यदी मेरो छोराले यस्तो गरेको भए उसलाई फाँसी होस् : एक अभियुक्तका पिता

मंसिर १८, काठमाडौं । भारतको हैदरावादकी एक महिला डाक्टरको हत्यामा संलग्न चार अभियुक्त मध्ये तीन एकै गाउँका हुन् । यो गाउँ राजधानी हैदरवादबाट करिव १६० किलोमिटर टाढा छ । चौंथा अभियुक्त ती तीन अभियुक्तको वस्तिभन्दा पर छिमेकी गाउँका हुन् ।   

यद्यपी, यी परिवारको पहिचान हामी यहाँ सार्वजनिक गर्न सक्दैनौं । किनभने अभियुक्तको मामला अझै अदालतमा छ र उनीहरुलाई दोषि  ठहर गरिएको छैन ।  पछिल्ला केही दिनमा यो घटना चर्चामा आएपछि र अभियुक्तलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेपछि मिडिया सम्वन्धि व्यक्तिहरु यहाँ आईरहेका छन् ।   

जब म ती अभियुक्तलाई हिरासतमा लिइएको गाउँपुगे तब गाउँका मानिसहरुले मलाई तीनजनामध्ये एकको घरको बाटो देखाइएदिए ।   

तर स्थानीयले आफ्नै गाउँका कोही व्यक्तिले यस्तो जघन्य अपराध गरेकोमा आफूहरुलाई अहिलेसम्म पनि विश्वास नलागेको बताए । गाउँकै एक व्यक्तिले भने, ‘हामी एक मजदुर हौं । जीविकोपार्जनका लागि हामीले दैनिक विभिन्न प्रकारको मजदुरी गर्नुपर्छ ।’ 

हामी एक अभियुक्तको घर पुग्यौं । परालको छानो भएको दुई कोठे यो झुपडीको एउटा कोठामा अभियुक्तकी आमा आराम गरिरहेकी छिन् । 

आफैं उठ्न नसक्ने बतउँदै उनले आफ्ना श्रीमानलाई इशारा गर्छिन् । अभियुक्तका पिता पनि मजदुर हुन् । के भएको थियो भनेर आफूलाई थाहा नभएको उनी बताउँछन् । 

उनले हात जोड्दै भने, ‘मेरा दुई छोरा र एक छोरी छन् । भोलि यदि मेरी छोरीमाथि पनि यस्तो भयो भने म चुपचाप बस्ने छैन । त्यसकारण म चाहन्छु कि यदि मेरो छोराले साँच्चै नै मानिसहरुले भनेजस्तै गरेको हो भने उसलाई फाँसीको सजाय होस् ।’ 

उनले अन्तिम पटक छोरासँग २८ नोभेम्बर राती कामबाट घर फर्किएपछि कुराकानी गरेको बताए । 

उनले भने, ‘मेरो छोराले मलाई सबै कुरा भनेन । ऊ सुतिरहेको थियो, पुलिसले आधा रातमा आएर छोरालाई लिएर गए । त्यतिबेला पनि मलाई के भएको थियो थाहा थिएन । जब पुलिसले मलाई पुलिस स्टेशन बोलाए तब मात्रै जानकारी दिइयो । छोराका लागि वकिल राख्ने मेरो हैसियत पनि छैन । म यस्तो गर्न पनि चाहन्नँ । यदि मेरो छोराले यस्तो गरेको हो भने उसलाई बचाउनका लागि आफ्नो पैसा र ऊर्जा खर्च गर्न चाहन्नँ ।’ 

मेरो छोरालाई फसाइयोः 

उनको घरबाट अलि पर जाँदा दोस्रो अभियक्तको घर छ, जहाँ उनी आफ्नो परिवारसँग बस्थे । ढलान गरिएको यो घरमा तीन कोठा छन् । घरको अगाडि भएको खुल्ला ठाउँमा अभियुक्तकी आमा र उनकी श्रीमती बसेका छन् । 

अभियुक्तकी श्रीमतीले बताए अनुसार उनी सात महिनाकी गर्भवती छिन् । उनले भनिन्, ‘हाम्रो प्रेम विवाह थियो । म उनलाई डेढ वर्षदेखि चिन्दथेँ । आठ महिना अघि हाम्रो विवाह भएको थियो । सुरुमा उनका आमा–बुवा हाम्रो विवाहका लागि तयार थिएनन् तर पछि उहाँहरु तयार हुनुभयो ।’ 

अभियुक्तकी आमाले बीचैमा रोकेर उनको छोरा मृगौलाको रोगी भएको बताउँदै पछिल्लो दुई वर्षदेखि उपचार चलिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘मेरो छोराले यस्तो गर्नसक्छ भनेर मलाई विश्वास लागिरहेको छैन । मलाई यस्तो लाग्छ कि कसैले उसलाई रक्सी खुवाएर यो घटनामा फसाएको हो ।’ 

यद्यपि, अभियुक्तकी श्रीमतीले खबर सुन्दा आफूलाई अत्यधिक पीडा भएको बताइन् । उनले भनिन्, ‘पीडित पनि मजस्तै एक महिला थिइन् । मलाई असाध्यै दुःख लागेको छ । मेरो श्रीमानले यस्तो गरे गरेनन् भनेर यतिबेला भन्न चाहन्नँ । तर जे भयो त्यो सही थिएन । अब के हुन्छ, त्यो पनि थाहा छैन ।’ 

यसै गाउँमा तेस्रो अभियुक्तको घर पनि छ तर जब हामी त्यहाँ पुग्यौं  घरमा कोही पनि थिएनन् । 

आमाबुवाले भने, ‘हामीलाई घटनाबारे जानकारी छैन’ 

यी तीनै अभियुक्तको गाउँभन्दा केही किलोमिटर टाढा चौथो अभियुक्तको गाउँ छ । हामी उनीहरुको घरमा गयौं । 

एक कोठे उनीहरुको घरबाहिर अभियुक्तका आमा–बुवा बसेका थिए । यी दुबै निकै कमजोर देखिएका थिए । न त उनको बुवा न नै आमा बोल्नका लागि तयार थिए । उनीहरुले बारम्बार यही दोहोराए कि उनीहरुलाई आफ्नो छोराको अपराधबारे केही पनि जानकारी छैन । 

अभियुक्तकी आमाले भनिन्, ‘ऊ घरमा धेरैजसो बस्दै बस्दैन । ऊ बाहिरबाट आउँथ्यो, नुहाउँथ्यो र त्यसपछि निस्किहाल्थ्यो । हामी उसलाई खासै धेरै पनि सोध्दैनथ्यौं किनभने घरमा कमाउने ऊ एक्लो व्यक्ति थियो ।’ 

घर बाहिर जम्मा भएका मानिसहरुले उनका आमाबुवालाई छोराबारे खासै जानकारी नभएको बताए । 

अभियुक्तका पिताका अनुसार उनको छोरा २८ तारिख बेलुका घर आएका थिए । उनी भन्छन्, ‘उसले चलाएको ट्रक दुर्घटनाग्रस्त भएको हामीलाई बतायो । आफ्नो ट्रकले एक स्कुटर चालक महिलालाई ठक्कर दिएको र महिलाको मृत्यु भएको पनि बतायो । मैले उसलाई जिम्मेवारपूर्वक गाडी चलाउ भन्दै गाली पनि गरेँ । उसले पहिलो पटक हामीसँग आफ्नो बारे कुरा गरेको थियो । त्यही राती पुलिसले उसलाई पक्राउ गर्न आउँदा मात्र उसले के गरेको छ भनेर थाहा भयो ।’ 

छिमेकीले आफ्नो लागि उक्त घटना कुनै झट्काभन्दा कम नभएको बताए । एक छिमेकीले भने, ‘मलाई यो कुराले आश्चर्यमा पारेन किनभने ऊ असाध्यै रक्सी पिउँथ्यो । मैले उसलाई राम्रोसँग बस्न सल्लाह दिने गर्दथे । मैले उसलाई १० वर्षदेखि चिन्दै आएको छु । तर ऊ कहिले पनि घरमा भने बस्दैनथ्यो ।’ 

अभियुक्तलाई अहिले १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ त्यसपछि उनीहरुलाई जेल पठाइनेछ । प्रहरीले ती चार अभियुक्तलाई अपहरण, लुटपाट तथा सामुहिक बलात्कारको आरोपमा हिरासतमा लिएको जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *