निजी अपार्टमेन्टमै बेचिन्छन् नेपाली किशोरी

पुष १५, काठमाडौँ । पछिल्लो समय भारतमा कोठीमा मात्रै नभै निजी घर तथा अपार्टमेन्टहरुमा यौन व्यवसाय हुन थालेको माइती नेपालले जनाएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी माइती नेपालका अध्यक्ष विश्वराम खड्काले मानव बेचबिखन तथा ओसारपसारले नयाँ रुप लिन थालेको बताएका हुन् । उनका अनुसार दालाहरुले निजी घर तथा अपार्टमेन्ट भाडामा लिएर नेपाली किशोरीहरुलाई यौनधन्दा गराउने नौलो तरिका अपनाएका छन् ।
यौन व्यवसाय सञ्चालनमा नयाँ तरिका अपनाउन थालेका कारण हराएका महिला तथा बालबालिकाहरुको अवस्था पहिचान, उनीहरुको खोजतलास र उद्धारमा जटिल अवस्था निम्तिएको उनले जनाए । सामाजिक सञ्जालहरु फेसबुक, इमो, ह्वाट्स एप, भाइबर, मेसेन्जर लगायतका माध्यमबाट दलालहरुले आफ्नो सम्पर्क संयन्त्रलाई दिनानुदिन सहज बनाएको टिप्पणीसमेत उनले गरे ।

माइती नेपालले सन् २०१९ भरी दुई हजार चार सय ८५ जनालाई जोखिमपूर्ण यात्रामा रही नेपाल–भारत सिमाना क्षेत्रबाट उद्धार गरिएको जनाएको छ । यो अवधिमा दुई हजार तीन सय ४९ जनालाई परामर्शसहित पारिवारिक पुनर्मिलन गराइएको, बेचबिखनमा परी श्रम तथा यौन शोषणमा रहेका तीन सय २२ जनालाई भारतबाट र १६ जनालाई खाडीबाट उद्धार गरिएको माइती नेपालले जनाएको छ ।








