कथा : पिकासो केटी

त्यो दिन पनि सोनियाको हातमा एउटा म्यागजिन थियो र एकाग्र पढीरहेकी थिई । प्रबलले पानाको हाइलाइट झट्ट पढ्यो र सोच्यो- यो केटी जहिले पनि यस्तैयस्तै पढिरहेकी हुन्छे । 

प्रबलकी नयाँ साथी सत्यकथाकी अम्मली थिई । ती सत्यकथाहरू ज्यादाजसो यौनअपराध वा राजा-महाराजाबारे हुन्थे । प्रबललाई सोनियाको लत अरू केटीहरूको भन्दा फरक पक्कै लागेको थियो तर कहिल्यै व्यक्त गरेन । किनकि सोनियाप्रति ऊ यसरी लिप्त थियो कि ऊ कसैगरी नभड्कियोस्, चित्त नदुखोस्, विवाद नउल्झोस् भनेर अत्यधिक सावधानी अपनाउँथ्यो । 

सोनियाले आफ्नो रूप र जिउको देखभाल खास स्तरमा गर्थी । त्यो उसको सोख थियो । त्यसभन्दा अझ महत्त्वपूर्ण त्यो उसको पेशासँग जोडिएको कुरा थियो । उसले एउटा विज्ञापन कम्पनीमा केही समय काम गरेकी थिई र आफू मोडल भनेर चिनिन रूचाउँथी । तर, कुनै चर्चित भने होइन । नयाँ पुस्ताकी चेली । उसका गफमा मोडलिङ र खान्दानियाँ छनकमात्र होइन, महँगा कार, विदेशमा छुट्टी र उच्च पदासीन व्यक्तित्वहरू जोडिएर आउँथे । फुत्तफुत्त आउने ती देशदेशावरका सन्दर्भहरू उसले परेर जानेको हो कि पढेर– छुट्याउन गाह्रो हुन्थ्यो । ऊ शाही कथाहरू मात्र पढ्दैनथी, शाही रगतको कुरा शाही लवजमा गर्थी । भाषा र लवजले मान्छेको परिचय दिन्छ भन्ने मान्यतालाई मान्ने हो भने लाग्थ्यो– सोनियाको कडी राजघरानासँग जोडिएको छ, त्यो नभए खान्दानियाँ घरानाकी पक्कै हो । तर, कारणवश ऊ प्रबलकी रखौटी बनेकी थिई । 

No photo description available.

प्रबल नियमित रूपमा बेलुकीपख सोनियाकोमा आउँथ्यो । शनिबारबाहेक । फाट्टफुट्ट अरू एक-दुई दिन नबिराउने होइन । फोन कहिल्यै गर्ने होइन । गरिहाल्नु परे आफ्नो मोबाइलबाट गर्दैनथ्यो । सोनियालाई यो कुराको राम्ररी हेक्का थियो । आउँदा प्राय: हातमा केही सीडी वा डीभीडी ल्याउँथ्यो । ऊ आफूचाहिँ डीभीडी हेरेर भुल्दैनथ्यो । अपार्टमन्टको पछाडिपट्टि एउटा सानो बरन्डा थियो र त्यसपछाडि बेलौतीको एउटा बोट । कहिलेकाँही उसलाई भुल्न मन लाग्दा त्यही बेलौतीको बोट हेर्दै भुल्थ्यो, मिस्टर जोनी वाकरसँग गफ गर्दै । संगीत उसलाई मन पर्थ्यो तर यही बज्नुपर्छ भन्ने थिएन । त्यहाँबाट निस्कने बेला भोलिपल्ट केही ल्याइदिनुपर्छ कि भनेर सोनियासँग सोध्नचाहिँ बिर्सिंदैनथ्यो । सीडी र डीभीडी त नमागे पनि आइहाल्ने भयो, सत्य र तथ्यकथाले भरिएका म्यागजिन चाहिँ सोनियाले किटेरै मगाउँथी । त्यो पनि घरदेश, मित्रदेश र पातालदेश सबैतिरका । 

प्रबलका आँखा फेरि त्यही कथामा पुग्यो । घटनाको विस्तृत विवरणको एउटा सानो पाटो पढेर उसले कथा बुझ्ने कुरै थिएन । सोनिया कति कथा पढ्थी होली ! त्यसबाट केही कथा छाँटेर प्रबललाई सुनाउँथी । कथा सामान्य नै किन नहोस्– त्यसलाई सनसनी बनाएर भन्ने खुबी उसमा थियो । एक-दुई रहस्य लुकाएर ऊ अन्तमा चट्ट खोल्थी र ट्वाक्क टुंग्याउँथी । ठ्याक्कै प्रबलकी आमाले जस्तै । उसकी आमा एकादेशका कथाहरूको खानी थिई । प्रबलले जान्ने उमेरदेखि नै सुत्नुअघि कथा सुन्नुपर्ने उसको लत बसेको थियो । तर, १२ वर्षको हुँदा उसले मातृवात्सल्य मात्र गुमाएन, कथाश्रवणबाट पनि टुहुरो भयो । 

आमाका कथाझैं सोनियाका कथा प्रबल सुधो छात्रझैं सुन्थ्यो र कहिलेकाँही एक-दुई छड्के प्रश्न सोध्थ्यो । प्रबललाई कस्ता कथा मनपर्छ उसले राम्ररी बुझेकी थिई र त्यसैअनुसार कथा मोडिदिन्थी पनि । उसले जे जसरी भने पनि, जता लगे पनि कथा रमाइलै लाग्थ्यो । कहिलेकाँही प्रबलको आईक्यू टेस्ट गर्न ऊ प्रश्न सोधिदिन्थी भने कहिले कल्पनाका लागि केही खाली ठाउँ राखिदिन्थी र उसलाई त्यो रिक्त स्थानमा दिमागी कसरत गर्न उत्प्रेरित गर्थी । प्रबल सोनियाका कथाहरू पत्याउँथ्यो । नपत्याउने कुनै कारण थिएन । प्रश्न सोधे उत्तर तुरुन्त हाजिर भैहाल्थ्यो । 

एउटा कथामा धरहराबाट हाम फाल्न लगाउने बच्चा राजा थियो । अर्काकी श्रीमतीसँग पागल भएको सनकी राजा थियो । राम्री केटी देखे बलात्कार गर्ने कामुक राजा थियो । सोनियाले एक्कासि अनौठो प्रश्न सोधी, “तिमी बलात्कार गर्न सक्छौ ?” 

प्रबल एकाएक गम्भीर भयो । प्रबलको सोचाइमा बलात्कार उसको सीमाबाहिरको नीचता थियो । ऊ महिलालाई सम्मान गर्थ्यो । ठाउँ मिल्दा त्यस विषयमा लामै भाषण दिन सक्थ्यो । नीच नै बन्नु परे पनि उपयोगसम्म गर्न सक्थ्यो, धोका दिन सक्थ्यो तर त्योभन्दा ज्यादा नीच हुन सक्दैनथ्यो । उसले नकारमा टाउको हल्लायो । 

यो कुनै सन्दर्भको पटाक्षेप हो ? वा कहानीको शुरूवाती प्रश्न ? वा कुनै प्रकारको जाँच ? प्रबलले पटक्कै भेउ पाउन सकेन । बाल्कोनीबाट फर्केर उसले टेबलको बोतलको पानी ठाडै घटघटी पियो र हडबडमा बिर्को बन्द गर्‍यो । हतारमा जोडले बिर्को बन्द गर्दा च्यापिएको उसको हात काटियो र रगत आयो । सोनियाले सावधानीपूर्वक प्रबलको हात समाती र बाहुला माथि सारिदिई । औंलाबाट दुई थोपा रगत चुहियो । सोनियाले सलको आँचलले रगत पुछी र घाउमा चाटी । उसको आङ जिरिङ्ग भयो । सोनियाले एकपटक रगत चुस्ने झाँक्रीले मतिभ्रष्ट राजाको घाउ चाटेको कथा भनेकी थिई । 

“राजा, कति दुःख्यो होला ?” सासैसासमा सोनियाले भनी । 

कुन राजा ? मनको राजा कि सनकी राजा ? ऊ एकछिन झुक्कियो । 

तर, सोनियाको कन्याइ, सुम्सुम्याइ र रिझाइमा त्यो पीडा उसले बिर्सिहाल्यो । 

“नआत्तिऊ, धेरै दुःख्या छैन,” उसले साउतीमा भन्यो । 

“पूर्वजन्ममा म तपाईंकी,” उसले रोकिएर सोधी, “को थिएँ हुँली ?” 

“को ?” उसले छक्क पर्दै सोध्यो । 

“शायद सुसारे थिएँ कि !” 

“ह्या !” 

“किन ?” 

“त्यस्तो कुरामा पनि विश्वास गर्ने ?” प्रबलले सोध्यो । 

“म सधैं एउटै खालको सपना देख्छु र ती सपना बिर्सिन्न,” उसले भनी, “ती सपनाहरूलाई मैले दिमागको कुनै एक फाइलमा राखेकी छु र त्यो फाइललाई ‘पूर्वजन्म’ भनेर नाम दिएकी छु ।” 

“कस्तो सपना ?” 

“त्यसबेला म नर्तकी थिएँ, साह्रै राम्रो नाच्थेँ । सिंहदरबारमा श्री ३ महाराजको दिलखुश पार्थेँ । हो, त्यही सपना दोहोरिन्छ,” उसले भनी । 

“सपना त सपनै हो नि !” उसले बालसुलभ तर्कमा भन्यो । 

“तर यो त्यस्तो चानेचुने होइन,” उसले भनी, “एउटै कुरा धेरैपटक देखेपछि वाक्क लाग्छ नि ! तर, मलाई यो सपना त्यस्तो हुन्न । भुक्तभोगी वास्तविकता जस्तो लाग्छ र आनन्द लाग्छ !” उसले यसरी भनी मानौं कि त्यो अकाट्य सत्य हो र त्यसमा शंका गर्नु बेकार छ । 

“कस्तो आनन्द ?” 

“जस्तो कि बाल्यकालको भिडियो देख्दा हुन्छ । अथवा भनुँ केटाकेटीको फोटो देख्दा हुन्छ ।” 

“अनि ती श्री ३ महाराज को थिए ?” 

“चन्द्रशमशेर,” उसले भनी, “सिंहदरबारमा श्री ३ चन्द्रशमशेरका सयौं कोठीहरू थिए । उसले रानीहरूलाई ती कोठीमा राख्थ्यो ।” 

प्रबलले चुरो कुरो बुझेको होइन तर ‘चन्द्रशमशेरको कोठी’ले उसको ध्यान खिच्यो र रसिलो मानेर सुनिरह्यो, “आम्मै, त्यति धेरै रानीहरू ?” 

“तीमध्ये एउटी उसकी खास महारानी थिई, जसलाई बडामहारानी भनिथ्यो । बाँकी रानीहरू सिंहदरबारको महलबाहिर चिनिँदैनथे । सिंहदरबारका धुपौरेहरू सुसारे भन्थे । तर, चन्द्रशमशेर भने सबैलाई रानी भन्थे- राम्री रानी, मिश्री रानी, मिठु रानी, फुच्ची रानी, कान्छी रानी आदि । कान्छीमा पनि उसका ठूली कान्छी, सानी कान्छी थिए । तीमध्ये केही चुनिन्दा रानीले हप्तैपिच्छे चन्द्रशमशेरको माया पाउँथे । अरूको पालो आउँदा महिना बित्थ्यो,” सोनियाले फरर्र भनी । 

प्रबल अहिलेको सिंहदरबारमा धेरै पटक गएको थियो । कुन ठाउँ कहाँ छ र कुन अफिस कता छ, राम्ररी चिन्थ्यो । तर, सय वर्ष पुरानो सिंहदरबारबारे ऊ अपरिचित थियो । तिनै कोठीहरू होलान् त अहिले कालोकोटधारी मान्छेहरू बैठक गर्ने  र गणतान्त्रिक राष्ट्र हाँक्ने ? 

“बडामहारानी भनेको चाहिँ उसको सबैभन्दा मनपर्ने रानी ?” उसले सोध्यो । 

“होइन,” उसले भनी, “पटरानी अर्थात् लोकले जानेको रानी । श्री ३ को मन रम्ने रातकी रानी अर्कै हुन्थी, जो नाच्न जान्दथी । उनी उसैसँग ज्यादा समय बिताउँथे ।” 

“बूढाहरू मिश्री र मिठु भन्दै रानीहरू जम्मा गर्न खली रै’छन्,” उसले भन्यो र आँखा झिम्क्याएर विराम लियो । 

प्रबल र सोनियाको पहिलो भेट एउटा व्यापारिक मेलामा भएको थियो । ठ्याक्कै भन्दा मेलामा जाँदै गर्दा बाटोमा भएको थियो । प्रबलले रूझिरहेकी सोनियालाई छाता ओढाउन खोजेको थियो र उसले भनेकी थिई, “पानी पर्दा म कहिल्यै छाता ओढ्दिनँ ।” 

पानीमा उसको दयनीय हालत देखेर हो वा उसको बिरालो-हिँडाइ देखेर हो, वा वर्षाले खुलेका उसका वक्रहरूले खिचेर– प्रबल भने झन् सहयोगी बनेको थियो । त्यसपछि भेट बाक्लिँदै गयो र प्रबलले सोनियालाई रानी बनायो । तर, उसका परिवारजनलाई केही थाहा थिएन । 

० ० ० 

फिल्मी, टिभी र विज्ञापन एजेन्सीवालाहरूसँग बसाउठी थियो प्रबलको । त्यही नाताले ऊ आफूलाई कलाप्रेमी ठान्थ्यो र सोनियासँग बारम्बार भन्थ्यो, “अरू पेशाधर्मीभन्दा कलाप्रेमी ज्यादा उदारवादी हुन्छन् ।” 

घरजग्गा भाडा र सुक्रीबिक्री उसको विशेषज्ञता थियो । सहरमा उसका बाबुका थुप्रै घर थिए । सजिलो वातावरणमा आफैं निर्णय लिने र असजिलो लाग्दा बाउको घर हो, एक-एक हिसाब बुझाउनुपर्छ भनेर उम्किने उसको काइदा थियो । उसको बाउ घरजग्गाको घाघडान व्यापारी त होइन तर काठमान्डूमा राम्रै नाम कमाएका थिए । कसैसँग साझेदारी थिएन । चित्तबुझ्दो आम्दानी थियो । उसका बाउका अरू पनि कारोबार थिए जो आफैं हेर्थे । घरभाडा उठाउन चाहिँ झुक्किएर पनि जाँदैनथे । त्यसमा उनको आफ्नै कारण थियो । अर्कोतर्फ छोरा प्रबल भने यस्तो काममा मजा मान्थ्यो र खासगरी सामाखुशीको घर बारम्बार पुग्थ्यो । सामाखुशी घरको सबैभन्दा सुविधासम्पन्न अपार्टमन्टमा सोनिया बस्थी र भाडा तिर्दैनथी । खासमा भाडा त ऊ तिर्थी तर हिसाब पैसामा हुन्थेन । 

“तिमीलाई थाहा छ वीरेन्द्र र ऐश्वर्य दुबै जुद्धशमशेरका सन्तान हुन् ?” एकदिन सोफामा पल्टिरहेका बेला सोनियाले सोधेकी थिई । 

प्रबललाई पत्यार लागेन । पत्यार नलागे पनि उसलाई यस्तै हो भन्ने पनि पत्तो थिएन । थाहा नभएको कुरा कसरी झट्ट नकार्नु ! तर, शाही कथाहरूमा ऊ उनिँदै गएको थियो । 

“तिम्रो कुराले त…,” ऊ बोल्दाबोल्दै रोकिएको थियो, उसलाई त्यो नातासम्बन्ध काढ्न पनि मन लागेन “… त्यो त हाडनाता भयो नि !” 

“त्यही भएर त गाढा रगत भयो नि । उनीहरू खोज्थे नै त्यही,” उसले भनी । 

प्रबलले अपत्यारिलो हेर्‍यो । 

“ऐश्वर्यले देवयानीलाई नस्वीकारेको कारण के भन्ठानेका छौ त ?” सोनियाले सोधी र आफैंले उत्तर दिई, “उसमा जुद्धशमशेरको रगत थिएन !” 

“मतलब,” उसको निधार खुम्चिएको थियो, “ऐश्वर्यले रगतको छुवाछुत गरिन् ?” 

“हुन त राजखान्दान कानुनभन्दा माथि थिए तर उनका जति नियम कसका हुन्थे र ?” 

प्रबलले केही नवीन तथ्य बुझेझैं टाउको हल्लाउँदै थियो, अकस्मात् भन्यो, “पहिले त तिमी राजावादी कुरा गर्थ्यौ !” 

“राजावादी होइन,” उसले भनी, “राजाका कुरा ।” 

“राजावादीका जोक्समा त हाँस्थ्यौ !” 

उसले हाँसेरै टारी । 

त्यस दिन उसले जुद्धशमशेरका थुप्रै तुक्काहरू भनेकी थिई । जुद्धशमशेर भुटेको भँगेराको मासुका पारखी थिए भन्दा प्रबललाई सबैभन्दा घत लागेको थियो । त्यो नयाँ वर्षभन्दा ठीक अघिल्लो दिनको कुरा थियो । 

नयाँ वर्षपछिको अर्को भेटमा सोनियाले शुरूमै ‘महिनावरी रोकिएर…’ भनी र बोल्दाबोल्दै अडिई । प्रबल झसंग भयो । प्रबलको छटपट सोनियाले गौर गरेर हेरिरहेकी थिई । ऊ भने झन्-झन् आलसतालस देखिन्थ्यो । उसको सोनियासँगको सम्बन्ध लुकिछिपीमै सीमित थियो र ऊ त्यस्तै चाहन्थ्यो । न धेरै न थोरै । संयोगले, जीवनको एकटुक्रा समय सँगसँगै बिताएका थिए- बस् ! प्रबल त्यसमा थपथाप र जटिलता चाहँदैनथ्यो । तर, समय सधैं एकनास कहाँ हुन्छ र ! 

“महिनावरी रोकिएर ?” उसले नाजुक स्वरमा सोधेको थियो । 

“रोकिएर,” उसले जोडेकी थिई, “बल्ल हिजो भयो ।” 

प्रबलले ठूलो पीडाबाट मुक्ति पाएझैं गरेको थियो त्यतिखेर । उसलाई जिन्दगीमै पहिलोचोटि त्यति ठूलो राहत मिलेको थियो होला । 

त्यसपछि सोनियाले बिहेको कुरा उप्काएकी थिई र प्रबलले ‘सोचूँला’ भनी टालटुले जवाफ दिएको थियो । पहिले त उसले केही दिन मागेको थियो, पछि केही हप्ता माग्यो तर केही महिना बित्दा पनि जवाफ दिएन । उसले सोनियालाई महँगा रेस्टुराँहरूमा लगेर खुवायो, गोवा घुमायो, गुलाफका गुच्छाहरू दियो तर ‘सोचुँला’ भनेको प्रश्नको जवाफ दिएन । 

“प्रबल राजा, राज गरिस्योस् !” एकदिन भेट्नेबित्तिकै सोनियाले भनी, प्रबललाई अस्वाभाविक सम्मानका साथ सोफामा बसाउँदै । अनि आफू अलक्क छेउमा बसी । प्रबलले उसको प्रश्नको जवाफ नदिएकोमा चित्त नबुझेको देखाउनु थियो शायद । 

प्रबलले छनक पाइहाल्यो । पुरानो सोनियाले उसलाई त्यसरी कहिल्यै सम्बोधन गर्दैनथी । न त्यसरी कहिल्यै अलक्क बस्थी । उसले नयाँ सोनियालाई गहिरिएर खुट्टासम्म हेर्‍यो र उसको फैलिएको हात समात्ने प्रयास गर्यो । तर, ऊ अति छिटो थिई । स्वाट्ट तानी । 

पोहोर साल सोनियालाई भेट्दा प्रबल ३५ वर्षको थियो । काठमान्डूमै जन्मेर हुर्केको उसले काठमान्डू विश्वविद्यालयमा एमबीए पढ्दापढ्दै बीचैमा छोडिदिएको थियो । वास्तवमा ऊ बीबीए सकेपछि अमेरिका वा अस्ट्रेलिया पढ्न जान चाहन्थ्यो । तर, उसको बाउले विदेश पढ्न पैसा नदिने भएपछि उसको मन मरेको थियो । उसका बाउ भन्थे, “जसका छोराछोरी विदेश गए, उतै बसे । तेरो के भर ?” 

आफ्नै छोरा भए पनि भर पर्न नहुने तर्क र कारण उसको बाउसँग थियो । कलेज पढ्दा प्रबलले एउटी केटी मन पराएको थियो । त्यस केटीको ‘सामान्य प्रोफाइल’का कारण बाउ खुशी थिएनन् । उसका बाउ सौन्दर्यको भौतिकशास्त्र राम्ररी बुझ्थे । किनकि एउटै केटीमा मन नअड्ने खान्दानियाँ रोग प्रबलको परिवारमा थियो र त्यो रोगबाट प्रबल पनि संक्रमित भयो । 

“एउटा कुरा भनूँ ?” प्रबलले असहजता लुकाउँदै भन्यो । 

“प्लिज,” सोनियाले भनी, “तर नाटकचाहिँ होइन ।” 

“हेर, यहाँ धेरै कुरा छ । सबै कुरा मिलाउनु पर्यो नि,” प्रबलले थामथुम पार्ने प्रयासमा भन्यो, “यस्तो महत्वपूर्ण कुरा मैले त्यसै प्याच्च भनेर मात्र भएन नि !” 

“यो अहिले मैले फुत्त निकालेको कुरा होइन,” सोनिया दुबै हात कम्मरमा राखेर उभिई, र्‍याम्पमा मोडलिङको पोज दिएझैं, “मैले बुझेँ अब । तिमी कुनै निर्णय लिन सक्दैनौ । बितेको ५ महिनामा लिन सकेनौ र आउने ५ वर्षमा पनि लिनेछैनौ ।” 

प्रबलले आँखा बन्द गर्‍यो र दुबै हातको पञ्जामा अनुहार लुक्यो । लामो सास फेर्‍यो र अनुहार खुल्यो । 

“तिमीले जिद्दी गरेपछि केही कुरा भन्नै पर्‍यो,” एकछिनपछि उसले पृथक स्वरमा भन्यो, “हेर, मैले तिम्लाई धेरैथोक गर्न सक्छु । धेरैथोक । तर यो एउटा यस्तो कुरा हो, म अहिल्यै भन्न सक्दिनँ । शायद कहिल्यै भन्न सक्दिनँ । त्यसैले यसै भनेर तिम्लाई वचन दिन पनि गारो छ । तर, यसको अर्थ मैले अस्वीकृत गरेँ भन्ने कुरा होइन ।” 

“अस्वीकृत होइन र स्वीकृत पनि होइन । हो के त ?” उसले अलिक उँचो स्वरमा भनी र पूर्ववत् बसी । उसलाई न उठ्नु न बस्नुको सकस भैरहेको थियो । 

प्रबल संकटमोचनको उपाय सोच्दै थियो । 

“चन्द्रशमशेर र जुद्धशमशेर दुबै राम्री कन्या देखे दरबार लैजान्थे तर तिनको बानी फरक थियो । चन्द्रशमशेर दरबारमै राख्थे तर जुद्धशमशेर हातमा एक मुठी पैसा राखेर छोडिदिन्थे,” उसले तिखो स्वरमा फेरि भनी, “तिमी कुन ड्याङको मुला हो, थाहा हुँदैछ ।” 

“यता आऊ सोनु । साथमा बसेर गफ गरूँ,” सोफामा अलक्क बसेकी सोनियालाई इशारा गर्दै प्रबलले भन्यो, “म तिम्रो कुरा बुझ्छु र तिमी मलाई बुझ्ने प्रयास गर यार ।” 

प्रबलले जति फकाए पनि उसले आफ्नो कुरा छोडिन । बरू उसको बोली रून्चे हुन थाल्यो । 

“मलाई डर लागिरा’छ ।” 

“केको डर ?” उसले सोध्यो । 

“केको डर !” उसले दोहोर्‍याई । उसले ठानी- प्रबल बुझ पचाउँदैछ । 

“आऊ, एकअर्कालाई बुझ्ने प्रयास गरौं,” उसले फकाउने लत्तो छोडेन । 

“के बुझ्न बाँकी रह्यो ?” उसले भनी, “मैले कुरा बुझिसकेँ । हामी एक सोफाको दुई छेउमा होइन, एक नदीको दुई किनारमा खडा छौं । र, त्यो नदीले हामीलाई मिल्न दिँदैन ।” 

“हैट, के कुरा गरेको ?” उसले सोध्यो, “कहाँ छ नदी ?” 

“किन बुझ पचाको ?” उसले भनी, “यहीँ छ नदी ।” 

“खै, के हो नदी ?” उसले सोध्यो । 

“यो नदीको नाम हो- श्रेया ।” उसले भनी, “हो, तिम्री श्रीमती श्रेया हामीबीचमा खडा छे ।” 

एकछिन प्रबल बोलेन । सत्यता मौनतामा लुकेको थियो । 

सन्नाटालाई चिर्दै विषयान्तर गर्ने प्रयासमा प्रबलले भन्यो, “अरे किन रिसाको ?” 

प्रश्नले सोनियालाई झन् क्रोधित बनायो । उसको गुनासोको कुनै पुछनी नै भएन । न पहिले भएथ्यो न अहिले । ऊ रिस थाम्न नसकेर रून थाली । प्रबल के गर्ने भनेर सोच्दै थियो, रोदन र क्रन्दनमिश्रित रून्चे स्वरले सोनियालाई ढोकानेर पुर्‍यायो । उसको रून्चे स्वर थियो, “मलाई यो घरमा बस्नु छैन र मेरो पिछा पनि नगर्नू ।” ऊ त्यहाँबाट फुत्त निस्केकी थिई, बेपत्ता भई । 

ऊ ढोकाबाट बेपत्ता भए पनि प्रबलको दिमागमा उपस्थित थिई । घुर्की लगाएर गएकी हो, फर्किन्छे कि भन्ने अलिअलि सोच्दै प्रबलले घरिघरि ढोकामा हेरिरह्यो । हेर्दाहेर्दै थाकेपछि के सम्झ्यो कुन्नि- सोफामा ज्यान फाल्यो । भित्तामा हल्का कफी रंग पोतिएको थियो । भित्ताको एक पाटोको बीचमा कुनै हिमाली युवतीको पेन्टिङ थियो, अलिक अब्स्ट्र्याक्ट तवरले कोरिएको । कोठा सधैंझैं सफासुग्घर थिएन । सोनिया सदैव घर सफा र चिटिक्क राख्थी । अहिले उसको मनस्थिति जस्तै परिस्थिति पनि भद्रगोल छ । बैठक कोठाको बीचमा ओछ्याइएको आकर्षक गलैंचामा जताततै कुल्चेको जुत्ताको छाप थियो । सम्मुखको भित्तामा पिकासोको एउटा प्रिन्टेड पेन्टिङ झुन्डिएको थियो– ‘गर्ल बिफोर अ मिरर् !’ विवाहित पिकासोले अर्कै प्रेयसीको यादमा त्यो पेन्टिङ बनाएका थिए । उनले श्रीमतीलाई भन्दा त्यो रखौटीलाई किन छाने ? उसले मनमनै पिकासोलाई सोध्यो । ‘पिकासो तिमी पनि…’ उसको दिमाग बाँदर उफ्रेझैं घरि त्यो पेन्टिङ त घरि सोनियाको फोटोमा यताउति गरिरह्यो । 

अनि निधार खुम्चाउँदै भान्साकोठातिर गयो, पानी खोज्दै । त्यहाँ सोनियाका अपुरा निशानीहरू थिए । टेबलमा केही बिस्कुट, चिस्सिएको कफी, ग्यास गएको कोक, डायमन शमशेरको ‘सेतो बाघ’ र टोकेर सानो दागमात्र भएको स्याउ थिए । सामान छरिएका थिए । बेसिनमा भाँडा थुप्रिएका थिए । सोनियाको भान्सा त्यति फोहर उसले कहिल्यै देखेको थिएन । ऊ कोठाको बीचमा ठिङ्ग उभियो । कतैतिर खत्रक्क गरेजस्तो लागेको थियो । ऊ सतर्क भयो । 

ऊ दौड्दै बैठक कोठामा फर्क्यो, पानी नपिइकन । त्यतिखेरै सोनिया घरभित्र पुनः प्रवेश गरी । तर, उसको विकृत भावदशा सुधारिएको थिएन । ऊ विक्षिप्त जस्तै खुट्टा बजार्ने र घिसार्ने गर्दै थिई । त्यो विकृत भावदशा अनौठो मान्दै प्रबलले पिकासोलाई मनमनै सोध्यो, “गुरू, तिमीले ‘ऐनाअगाडि फुलेल केटी’ किन बनाएनौ ? तिम्री प्रेयसी कहिल्यै रिसाइन ?” 

पक्कै रिसाई । त्यसैले त उनले महिलालाई कहिले देवी, कहिले डोरम्याट भने । उसलाई थाहा थिएन पिकासो गुरूले कसरी प्रेयसी फकाए होलान्, तर प्रबललाई एउटा मन्त्र थाहा थियो- धैर्यधारण । उसलाई यो पनि थाहा थियो- केटीहरूको टेस्ट यसरी नै पास हुन्छ । 

त्यही पिकासोको पेन्टिङनेर पुग्दा सोनियाले कुँढीएको स्वरमा भनी, “माया भए खोज्दै आउनु पर्दैन ?” 

“तिमीले त नआउनू भनेको,” प्रबलले सुस्तरी कारण जनायो । 

ऊ च्याँठ्ठिई आवेगमा र आवेगमै सबै कोठा चहार्न थाली । भान्सातिर उसले डाङडुङ गरेको आवाज आयो । बेडरूममा केही पल्टिएझैं गड्याङ्ग भयो । सोनियाको त्यस्तो पारा उसले पहिलोचोटि देखेको थियो । खासमा जीवनमै पहिलोपल्ट उसले त्यस्तो देखेको थियो । यस्तो झगडाको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा ऊ पूर्णतः अनुभवहीन थियो । उसले पिकासोको त्यही पेन्टिङ हेरेर त्यो क्षणलाई धैर्यधारणको मन्त्रले धकेल्न खोज्यो । सोनियाको सबै रिस त्यही पेन्टिङमाथि केन्द्रित हुँदै थियो शायद । ऊ पेन्टिङमुन्तिर पुगी र भित्तामा बाँदर्नीजस्तै चढूँलाझैं गरी । त्यो पेन्टिङ झर्यामझुरूम खस्यो । पेन्टिङसँगै ऊ पनि भुइँमा खसी । 

प्रहरी आए । भित्रको ननिको चाला सुनेर हो वा देखेर- शायद कसैले प्रहरीलाई फोन गरेको थियो । प्रहरीले घटनास्थलको विवरण उठाए । सोनिया सुँक्कसुँक्क गरिरहेकी थिई र आफ्नो पीडा भन्नै नसक्ने दयनीय अवस्थामा देखिन्थी । ऊ धेरै बोलिन । शायद उसको सकस धेरै गहिरो थियो । सोनियाको त्यो अवस्था देख्दा इन्सपेक्टरले प्रबललाई शंकास्पद नजरले हेर्यो र सोनियाको हितमा के गर्न सकिएला भनेर गम्यो । उसले सोनियाको जिउमा घरिघरि हेरिरहेको थियो, कहीँकतै दुर्व्यवहारको निशानी छ कि भनेर । घटनास्थलको प्रकृति देख्दा सोनियाको पक्षमा इन्सपेक्टर चिन्तित हुनु उनको पेशागत मर्यादाजत्तिकै स्वाभाविक थियो । उसले कतैतिरबाट एक गम्छा र एक गिलास पानी ल्याएर सोनियालाई दियो र अरू के सहयोग गर्न सकिएला भनी कर्तव्यनिष्ठ भएर सोच्न थाल्यो । 

“तपाईंको सुरक्षाका निम्ति,” प्रहरी इन्सपेक्टरले सोनियालाई सोध्यो, “कुनै आफन्तकोमा लगिदिऊँ कि प्रहरी चौकी जानुहुन्छ ?” 

कत्ति पनि नअन्काइकन उसले भनी, “प्रहरी चौकी ।” 

० ० ० 

चौकीमा ‘पिकासो केटी’ भनेर ऊ रातारात चर्चित भई । कारण थियो पिकासोको पेन्टिङसँगै ऊ भेटिएकी थिई । 

भोलिपल्ट प्रहरी चौकीमा बयान शुरू भयो । उसले प्रहरीलाई २३ वर्षको बताई । काठमान्डूमै जन्मे पनि देहरादुनमामा हुर्केको र दिल्लीमा पढेको वैयक्तिक विवरण दिई । कुनै नातेदारको यौनशोषणबाट फुत्कन काठमान्डू आएको बयान दिँदै उसले भनी, “यहाँ पनि धोका भयो ।” 

“धोका भन्नाले ?” इन्सपेक्टरले आँखीभौं खुम्च्याउँदै सोध्यो, “अलि प्रष्ट पारिदिनुस् न ।” 

ऊ बोलिन । 

“त्यसले यौनशोषण गर्‍यो ?” इन्सपेक्टरले खोर्याएर सोध्यो । 

उसले फेरि पनि जवाफ दिइन । 

“हेर्नुस्, तपाईंले अनुसन्धानमा सहयोग नगरे गारो हुन्छ,” इन्सपेक्टरले भन्यो, “उसले के-के नराम्रो गर्‍यो, भन्नुस् । डराउनु पर्दैन । हामी कानुनको दायरामा ल्याउँछौं ।” 

उसले केही भन्न खोजेझैं गरेकी थिई तर सुँक्कसुँक्क गरी र शब्दहरू मनमै साँची । 

प्रहरीले जति जोड गरे पनि उनीहरूले चाहेजस्तो दुर्व्यवहारको फेहरिस्त उसले दिइन । बरू उसले किन हो कुन्नि- एकपटक प्वाक्क ‘पारसले थाइल्यान्डमा गर्लफ्रेन्ड राखे जस्तो हो ?’ भनी । 

अबला केटीमाथि अन्याय भएको कुरामा दया नराख्ने कुरै थिएन । मान्छेलाई अति पीडा भएपछि धेरै बोल्दैन भन्ने कुरा प्रहरीलाई राम्ररी थाहा थियो । त्यसैले त प्रहरीहरूले यो कुरा अपराधसम्बन्धी रिपोर्टरहरूलाई पनि भनिहाले । 

भोलिपल्ट पत्रिकामा सचित्र आएको थियो, दिउँसो प्रहरीलाई एक अधवैंशेको फोन आयो । त्यही अधवैंशेको गुप्त सूचनालाई प्रहरीले फलो गरेका थिए । केही रोचक कुरा पत्ता लगाए, पिकासो केटीबारे । 

उनीहरूले पत्ता पाए- उसको खास नाम सोनिया होइन सीता हो । सीताका अरू पनि आधा दर्जन उपनामहरू फेला परे । ऊ २१ वर्षकी होइन, ३१ वर्षकी हो । २१ वर्षमा उसको पहिलो अपराध दर्ता भएको चाहिँ हो, जुन पछाडि लामै सूची भेटियो । सबै अपराधमा ऊ २१ वर्ष भनिएकी थिई । दिल्ली र देहरादुन फरक-फरक प्रेमीहरूसँग घुम्न गएको थाहा भयो तर हुर्केको र पढेको दाङमा पुष्टि भयो । दाङ, बुटवल र काठमान्डूसम्म उसका धोकाधडीका प्रशस्त पुलिस रिपोर्ट थिए । उजुरी वा अपराध फरक-फरक ठाउँमा भए पनि केही समानताहरू थिए । उसको आकर्षण सधैं धनी बाउका छोरा थिए र पूर्वजन्मको स्वप्नकथा छुटेको हुन्थेन । 

अनुसन्धान इन्सपेक्टर र उसको हाकिमले प्राप्त सूचना र विवरण छिमले । पुरानो कुनै मुचुल्कामा सीताको हेडसरको बयान पनि थियो । उनले सीताको तारिफ नै गरेका थिए । ऊ जति राम्री थिई, उति नै टाठी थिई । रूपमा राम्री, अनि पढ्नमा पनि राम्री । दुबैको संयोग साधारणतया कमै हुन्छ । ऊ त्यही असाधारण विद्यार्थीमा पर्थी । स्कुल र कक्षाकोठाका हरेक छलफल र पढाइमा आखिरमा उत्तर दिने पालो उसको आउँथ्यो र त्यसैलाई अन्तिम मानिन्थ्यो । राम्री भएकीले उसलाई मनपराउने धेरै थिए । अनि आँखा लगाउने पनि थुप्रै थिए । १० कक्षामा पढ्दापढ्दै ऊ असन्तुलित र अस्थिर देखिन थाली । उसको कुनै नजिकको नातेदारबाटै ऊ बारम्बार बलात्कृत भएको आशंका हेडसरले गरेका थिए । हेडसरले ‘आशंका’ मात्र भनेका थिए । उनले त्यसो किन भनेका थिए भने उनी त्यसभन्दा बढी मुछिन चाहँदैनथे । 

सोनियालाई न्याय दिलाउन कस्सिएका प्रहरीहरू मोटो बहिखाता छिमलेर मुखामुख गरे । को हो दोषी ? धान खाने भँगेरा कि भँगेरा भुटेर खाने जुद्धशमशेर ! 

प्रहरीले मुद्दा नै चलाउनु पर्ने हदको अपराध ठहर्याएनन् । जनहितमा सूचना जारी गर्ने कि– त्यो पनि छलफल गरे । अन्तमा ‘अब आइन्दा यसोतेसो गर्नेछैन’ भन्ने कागजमा सही गराएर रिहा गरे । त्यस्ता सही उसले कतिचोटि गरी होली ? उसैलाई याद थिएन । 

रिहा त गरे तर जाने कहाँ ? ऊ सरासर त्यहीँ फर्की, त्यही अपार्टमन्टमा । र, प्रबललाई खबर गरी । 

“हेर, मैले रातभरि सोचेँ,” उसले भनी । 

“के सोच्यौ ?” 

“तिमी जत्तिको धन, मान र इमान भएको केटा मैले पाउन्नँ ।” 

“अस्ति त तिमी के-के भन्दैथ्यौ त !” 

“पहिले मैले ज्यादा सोचेकी रहिछु कि जस्तो लाग्यो ।” 

“अहिले के सोच्छ्यौ ?” 

“हाम्रो लेबल मिल्दैन,” उसले भनी, “अनि तिमीले श्रीमती छोड्दैनौ ।” 

प्रबलले आँखा चिम्लेर टाउको हल्लायो, “तिम्लाई मैले पहिल्यै भनेको थिएँ । म तिम्रो निम्ति धेरै थोक गर्न सक्छु तर एउटा कुरा गर्न सक्दिनँ ।” 

“केटाहरू फाइदामात्र लिन खोज्दा रै’छन्,” सोनियाले भनी । 

“सबै त होइन ।” 

“मेरो भोगाइ ।” 

त्यसपछि प्रबलले अलिक अनौठो कुरा भन्यो, “राम्रा मान्छेले राम्रै पार्टनर पाउँछ, हेर । एउटा नभए अर्को । आज नभए भोलि ।” 

“तिमी आफ्नै बारेमा मात्र सोच्दा रै’छौ,” सोनियाले भनी । 

“खैर, अब म के भनूँ ?” 

“तिमी के गर्न सक्छौ, त्यही भन,” उसले अन्तिम आशमा भनी । 

“हो, तिमीले भने जस्तै यहाँ नदी छ र म यो सीमाकंन नाघ्न सक्दिनँ ।” प्रबलले घरजग्गाको व्यापारीझैं भन्यो, “मैले भन्ने यही हो कि यहाँ बसिन्जेल तिमीले भाडा तिर्नु पर्दैन ।” 

सोनियाले ध्यान दिएर सुनिरहेकी थिई, प्रबलको कुरा भाडाको हिसाबमा टुंगियो । त्यो कुराले सोनियाले आफ्नो भाउ खस्केको बोध गरी । उसले सोँची, उतिखेरै बाटो तताऊँ । एकछिन मन खेलाई र सोची- हैन, यो छोडेर अहिल्यै कहाँ जाऊँ ? 

“कति सजिलो छ हगी ! मन लागिन्जेल प्रयोग गर्‍यो, छाडिदियो ! मैले केही गर्न सक्दिनँ भनेर त होला ? मैलै तिम्रो इज्जत बिगार्न खोजे के हुन्छ नि ?” ऊ त्यसै फत्फताई, “खैर, यी कुरा छाडिदिऊँ । तर … तर …,” उसको गला अवरूद्ध भयो । 

प्रबल फुत्त बाल्कोनीमा निस्कियो र बेलौंतीको रूखमा घोरिएर हेर्यो । फल नभए पनि रूख झुम्म हरियो थियो । उसलाई परममित्र जोनी वाकरको याद आयो । 

कोठाभित्र छिरेर उसले डबल पेग तयार गर्यो । बाल्कोनीतर्फ फर्कंदा उसको खुट्टा कतै अल्झियो । त्यो भुइँमा खसेको पेन्टिङको फ्रेम थियो । त्यो टुटेको फ्रेम र पेन्टिङ प्रबल र सोनियाको अपरिभाषित साइनोको साक्षी थियो । तर, ऊ त्यो थन्काउनपट्टि लागेन । 

उसले बाल्कोनीमा बेलौतीको रूखलाई हेर्दै चुस्की लिइरहँदा ठीक त्यही ठाउँमा सोनियासँगको एउटा पुरानो गफगाफ झल्झल्ती याद आयो । 

“कसैले तिमीलाई बदला लिन बलात्कारको आरोप लगाए के गर्छौ ?” सोनियाले त्यतिखेर सोधेकी थिई । 

प्रबलले त्यस्तो भइहाले अन्तमा सत्यकै जित हुन्छ भन्ने जवाफ दिएको थियो । त्यसपछि सोनियाले कुनै सत्यकथा सुनाएकी थिई । जसको सार हुन्थ्यो- सत्यको समस्या कहाँनेर छ भने त्यो उजागर हुन कहिलेकाहीँ समय लाग्छ र त्यतिखेरसम्म आरोपीलाई यति क्षति हुनसक्छ कि सम्झौता गर्नु नै कम हानिकारक हुन्छ । 

सोनियाको त्यो कथा त्यतिखेर उसलाई गम्भीर लागेको थिएन । तर, अहिले सम्झँदैमा उसको जिउमा काँडा उम्रियो । 

सोनियाको मनमा भने अरू नै कुरा खेलिरहेको थियो । कति चहारियो ! कति वर्ष बिते ! तर जुन भोगी भेटे पनि तिहुन चखुवा ! ऊ आफैंलाई यो मिल्ती असंगत लाग्यो । असंगत चाहनाको असंगत मिलापत्र । परिस्थिति बदल्न सकिँदैन भने मनस्थिति बदल्ने हो । अनि उसले भाउ खस्के पनि केही सिकेझैं ठानी । शायद उसले सिकेकी पनि थिई । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *