । धरानमा लालकिल्ला तोडिनुमा नेकपाका नेताहरुको दम्भ एउटा कारक हो ।   

त्यसो त नेकपाका उम्मेद्वार प्रकाश राई पनि धरानकै हुन् । ब्यक्तिगत रुपमा प्रकाश राईको स्टाटस राम्रो भएपनि यसपटक पार्टीकै कारण उनको पराजय भयो । नेकपा उम्मेद्वार चयनमै चिप्लिएको थियो । कांग्रेसले निर्वाचन आउनु दुई महिना अघि नै सर्वसम्मत रुपमा तिलक राईलाई उम्मेद्वार घोषणा गर्दा नेकपामा एक दर्जन आकांक्षीविच नामावली सिफारिसको अन्तिम समयसम्म रस्साकस्सी थियो । पार्टी भित्रको  अन्तर द्वन्द्वद्वन्द्वले नेकपालाई सिध्याएको हो ।   

कांग्रेसले धरानमा पहिलोचोटि विजयोत्सब मनाइरहँदा तिलक राईले आफुले पाउने सेवा सुविधा समेत नलिने र स्थानीय निकायमा सत्तापक्ष र प्रतिपक्षको भावना नरहने अभिब्यक्ति दिए । यसले अबको दिनमा धरानको विकासमा केहि गर्न सक्छन् भन्ने आशा गर्न सकिन्छ । तर, वडागत रुपमा नेकपाको बाहुल्यता भएको स्थानमा मेयर एउटाले सबथोक गर्न सक्छु भन्नु फलामकै चिउरा चपाए सरह हो । तिलक राईले भने जस्तो स्थानीय निकायमा सत्तापक्ष र प्रतिपक्ष भएन, वडाहरुले सहमति र सहकार्यको भावना विकास गरेभने धरानले कोल्टे फेर्ला, नत्र शासन ब्यवस्था फेरिएला जनताका अपेक्षा जस्ताका तस्तै रहन्छन् । तसर्थ, तिलक राईले धरानका सबै वडाहरुमा सहकार्य गरेर काम गर्नु ठूलो चुनौति छ ।   

को हुन् तिलक ? 

तिलक राई पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका हुन् । पूर्वगोर्खा सैनिक पृष्ठभूमिका उनले धरानको डिपो माविबाट एसएसलसी उत्तीर्ण गरी महेन्द्र क्याम्पस धरानमा आइकम पढे ।   

उनी किरात राई यायेक्खाका केन्द्रिय अध्यक्ष समेत भइसकेका ब्यक्ति हन् । भने, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको पूर्वनगर अध्यक्ष समेत हुन् । धरानमा उनलाई शालिन युवा ब्यक्तित्वका रुपमा लिइन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =