बाबा–आमाको पर्खाइमा छिन् १४ महिनाकी छोरी

पुस ११, काठमाडौं । भारतको उत्तर प्रदेशमा नागरिकता विधेयक विरुद्धको प्रदर्शनका क्रममा भएको हिंसाको मामिलामा अहिलेसम्म एक हजारभन्दा बढी पक्राउ परिसकेका छन् ।
पक्राउ पर्नेहरुमा वाराणसीका रवि शेखर र उनकी श्रीमती एकता पनि छिन् । दुवैलाई पक्राउ गरी जेल पठाइएको छ तर उनीहरुको १४ महिनाकी छोरी बाबा–आमा चकलेट लिएर आउने पर्खाइमा छिन् ।
नागरिकता विधेयकविरुद्ध १९ डिसेम्बरमा भएको प्रदर्शनमा वाराणसीमा पनि हिंसा भएको थियो । हिंसापश्चात् प्रहरीको कथित ज्यादती र प्रदर्शनका क्रममा केही यस्ता व्यक्तिहरु पनि पक्राउ परे जो शान्तिपूर्ण प्रदर्शनमा सहभागीता जनाउन गएका थिए । जसलाई प्रदर्शन हिंस्रक होला भन्ने भेउ समेत लिन सकेका थिएनन् ।

रवि शेखर र उनकी पत्नी एकता वातावरणसम्बन्धी मुद्दा उठाउँछन् । साथै वाराणसीको सामाजिक गतिविधिमा पनि सक्रिय छन् ।
वाराणसीमा महमूरगञ्जका रवि र एकता आफ्नी १४ महिने छोरी उनकी हजुरआमा र ठुलीआमालाई छोडेर प्रदर्शनमा सहभागी हुन गएका थिए ।
‘मेरो छोराले कुनै अपराध गरेको छैन । थाहा छैन प्रहरीले निक पक्राउ गरेको । दुवै शान्तिपूर्वक प्रदर्शन गरिरहेका थिए’, रविकी आमा भन्छिन्– ‘यस्ता कार्यक्रममा प्रायः दुवैजना जान्थे । अब यो दुधाली बच्ची आफ्नी आमाविना कसरी रहन सक्छे ?’
रविशेखर र एकताको १९ डिसेम्बरमा वाराणसीको बेनियाबाग इलाकामा प्रदर्शनका क्रममा धारा १४४ को उल्लंघनको आरोपमा पक्राउ परेका थिए ।
रविका दाईले भने, ‘उनीहरु ६०–७० मानिसको समुहका साथ उता मार्च गरिरहेका थिए । प्रहरीले जब रोक्यो तब सबैले गिरफ्तारी दिए । त्यस समय शान्ति भंगमा लगेर फिर्ता पठाइनेछ भनिएको थियो तर दुई दिन त्यहीँ राखेर फेरि २१ डिसेम्बरमा कयौँ धारामा एफआईआर गरी जेल पठाइयो । धारा पनि गम्भीर छैनन् तैपनि जमानत मिलेको छैन ।’
रवि र एकता समेत गरी ५६ प्रदर्शनकारी र केही अज्ञात मानिसहरुका विरुद्ध ३३२, ३५३, ३४१ जस्ता धाराहरुमा मुद्दा दर्ता गरिएको छ ।
बच्चीलाई लाखौँ पटक सम्झाइन्छ तर उनी आमा–बाबा सोधिरहन्छिन् । रविशेखरकी आमा शीला आँखा आँशुले टिल्पिलाएका छन् । तिवारी भन्छिन्– ‘केही खान पनि मान्दिन । आमा बुवाको तस्विर हेरेर बोलाइरहन्छे । हामी झुटो आश्वासन दिइरहेका छौँ कि तिम्रो आमा बुवा अफिस गएका छन्, एकैछिनमा आइहाल्छन् ।’
उता वारणसी प्रहरी भने पक्राउ परेका सबैविरुद्ध हिंसा भड्काएको पर्याप्त प्रमाण छ । वाराणसीका जिल्ला अधिकारी कौशलराज शर्मा भन्छन्– ‘पक्राउ परेका सबैविरुद्ध पर्याप्त आधारहरु छन् । गैरकानूनी तरिकाबाट मानिसहरु जम्मा भएका कारण शहरमा तनाव बढेको थियो । विभिन्न किसिमका भड्काउने खालका नारा लेखिएको पोस्टर समेत फेला परेको छ ।’
नागरिकता कानुनविरुद्ध नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा पनि मानिसहरुले ठुलो प्रदर्शन गरेका थिए । बेनियाबाग इलाकामा हजारौँ संख्यामा मानिसहरु सडकमा उत्रिएपछि अचानक स्थिति नियन्त्रणबाहिर गयो । प्रहरीले लाठीचार्ज गर्नुपर्यो ।
प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुलाई प्रहरीले खेदेको थियो । यद्यपी रविका परिवारका अनुसार उनीहरुलाई हंगामा हुनुभन्दा पहिले नै हिरासतमा लिइएको थियो ।
भारतमा नागरिकता विधेयकविरुछ अझै पनि प्रदर्शन जारी छ । मोदी सरकारले नागरिकता सम्बन्धी विधेयकमा मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेपछि यसको विरोध भएको हो ।
संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो।
यसअघिको कानुनी व्याख्यामा गैरकानुनी आप्रवासीहरू भनेका वैध राहदानी वा यात्रासम्बन्धी कागजपत्र नभईकनै भारत प्रवेश गर्ने वा अनुमति दिइएकोभन्दा बढी समय भारतमा बिताउने मानिसहरू भन्ने थियो।
गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता पठाउने वा जेल हाल्न सकिने अहिलेको व्यवस्था छ।
भारतको नागरिकता लिनको लागि त्यहाँ कम्तीमा ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने व्यवस्थालाई पनि अब फेरिनेछ।
अब हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायका लागि उनीहरू पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा उक्त कानुनअन्तर्गत विशेष व्यवस्था हुनेछ।
छ वर्ष मात्र भारतमा बसेको वा काम गरेको भरमा उनीहरूले अङ्गीकृत नागरिकता पाउन सक्नेछन्।








