सागका विजेता खेलाडीहरुलाई आज उपत्यका परिक्रमा गराईँदै, कहाँ-कहाँ हुन्छ सडक जाम ?

मंसिर २७, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग)मा पदक जित्ने खेलाडी र प्रशिक्षकहरुलाई आज काठमाडौँ उपत्यका परिक्रमा गराइने भएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद विकास परिषदले जनाएको छ ।
आज शुक्रबार बिहान ११ बजेदेखि राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट नगर परिक्रमा आरम्भ गरि न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीम्म लगिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले बताए ।
परिषद्का अनुसार, त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राष्ट्रिय खेलकुद पपरिषरको प्रांगणमा पुगेर खेलाडीहरुलाई नागरिक अभिनन्दन गरिने छ । खेलाडीको सम्मानमा आयोजित उक्त नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन राखेपले सबैमा आग्रह समेत गरेको छ ।

प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै सागमा अहिलेसम्मकै धेरै पदक जितेर रेकर्ड कायम गरेको छ । खेलाडीको परिक्रमाका क्रममा सवारी आवागमन सहज पार्न सडकमा राखिएका डिभाइर हटाइसकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सडकको साइडबाट खेलाडीलाई नगर परिक्रमा गराउने कार्यक्रम राखिएकाले सवारी आवागमनमा कुनै असर नपेर्ने ट्राफिक प्रहरीको दाबी छ ।








