…जसले १३ औं सागलाई ऐतिहासिक बनाए

मंसिर २६, काठमाडौं । खेलकुदको जन्म कहाँ र कहिले भयो ? यकिनका साथ भन्न सकिने अवस्था छैन । खैर, जहिले सुरु भएपनि पछिल्लो समय संसारका सयौँ राष्ट्रहरुले खेलकुदमा फड्को मारिसकेका छन् । महिला र पुरुष दुवैलाई प्रतिस्पर्धामा ल्याएका छन् ।
विकासोन्मुख राष्ट्रका रुपमा परिचित नेपाल भने खेलकुदमा भर्खरै बामे सर्दैछ । न त खेलकुदमा धेरै खर्च छुट्याइन्छ, न त खर्च गरेअनुसार नतिजा नै आउँछन् । न उद्देश्य न कार्ययोजना । भद्रगोल ! जब कार्यक्रमको घोषणा हुन्छ, तब हतास हुन्छ । लक्ष्यको जन्म पनि त्यही हतासकै बिचमा हुन्छ । खेल हुन्छ, त्यही हतासमा । अनि जीत शून्य । दोष खेलाडीमाथि ।
पुरुष खेलाडीको अवस्था त तैबिसेक सुध्रिँदै गयो एक समयपछि महिला भने पछिको पछि । महिलालाई चुलोचौकामै सिमित राख्ने नेपाली समाजमा परिवारलाई जितेर मैदान उत्रिएको कहानी बडो मजेदार तरिकाले सुन्ने मौका पाइन्छ यहाँ । कति महिला खेलाडीको परिवारले त स्वर्णै बर्साउँदा पनि हर्ष दिँदैनन् । ‘के हुन्छ त्यो खेलेर ?’ यस्तै प्रश्नको सामना गर्नुपर्छ ।

हुन पनि हो, खेलेर के पाइन्छ ? खेलेर घाँस दाउरा गर्न आउँछ ? खाना पकाउन आउँछ ? भाँडा माझ्न आउँछ ? बच्चाबच्ची स्याहार्न आउँछ ? बाँच्नु पर्दैन ? कि त्यो सरकारले पाल्छ ? पाल्छ ? जवाफ फर्काउन अलिकति कठिन हुन सक्छ खेलाडीका लागि ।
तर विभिन्न बाधा अड्चनका बाबजुद पनि १३ औं सागले महिला खेलाडीलाई पुरुषको तुलनामा अब्बल सावित गर्यो । महिला खेलाडीकै बाहुल्यतामा यो सागमा ५१ स्वर्णको इतिहास रचियो । पुरुष भन्दा सफल देखिए महिला खेलाडी ।
५१ स्वर्णमा करिब २८ स्वर्ण महिला खेलाडीको नाममा रह्यो । पौडीबाज गौरिका सिंहले मात्रै नेपालका लागि ऐतिहासिक ४ स्वर्ण सफलता दिलाइन् ।
ऐतिहासिक बन्यो १३ औँ साग । महिलाले स्वर्ण बर्साए, रत नेपालको स्वर्ण लक्ष्य पुरा भयो । अब महिलालाई पनि खेलमा हौस्याउने कि !
यी हुन् सागमा स्वर्ण बर्साउने लेडीहरु
कुसुम खड्का
कुसुमले १३ औं साग अन्तर्गत सातदोबाटोस्थित कराते हलमा मंसिर १६ गते भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा स्वर्ण जितिन् ।
उनले बंगलादेशकी खेलाडीलाई ३–२ अंकले पराजित गरेकी थिइन् । पहिलो चरणमा उनले श्रीलंकाकी सेनारथ अराचिगेलाई ७–६ अंकले पराजित गरेकी थिइन् ।
आयशा शाक्य
मंसिर १६ गते भएको तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले भारतीय खेलाडीलाई उछिन्दै नेपालको स्वर्ण लक्ष्यमा सघाइन् । दुई सन्तानकी आमा उनले स्वर्ण जित्दा भारतकी खेलाडी रजत र श्रीलंकाकी खेलाडी कास्य पदकमा सिमित बन्न पुगे ।
जितपछि उनले आफूलाई सम्हाल्न सकेकी थिइनन् । महिलालाई चुलोचौकोमै सिमित राख्न खोज्ने नेपाली समाजमा आफ्नो श्रीमानले आफूलाई अघि बढ्न दिएको हौसला सम्झिँदै उनैको अँगालोमा रोइन् ।
१२ औं सागमा फाइनलमा पुगेर स्वर्ण गुमाएकी आयशा यो पटक क्यारोगी (फाइट) छोडेर पुम्सेमा आएकी थिइन् । सागमा पहिलो पटक समावेश भएको पुम्सेमा उनले महिला एकलतर्फ ३० वर्षमाथि र टिम गरी दुई स्पर्धामा भाग लिएकी थिइन् ।
नतिजा उनले सोचेजस्तो आएन अनि हार स्वीकार्दै झ्याल छेउमा गएर बेस्सरी रोएकी थिइन् । तर त्यो आँशु केहीबेरमा हर्षको आशुमा बदलियो । उनको स्कोर ७.९४० थियो । अरु खेलाडीहरुले उनलाई भेट्टाउन सकेनन् । स्वर्ण पक्का भयो ।
राष्ट्रिय झण्डा आफ्नो काँधमा पर्दा उनी पुनः रोइन् । त्यो आँशु हर्षको थियो । उनले भनेकी थिइन्, ‘दुई बच्चाका लागि दुई मेडल जितेको जस्तो लागिरहेको छ ।’
आयशाले ११औं सागमा पनि स्वर्ण जितेकी थिइन् । सागमा रजत पदक र एसियाली खेदकुदमा कास्य पनि उनको नाममा छ ।
निर्मला तामाङ, संगीता मगर र सरु कार्की
कराँतेको महिला तर्फको टिम कातामा नेपाली महिला टोलीले स्वर्ण हात पारे । जसमा निर्मला तामाङ, सरु कार्की र संगिता मगर थिए ।
नेपाली टिमले पाकिस्तानी टिमलाई पराजित गर्दै स्वर्ण हात पारेको हो । नेपालले २४.८८ अंक प्राप्त गरेको थियो भने पाकिस्तानी टोलीले २३.०३ अंक प्राप्त गरेको थियो ।
अनु अधिकारी
१३ औं सागमा घरेलु मैदानमा स्वर्ण जित्ने अर्की महिला खेलाडी हुन् अनु अधिकारी । ५० केजी तौल समूहको करातेमा अनुले श्रीलंकाकी प्रतिद्वन्द्वी डीलाई पराजित गर्दै स्वर्ण जोडेकी थिइन् । अनुले ७ अंक जोड्दा डी अंकविहिन थिइन् ।
सेमिफाइनलको पहिलो खेलमा श्रीलंकाकी डीले पाकिस्तानकी सविरालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् भने सेमिफाइनलको दोस्रो खेलमा अनुले बंगलादेशकी थमिद् खप्तरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिएन ।
सुनिता महर्जन
सागमा स्वर्ण जित्ने अर्की महिला खेलाडी हुन् सुनिता महर्जन । ६८ केजी तौल समूहको फाइनल खेलमा पाकिस्तानी खेलाडी कुल्सुनलाई ८–२ अंकले पराजित गर्दै सुनिताले स्वर्ण जितेकी हुन् ।
मंसिर १७ गते भएको सुनिताको खेल हेर्न उनका ६४ वर्षीय नाति महर्जन मनमैँजुबाट सातदोबाटोस्थित खेलस्थान पुगेका थिए । उनी पुग्दा सुनिताले स्वर्ण जितिसकेकी थिइन् ।
स्वर्ण जितेपछि अचानक बुवालाई आफ्नो अगाडी देख्दा सुनिता निकै भावुक बनेकी थिइन् । उनले आँखामा आँशु थाम्न सकेकी थिइनन् । बुवाको अंगालोमा बेरिएर रोएकी २६ वर्षीय सुनिताले स्वर्ण तथा सफलताको को श्रेय पनि बुवालाई नै दिइन् । जीवनभरी बुवाले आफ्ना लागि गरेको मेहनत सफल भएको र उनको सपना पुरा गर्न पाएकोमा निकै गर्व लागेको सुनिताको भनाइ थियो ।
अनुपमा मगर
कराते कुमुतेको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ अंकले पराजित गर्दै नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडी हुन् अनुपमा मगर । ६८ केजी तौल समूहको को करातेमा अनुपमाले स्वर्ण जितेकी हुन् ।
पार्वती गुरुङ
घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा पार्वती गुरुङले स्वर्ण पदक जितिन् । पार्वती गुरुङले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।
फाइनल भिडन्तमा उनले ८.२५० अंक बटुल्न सफल भइन् ।
निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला राई
१३ औं सागमा तेक्वान्दोको पोम्सेमा स्वर्ण थप्न सफल भए निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला राई । १७ देखि १७ देखि २३ वर्ष उमेर समूहको टिम पोम्सेमा उनीहरुले स्वर्ण जितेका हुन् ।
काजल श्रेष्ठ
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ग्यारोगीतर्फ महिला ४६ केजी मुनि तौल समूहमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितिन् ।
रिङमा उत्रिनुअघि आफ्नी प्रतिद्वन्द्वी खेलाडीको सामना गर्न डराइरहेकी काजलले पाकिस्तानकी सैयड सिद्रा बटुललाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी डराउनुका दुईवटा कारण थिए । पहिलो, उनको दुवै खुट्टाको जोर्नी अभ्यासको क्रममा नमज्जाले ‘फ्याक्चर’ भएको थियो । दोस्रो, पाकिस्तानी खेलाडी उनीभन्दा अग्ली थिइन् ।
तर काजलको टेक्निकल खेलका अगाडि उनको हाइटको केही लागेन । उनले समग्रमा ५०–१४ को फराकिलो अन्तरमा स्वर्ण पदक जितिन् ।
सोनी गुरुङ
पोखरामा भएको ट्रायथलन प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले स्वर्ण जितिन् । १३ औं सागमा महिलातर्फ नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी थिइन् उनी ।
ट्रायथलनमा फेवातालमा सात समय मिटर पौडी, त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड थियो । त्यसलाई उनले १ घन्टा १३ मिनेट र ४५ सेकेन्डमा पूरा गरिन् । उनले स्वर्ण जित्ने विश्वास खेल अगावै गरिएको थियो । उनले विश्वास डगमगाउन दिइनन् ।
निता गुरुङ, प्रशंसा क्षेत्री र शुशिला राई
तेक्वान्दो अन्तर्गत २३–२९ उमेर समूहको पुम्सेमा पनि स्वर्ण जित्न सफल भयो नेपाली महिला टिम । जसमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुशिला राई थिए ।
उनीहरुले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । नेपाली टोली ७.९२० स्कोर प्राप्त गरेको थियो ।
सुस्मिता तामाङ
सागमा उसुको थाउलुतर्फ महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङ नेपाललाई स्वर्ण दिलाउन सफल भइन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् ।
खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका थिए । सुस्मिताले स्वर्ण जितेपछि श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनु परेको थियो ।
सन्तोषी श्रेष्ठ
सन्तोषी श्रेष्ठ सागको इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला बनिन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जित्दा रंगशाला क्षणभरका लागि स्तब्ध बन्यो ।
आफ्नै गतिमा दौडिएकी सन्तोषीले अन्तिम समयसम्म प्रतिद्वन्द्वीलाई उछिन्ने अवसर दिइनन् । दक्षिण एसियाली एथलेटिक्समा दबदबा कायम गरेका भारत र श्रीलंकाका धावकले उनलाई निरन्तर पछ्याइरहेका थिए ।
अन्तिम ५० मिटरको दौड बाँकी रहँदा भारतीय धाविका कविता यादवले आफ्नो गति बढाएर सन्तोषीलाई उछिन्ने प्रयास गरेकी थिइन् तर सफल भइनन् । स्वर्ण नेपालकी सन्तोषीको हातमा पर्यो ।
सीनामादेन लिम्बू
नेपाली तेक्वान्दोको पोम्सेका उदयमान खेलाडी सीनामादेन लिम्बुले पनि नेपालका लागि स्वर्ण भित्र्याइन् । पोम्सेको महिला एकल १७ देखि २३ वर्ष उमेर समूहमा भारतीय प्रातिद्वन्द्वीलाई पराजित गर्दै उनले स्वर्ण जितेकी हुन् ।
निश्मा श्रेष्ठ
डाउनहिल साइक्लिङमा महिलातर्फ स्वर्ण विजेता हुन् निश्मा श्रेष्ठ । अभ्यासका क्रममा राम्रो गर्न नसकेका कारण प्रतियोगिताअघि निकै दबाबमा रहेकी निश्मा अन्तिममा विजेता बनिन् ।
एक किलोमिटरको दुरी निश्माले २ मिनेट २२ सेकेन्डमा पार गरिन्। जितपछि खुशी देखिएकी उनले भनेकी थिइन्, ‘अभ्यासमा जति गल्ती गरेको थिएँ, त्यसलाई केही हदसम्म सुधारेर जितेँ ।’ निश्माको बुबा र मामा दुवै माउन्टेन बाइकर थिए ।
संगीता बस्याल
तेक्वान्दोको गेरोगी स्पर्धामा स्वर्ण जितन सफल भइन् संगीता बस्याल । रोगीअन्तर्गत महिला ६२ केजी मुनिको प्रतिस्पर्धामा संगीताले स्वर्ण जितेकी हुन् । संगीताले भारतकी गगनजोत गिलमाथि ८ काविरुद्ध १९ अंकले ल्याउँदै स्वर्ण जितेकी हुन् ।
निमा घर्ती मगर
उसुको थाउलो नान्दौमा बंगलादेशलाई पछि पार्दै नेपालले अर्को स्वर्ण जोड्यो । जसमा नेपालका लागि खेलाडी थिइन् निमा घर्ती मगर ।
निमाले १२ औँ सागमा पनि स्वर्ण पदक जितेकी थिइन् ।
लक्ष्मी मगर
साग अन्तर्गत क्रस–कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले पनि स्वर्ण जितिन् । लक्ष्मीले १ घण्टा २० मिनेट २० सेकेन्डमा लक्ष्य पूरा गरिन्। दोस्रो भएकी उषा खनालले रजत हात पारिन् ।
लक्ष्मीले स्वर्ण जितेसँगै भारतकी खेलाडी कास्यमा सिमिति भइन् ।
जुनी राई
१३ औं सागको उसुमा नेपाललाई स्वर्ण दिलाउन सफल भइन् जुनी राई । ललितपुरस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा श्रीलंकाकी डब्लु पीएमएम मधुमलीलाई पराजित गर्दै जुनीले स्वर्ण जितेकी हुन् ।
राईले मधुमलीलाई १–० को अन्तरले पराजित गर्न सफल भएकी हुन् ।
गौरिका सिंह
१३ औं सागमा ४ स्वर्ण जितेसँगै ‘स्वर्ण गर्ल’ का रुपमा चिनिन सफल भएकी पौडिबाज गौरिका सिंह ।
उनीमार्फत् पौडीमा स्वर्णको किर्तिमान बन्यो । चौँथो स्वर्णमा उनी भावुक बनेकी गौरिका जितपछि आमाबाबुसँगै रोएकी थिइन् ।
गौरिकाले ५८.१३ सेकेन्डमा निर्धा्रित दूरी पूरा गरी चौथो स्वर्ण हात पारेकी हुन् । यसअघि गौरिकाले २ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक, ४ सय मिटर फ्रिस्टाइलमा तेस्रो व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन् । महिला ४ सय मिटर रिलेमा भने उनी कास्यमा सिमित भइन् ।
१३ औं सागबाट उनले नेपाली भाषामा समेत सुधार गरेकी छिन् । यसअघिसम्म नेपाली राम्रोसँग बोल्न नसक्ने गौरिकाले ४ स्वर्ण जितेपछि आफ्नो बलबुताले भ्याएसम्म नेपालका मिडियालाई नेपालीमै जवाफ फर्काइन् । उनलाई धेरैले बेलायती नागरिकको उपमा दिँदै आएका थिए । यसैकारण उनी कति नेपाली खेलबाट बञ्चित भएकी थिइन् । अब भने उनको नाउँमा छुट्टै रेकर्ड बनेको छ ।
संगीता धामी
भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । १३ औं साग अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता बनेसँगै उनको चर्चा चुलिएको हो ।
उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक सागमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । ५५ किलो तौल समूहतर्फ उनले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाएकी थिइन् ।
तीन वर्षअघि हेटौँडामा भएको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट उनले कुस्तीमा स्पर्धा थालेकी थिइन् ।
पुनम श्रेष्ठ
पुनम श्रेष्ठमार्फत् नेपालले जुडोमा दोस्रो पटक स्वर्ण सफलता हात पार्यो । ७८ केजी मुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।
१३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । साग जुडोमा यसअघि देविकाले ५२ केजी मुनिको तौल समूहको खेलमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् ।
मिनु गुरुङ
आफूमार्फत् नयाँ किर्तिमान बनाएकी मिनु स्वर्ण जित्दा प्रफुल्ल थिइन् । सागमा स्वर्ण जित्ने पहिलो महिला बक्सर बनेकी मिनुले स्वर्ण जितेपछि भारतीय खेलाडी रजतमै खुम्चिए ।
जितेपछि मिनुले स्वर्ण आफ्नी आमाका नाममा समर्पण गरिन् । ‘१२ औं सागमा कास्यमा सिमित भएकी थिएँ । १३ औं सागमा स्वर्ण जित्ने लक्ष्यका साथ २०१६ देखि नै तयारी गरेकी थिएँ । आज पनि मनमा डर त थियो तर सफल भएँ । एकदमै खुशी छु’, मिनुले भनेकी थिइन् ।
सन्जु चौधरी
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरी पनि ऐतिहासिक स्वर्ण जित्न सफल भइन् । महिला ५९ केजी तौल समूहमा सन्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
सन्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ स्वर्ण जित्न सफल भएकी हुन् ।
देविका खड्का
जुडोमा नेपालका लागि स्वर्ण जोड्न सफल भइन् देविका । देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । देविकाले अन्तिम खेलमा बंगलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।
उनले यसअघि श्रीलंका तथा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण नजिक पुगेकी थिइन् ।








