पत्रकार कुटपिट गर्ने ६ जना विरुद्ध मुद्दा दर्ता

मंसिर २७, धरान । नेपाल पत्रकार महासंघ सुनसरी उपाध्यक्ष सन्तोष काफ्ले माथि आक्रमण गर्ने ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । समाचार संकलन गर्न ढिलो आएको भन्दै आक्रमणबाट घाइते भएका पत्रकार सन्तोष काफ्लेले प्रहरीमा ६ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । 

काफ्लेले बिहान इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन् ।  इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले घाइते पत्रकार काफ्लेले ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेको जानकारी दिए ।   

जाहेरीमा परेका ६ जना मध्ये ४ जना घटनालगत्तै पक्राउ परेका छन् । अन्य २ जनाको नाम जाहेरीमा थप भएकोले उनीहरुलाई अदालतबाट अनुमति लिएर पक्राउ गर्ने डिएसपी न्यौपानले बताए ।   

पत्रकार काफ्ले माथि सल्लेरी वचत तथा ऋण सहकारी संस्थाबाट पीडित वचतकर्ताहरुले बिहिबार दिउँसो समाचार संकलन गर्न ढिला गरेको भन्दै आक्रमण गरेका थिए । उनको नाक भाँच्चिएको छ । देब्रे आँखामा पनि गम्भीर चोट लागेको छ । आँखामा आँसु आउने नशा छिनेको चिकित्सकहरुको भनाई छ । काफ्लेलाई आँखाको अप्रेशन गर्न विराटनगर लगिएको छ । 

घटनालगत्तै पत्रकार काफ्लेलाई आक्रमण गर्ने मुख्य आरोपी नरेश साहसँगै संघर्ष समितिका अध्यक्ष तुलसीप्रसाद बिक, दिपक राई र संगीता राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अनुसन्धानको लागि म्याद थप गर्न अदालत लगिएको छ ।   

सल्लेरी सहकारीका अध्यक्ष कृष्ण बिकले सहकारीका वचतकर्ताहरुको ८ करोड बढी रकम हिनामिना गरेका थिए । अहिले अध्यक्ष बिक पुर्पक्षकोलागि जेलमा छन् । सञ्चालक समितिका सदस्यहरु धरौटी बुझाएर छुटेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =