१३ औं सागको भव्यताले देखाएको सम्भावना र चुनौति

चार महिनाअघि पटकपटक मिति सर्दै गरेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मंसिर १५ गते हुन सक्छ र ? भन्ने अन्यौलता थियो । आयोजक राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव थिएनन् ।   

२०७२ सालको भूकम्पले जर्जर बनेको मुलुककै एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला पुनर्निर्माणको काम कछुवाको तालमा भइरहेको थियो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय स्वीमिङ स्थल, पोखरा रंगशाला, जनकपुरमा कुस्ती स्थलको अवस्था दयनिय थियो । 

नेपाली खेलाडीको तयारी पनि अन्यौलता बिच नै भइरहेको थियो । प्रायः खेलका खेलाडीहरु आफ्नै क्षमता र बलबुताले प्रशिक्षण गर्दै थिए । खेलाडीलाई उपयुक्त प्रशिक्षण स्थल थिए, दैनिक भत्ता र खेलकुदका सामग्री समेत नहुँदा उनीहरु पनि अन्यौलमा हुनु स्वभाविक थियो । 

football gold medalist team nepal.JPG

मुख्य कुरा खेल स्थलकै अभावमा प्रतियोगिता हुन सक्छ र ? भन्ने प्रश्न उठिरहेको थियो । 

तर, अन्तिम चार महिना सरकारको काम यसरी अगाडी बढ्यो कि मंसिर १५ को मितिमै १३ औं सागको उद्घाटन साग इतिहासकै भव्य भइदियो । समापनसम्म पुग्दा यसको भव्यताले नेपालले पनि अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने सन्देश प्रवाह भइसकेको छ । 

चार महिनामा सरकारले सबैभन्दा पहिला राखेपमा सदस्य सचिव नियुक्त गरिदियो । शैक्षिक पृष्ठभूमिका रमेश सिलवाललाई सरकारले साग तोकेकै मितिमा सम्पन्न गर्न, गराउनकै लागि भनेर सदस्य सचिव नियुक्ति गरेको थियो । यसअघि एक पटक नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष समेत भइसकेका र नेपाली खेल क्षेत्रलाई सुक्ष्म रुपले अध्ययन गर्दै आएका सिलवालले पनि सागको चुनौतिलाई स्वीकारेरै अघि बढे ।   

रमेश सिलवालले सरकारले सागको लागि बजेट विनियोजन नगर्दै आफ्नै जोखिममा खेलाडीहलाई तयारीका लागि दैनिक भत्ताको व्यवस्था गरिदिए । रापेखसँग भएका खेलकुद सामग्री दिए । साथै, सरकारले बजेट उपलब्ध गराउने निर्णय गरे लगत्तै पदकका सम्भावना भएका खेलाडीलाई बन्द प्रशिक्षण गराउने तथा कतिपयलाई विदेशमा तालिमका लागि पठाउने, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी गराउने, विदेशी प्रशिक्षक ल्याउने सम्मका कामहरु धमाधम भए ।   

यता दशरथ रंगशाला र पोखरा रंगशाला निर्माणको काम पनि धमाधम हुन थाल्यो । असार अन्तिम साता नियुक्ति पाएका सिलवालले दुई महिनाभित्रमा यसरी योजना बनाए कि खेलकुद क्षेत्रमा अब साग तोकिएकै समय अर्थात् मंसिर १५ मै हुन्छ भन्ने सम्भावना देखियो । यस कार्यमा सिलवाललाई खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पनि उत्तिकै साथ दिए ।   

मन्त्रालयले समयै बजेट व्यवस्थापन गरिदियो । दशरथ रंगशालाभित्र रंगशाला पुनर्निर्माणका कामहरु धमाधम भए । असोज लागेसँगै दशैं तिहार जस्ता ठूला चाडवाडले सागको तयारीमा सुस्तता छायो । प्रतियोगिता आउन एक महिना मात्र बाँकी रहँदा समेत कतिपयले साग मंसिर १५ मै हुन्छ ? भन्नेमा आशंका गरिरहे । कतिले अनेकन टिकाटिप्पणी गर्न पनि भ्याए । तर, सिलवाल सँगै खेलकुदमन्त्रीले योजनाबद्ध रुपमा काम गरिरहेकोले उनीहरु यस पटक देशलाई मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै प्रतियोगिता भनेको समयमै भव्य रुपमा सम्पन्न हुनेमा ढुक्क थिए । त्यसैले उनीहरुले बाहिर निस्किएका हल्लाका पछाडी नलागी भित्रभित्रै काम चालू राखे । 

मंसिर पहिलो साता जसै राखेपले प्रतियोगिताको पहिलो पत्रकार सम्मेलन गर्यो । त्यसपछि मात्रै १३ औं साग भनेको समयमा हुन्छ भन्नेमा विश्वस्त हुन सकियो । 

सिलवालको नियुक्तिलाई लिएर टिकाटिप्पणी गर्नेहरुले समेत आलोचना गर्ने ठाउँ पाउन सकेनन् । पत्रकार सम्मेलनमा सिलवालले सागमा नेपालको तयारी ऐतिहासिक हुने, नेपालले कम्तिमा ५० स्वर्ण ल्याउने ठोकूवा गर्दा खिल्ली उडाउनेहरु त्यतिबेला चूप भए जतिबेला मंसिर २४ गते पुरुष फुटबलको फाइनलमा भुटानलाई पराजित गर्दा नेपालको स्वर्ण संख्या ५१ पुग्यो । 

नेपालले आशा गरेका खेलहरु कराँते, तेक्वान्दो, उसु, एथलेटिक्स, भारोत्तोलन, गल्फ, साइक्लिङ, पौडीमा आशाअनुरुपका खेलाडीले राम्रो प्रदर्शन गर्दै स्वर्ण हासिल गरे केही खेलाडीले आश्चर्यजनक रुपमा आफ्नो प्रदर्शन देखाएर नेपाललको ५० स्वर्णको लक्ष्यलाई सहयोग पुर्याए । 

सरकारले सागलाई भव्यतााका साथ समापन गरी पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको शान बढेको छ । 

सागको समग्र मुल्यांकन गर्दै गर्दा कमीकमजोरी पक्कै नभएका होइनन् । खासगरी सागको व्यवस्थापन, संरचना निर्माण र खेलाडीको तयारीका विषयमा आलोचना भए । खेलाडीलाई आवश्यकता अनुसार पोशाक, खेलकुद सामग्री नदिइएको, प्रशिक्षक र खेलाडीलाई दिइने भत्तामा भेदभाव गरेको लगायतका कुरा बाहिर आए । यी कुरालाई सदस्य सचिव सिलवालले जवाफ दिनुपर्ने अवस्था आयो । 

तर, यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने चार महिनाको तयारीमा दक्षिण एशियाली खेलकुदको महाकुम्भ मेलालाई भव्यताका साथ सम्पन्न गर्नु चानचुने कुरा थिएन । 

हामीसँग भएका खेलकुदका संरचनालाई व्यवस्थापन गरेर दक्षिण एशियाकै ठूलो प्रतियोगिता गर्नु भनेको गौरवकै कुरा हो । नेपालले प्रतियोगिता व्यवस्थापनसँगै नेपालको खेलकुदको तयारीमा समेत उत्कृष्ट काम गरेको मान्नुपर्छ । 

आठौं साग प्रतियोगितापछि नेपालले पहिलो पटक यति ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर पाएकोमा त्यसलाई उत्कृष्टता प्रदान गरेको छ । 

१३ औं साग समापन भइसक्दा अब हाम्रा सामु केहि सम्भावनासँगै चुनौती थपिएका छन् । नेपाली खेलाडीले १३ औं सागमा जसरी उत्कृष्टता प्रदर्शन गरे, त्यसलाई जोगाउन अब पुनः यस्ता प्रतियोगिता नियमित हुनुपर्छ । यसका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित हुनुपर्छ । खेलाडीलाई राज्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता गराउन विशेष भूमिका निर्वाह गर्नुपर्छ । साथै, खेलकुदमा आफ्नो यूवा उमेर व्यतित गर्ने खेलाडीको वृत्ति विकासमा मात्र नभइ उनीहरुको भविष्य सुरक्षित गराउने सवालमा पनि राज्यले ध्यान दिनुपर्छ ।   

हामी सबैलाई थाहा छ, भोको पेटले समाज र राष्ट्रको सेवा गर्न सक्दैन । कुनैपनि उत्कृष्ट खेलाडीले आफ्नो उत्कृष्टता त्यतिबेला प्रदर्शन गर्न सक्छ, जतिबेला ऊसँग उसको र परिवारको भविष्य सुरक्षित हुन्छ । नेपाली खेलकुदको अवस्था हेर्दा एकाध दुई खेल र खेलाडी बाहेक अन्यले खेल क्षेत्रमै लागेर आफ्नो र परिवारको जीवन धान्न सक्ने अवस्था छैन । यदी त्यस्तो हुन्थ्यो भने, पदकको आश गरिएकी तुलसा खत्री सागको मुखमा रातारात कतार भासिने थिइनन् । 

१३ औं सागले नेपाली खेलाडी र खेलकुदलाई नयाँ गोरेटो प्रदान गरेको छ । नेपाली खेलाडीहरु पनि अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगितामा प्रतिष्पर्धा गर्न सक्छन् भन्ने चरितार्थ गरेको छ । खेलाडीमा देखिएको खेलप्रतिको लगाव र समपर्णलाई अबका दिनमा राज्यले उचित सम्बोधन गर्न सकेन भने पुनः तुलसा खत्रीको जस्तो अवस्था दोहोरिन सक्छ । यस विषयमा राज्यले गम्भिर भएर सोच्नु जरुरी छ । 

अन्तमा, सागमा पदक जित्ने खेलाडीलाई र सागलाई भव्य सहयोग पुर्याउने सबैलाई हार्दिक बधाई  ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *