ग्रहण अवधिमा सुते रोगी, कपाल कोरे झर्छः ग्रहको जप, ध्यान गरे यी राशिलाई हुनेछ लाभ !

आज पौष कृष्ण औँसी तिथीका दिन बिहान खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्य ग्रहण लाग्दैछ ।  नेपाली समयानुसार बिहान  ८ः ४२ मा स्पर्श हुने, १०ः१ मा मध्ये हुने र ११ः३१ मा मोक्ष हुनेछ । यानिकि सूर्य छायाँबाट मुक्त हुन्छ । समग्रमा २ घण्टा ४९ मिनेट लामो अवधि छ ।   

आजकाे सूर्य ग्रहण दक्षिण र पश्चिमको बिचबाट टच (स्पर्श) हुन्छ भने पूर्व र दक्षिणको बिचमा गएर मोक्ष हुने ज्योतिष पण्डित नारायण प्रसाद दुलालले जानकारी दिए ।  यो ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एसियाका सबै देशहरुबाट देख्न सकिन्छ । साथै पूर्वी यूरोप, अष्ट्रेलिया, पूर्वी अफ्रिका लगायत विश्वका अधिकांश ठाउँहरुबाट यो देख्न सकिन्छ ।   

ग्रहणका समयमा विभिन्न शुभकार्यहरु गर्न नहुने ज्योतिषीय मान्यता छ । यस्तै ग्रहण फल कुनै राशिलाई राम्रो र कुनैलाई नराम्रो मिल्ने पनि बताइन्छ । यसबारे ज्योतिष पण्डित दुलालसँग राखिएको जिज्ञासाः 

ग्रहणको समय के गर्नु हुँदैन ? यसको लाभ कसरी लिन सकिन्छ ? 

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् हिजो (पुस ९ गते) राति ८ः४२ सुतक समय थियो । सुतक समयदेखि नै बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध गर्नुपर्छ ।   

किनकी सूर्य ग्रहणका समयमा पृथ्वीमा विभिन्न खालका विकिरणहरु फैलिरहेका हुन्छन् । जुन हाम्रो मानव शरीर लगायत खानेकुराहरुमा चाँडै स्पर्श भइहाल्छ र अशुद्ध बनाइदिन्छ । खानेकुरामा नकारात्मक ऊर्जा भरिन्छ । जसले हाम्रो शरीर पनि नकारात्मक ऊर्जाद्वारा विचलित हुन सक्छ । 

ग्रहण समयमा महत्वपूर्ण कामक्रिया पनि गर्नु हुँदैन । सो अवधिमा स्नान, दान, जप, ध्यान, साधनालगायत कर्म गरी ग्रहणको लाभ लिन सकिन्छ । मानसिक, शारीरिक र आर्थिक रुपमा निमुखा प्राणीहरु जनावर, चराचुरुंगी लगायत जति पनि प्राणीहरु हुन्छन्, उनीहरुको सेवा गरी धर्म कमाउन सकिन्छ । पितृका लागि तर्पण, पिण्डदान, शुभ तथा धार्मिक कार्यहरु भने गर्नु हुँदैन ।   

सकेसम्म ग्रहण काल अवधिमा हामीले ठुला नदी, तलाउ, तीर्थस्थल, समुद्र आदीमा गएर नुहाउँदा राम्रो हुन्छ । त्यो सम्भव नभएमा घरैमा पनि नुहाउँदा हुन्छ । शास्त्रले बताए अनुसार ३ चोटी नुहाउनुपर्छ । स्पर्श, मध्य र मोक्षको समयमा । जे, जति सकिन्छ, देश, काल परिस्थिति अनुसार गर्नुपर्छ ।   

चन्द्र ग्रहण ९ घण्टा सुतक, सूर्य ग्रहणमा चाहीँ १२ घण्टा सुतक हुन्छ ? यसको वैज्ञानिक कारण के छन् ?   

सूर्य ग्रहणमा चार प्रहर भनिन्छ अर्थात् १२ घण्टा र चन्द्र ग्रहणमा तीन प्रहर अर्थात् ९ घण्टा । यसको अर्थ के हुन्छ भने सूर्यको प्रभाव चन्द्रमाको भन्दा २५ प्रतिशत अझै बढी हुने भयो । सूर्य ग्रहण १२ घण्टा लम्बिनुको कारण यही नै हो ।   

यसपालिको सूर्य ग्रहणले कुन राशिलाई कस्तो प्रभाव पार्छ ?   

प्रत्येक ग्रहणमा राशिअनुसार फल प्राप्त हुने ज्योतिषीय मान्यता छ । यसपालिको सूर्य ग्रहण मूल नक्षत्रमा परेको छ । त्यसकारण आउने ६ महिनासम्म मूल नक्षत्र अशुद्ध मानिन्छ । मूल नक्षत्रमा धनु राशि छ । धनु राशिका व्यक्तिहरूका लागि यो ग्रहण सबैभन्दा कष्टकर रहनेछ । धनु लग्न भएका राशिहरुले पनि बढी संयमता अपनाउनु पर्ने देखिन्छ ।   

विशेषतः तुला, कुम्भ र मीन राशिका लागि लाभदायक छ भने अन्य राशिका लागि कष्टकर रहनेछ ।   

ज्योतीष शास्त्र अनुसार मेषको मानहानी, वृषलाई दुःख कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई मानसिक चिन्ता, कन्यालाई व्यथा, तुलालाई श्री प्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घातक, मकरको व्यय, कुम्भलाई लाभ, मीनलाई सुखदायी रहेको छ ।   

यदी हाम्रो जन्मकुण्डलीमा ग्रह दशा छ भने यो समयमा विभिन्न ग्रहका जप, ध्यान तथा आफ्नो दिक्षा मन्त्रहरु पाठ गरे ती ग्रह पीडाहरु कम हुन्छ । सूर्य ग्रहणमा जप गर्दा धेरै नै प्रभावकारी हुन्छ । यी कार्य गरे ग्रहणबाट लाभ लिन सकिन्छ ।   

ग्रहणको समयमा बाहिर निस्कनु हुन्छ कि हुँदैन ? 

सकेसम्म ननिस्किँदा राम्रो । गर्भवति महिलाहरु त झन् निस्कनै हुँदैन । यो पूर्ण रुपले वर्जित छ । यदी हिँड्नै परे ग्रहणबाट बच्नका लागि आफ्नो शरीरमा चन्दन, कुशहरु धारण गर्नुपर्छ । त्यस्तै घरमा राखिएका खानेकुरामा पनि बाहिरबाट कुश, तुलसीपत्र या गाईको गोबर प्रयोग गर्न सकिन्छ ।   

कुन–कुन राशिले हेर्न सक्छन् आजको ग्रहण ? 

ग्रहण यो राशिले हेर्न मिल्छ, त्यो राशिले मिल्दैन भन्ने कुराहरु आएका छन् । ती रुढीवादी परम्परा हुन् । कुन राशिलाई कस्तो प्रभाव पार्छ भन्ने मात्र हो । वास्तवमा कुनैपनि राशिले ग्रहण हेर्नु नै हुँदैन । नांगो आँखाले ग्रहण हेर्दा आँखामा गम्भीर असर पर्न सकिन्छ । थालमा पानी राखेर त्यसको छायाँ हेर्न सकिन्छ । त्यस्तै चस्मा लगाएर तथा टेलिस्कोपबाट भने हेर्न सकिन्छ ।   

मानवजातीलाई त असर गर्छ नै, जीवहरुलाई चाहीँ कस्तो प्रभाव पार्छ ?   

ग्रहणले मानवजातीलाई जति असर गर्छ, जीवहरुमा पनि उस्तै असर रहन्छ । ग्रहणको समयमा हामी मनुष्यहरु लगायत पृथ्वी जगतमा जति पनि प्राणी छन्, तीनीहरु सबैलाई ग्रहणको प्रत्यक्ष प्रभाव पर्छ । त्यसकारण जीवजन्तु, निमुखा प्राणीहरुले पनि यस समय नखाँदा नै राम्रो हुन्छ । नदिएकै राम्रो हुन्छ । हुन त उनीहरुका लागि दान गर्दा, खानेकुरा खुवाउँदा मनुष्य जातिलाई राम्रो फल मिल्ने शास्त्रमै उल्लेख छ ।   

तर ग्रहणकालमै ती कार्य गरिहाल्नुपर्छ भन्ने छैन । हामीले उनीहरुको भाग ग्रहणकालमा छुट्टयाएर राखिदिने र ग्रहणपछि लगेर दिन सकिन्छ । ग्रहणकै समयमा लगेर दिइहाल्नुपर्छ भन्ने छैन ।   

ग्रहण लाग्दा सुत्नु हुँदैन, मलमुत्र त्याग्नु हुँदैन भनिन्छ, यी कार्य गरेमा के हुन्छ ?   

ग्रहणका समयमा सुते रोग लाग्ने, कपाल कोरेमा कपाल झर्छ । पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने लगायत धार्मिक शास्त्रहरुमा उल्लेख छन् । सकेसम्म महत्वपूर्ण कागजपत्रहरुमा पनि सिग्नेचर नगर्नु पनि भनिन्छ ।   

यसका वैज्ञानिक कारणहरु पनि छन् । ग्रहण लागेका बेला अत्यधिक मात्रामा हानिकारक विकिरणहरु पृथ्वीमा परिचालित हुन्छन् । त्यो समयमा खानेकुरा खाए हामी रोगी हुन्छौँ, विभिन्न रोगहरुले सताउन सक्छ ।   

गंगाजल, तुलसीपत्र, कुशमा त्यस्तो के हुन्छ, जसले सूर्यको हानिकारक प्रभावबाट मानवलाई जोगाउँछ ?   

तुलसीपत्र जहाँ हुन्छ त्यहाँ सूर्य, चन्द्रमा लगायतका नकारात्मक ऊर्जाहरु प्रवेश गर्न पाउँदैन । कुश र चन्दनमा यति धेरै सकारात्मक ऊर्जा भरिएको हुन्छ कि कुनैपनि प्रकारको नकारात्मक ऊर्जाले स्पर्श गर्न सक्दैन । यी सधैँ पवित्र हुन्छन् ।   

त्यस्तै गगांजल लगायत नदिबाट आएका जलहरु औषधीले भरिपूर्ण हुन्छन् । जमेर बसेको समुद्रको पानी भन्दा पहाडबाट आएको पानीमा अत्यधिक मात्रामा सकारात्मक ऊर्जा । ती पानीले नुहाउँदा हाम्रा शरीरमा भएका नकारात्मक ऊर्जा तथा प्रभावहरु बाहिर निस्कन्छ ।   

वैज्ञानिक हिसाबले अझ प्रष्ट पार्नुपर्दा बगेर आएको पानीमा विद्युतिय तरंग निकाल्ने पावर हुन्छ जबकि जमेको पानीमा त्यस्तो सामथ्र्य हुँदैन ।   

ग्रहणमा गर्भवती महिलालाई त बाहिर निस्कन पनि वर्जित गरिएको छ, यो समयमा जन्मिएका बच्चा चाहीँ कस्ता हुन्छन् ? 

यदी ग्रहण योगमा जन्मिएका बच्चा छन् भने तीनलाई ग्रहण दोष मानिन्छ । उसमा नकारात्मक ऊर्जा भरिएको हुन्छ । नकारात्मक ऊर्जाले भरिएका बेला त्यस्ता बच्चा जन्मिए उसको शारीरिक, मानसिक रुपमा ऊ अशक्त जस्तै हुन्छ । सोच्ने शक्ति पनि न्यून हुन्छ ।   

बच्चा जन्मिदा ठिक छ भने पनि भविष्यमा उसलाई विभिन्न रोग, कष्टहरु खेपिरहनु पर्ने सम्भावना बढी हुन्छ । सम्भव भएसम्म यो समयमा बच्चाको जन्म हुँदा तुलसीपत्र, कुश साथमा रह्यो भने केही हदसम्म यसको कम प्रभाव पर्न सक्छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *