ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन् स्वर्ण

काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबारदेखि ट्रायथलन सुरु भएको छ । पहिलो दिन पुरुष र महिला तर्फ स्प्रिन्ट विधामा दुई स्वर्णका लागि खेल भयो । नेपाल र भारतले स्वर्ण जितेका छन् । सोमबारको खेलमा भारतले दुई रजत र एक कास्य तथा नेपालले थप एक कास्य पदक प्राप्त गर्यो । 

महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् । पुरुष तर्फ भारतका आदर्श एम.एन. सिनामोलले स्वर्ण पदक जितेका छन् । सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेकी थिईन् । भारतका आदर्शले १ घण्टा २ मिनेट ३१ सेकेण्डमा दुरी पार गरेका हुन् । 

महिलातर्फ रजत र कास्य पदक दुवै भारतले हात पारेको छ । निर्धारित दुरी १ घण्टा १४ मिनेटमा पार गर्दैसारोजिनी देवी थाउदमले रजत र १ घण्टा १४ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै प्रगन्या मोहनले कास्य जित्न सफल भएकी हुन् । 

पुरुषतर्फकै निर्धारित दुरी १ घण्टा २ मिनेट ५९ सेकेण्डमा पार गर्दै विश्वरजित साईखोमले भारतलाई रजत पदक हासिल गर्न सफल भए । नेपालका लागि बसन्त थारुले १ घण्टा ३ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै कास्य प्राप्त गरेका छन् । 

नेपालका लागि ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवालले स्वर्ण पदक जितेकोमा खुशी मिलेपनि दुरी पार गर्ने समयमा अझै राम्रो नतिजा निकाल्न नसकेको बताउँछन् । उनी भन्छन्– ‘भारत हाम्रो मुख्य प्रतिद्वन्द्वी रहेको छ । हामीेले महिलातर्फ २ स्वर्ण र मिक्स रिलेमा १ स्वर्ण हामीले प्राप्त गर्ने गरी प्रशिक्षण गराएका छौं । पुरुषमा केही कमजोर देखिएपनि दुआथलनमा स्वर्णको आशा गरेका छौं । पुरुषतर्फ रजत जित्नेमा हामी ढुक्क छौं ।’ 

सोमबार १३ औं साग अन्तरगत ट्रायथलन विधामा पुरुष र महिलाको दुई खेल भएको थियो । जसमा दुवै तर्फ ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको थियो । 

३ दिनसम्म चल्ने ट्रायथलन पुरुष र महिला दुवै विधामा हुने प्रतियोगितामा अन्र्तगत नेपाल, भारत र श्रीलंका गरी तीन देशका २६ खेलाडीको सहभागिता रहेको छ । मंगलबार पुरुष र महिलातर्फको स्प्रिन्ट विधाको दुआथलन र बुधबार मिक्स रिले ट्रायथलन हुने भएको छ । दुआथलनका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ । त्यसैगरी, मिक्स रिले ट्रायथलनका लागि ३ सय मिटर पौडी, ६ किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ । 

दोश्रो पटक सहभागी बनेको नेपालले यस अघिको १२ औं सागमा मिक्स टिम रिले तर्फ १ रजत र महिला स्प्रिन्ट विधामा १ कास्य प्राप्त गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *