हतारमा चुकेको १३ औं साग

मंसिर २२, काठमाडौं । अहिले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगता चलिरहेको छ ।  अहिलेसम्म नेपाल ४३ स्वर्ण सहित १ सय ४२  पदक जित्दै दोश्रो स्थानमा छ भने, पहिलो स्थानमा १ सय १० स्वर्ण सहित २ सय १४ पदक जित्दै भारत रहेको छ । यो सागमा ५० स्वर्ण पदक आफ्नो पोल्टामा पार्ने दावी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले गरेका छन् । हुन त नेपालले ४३ वटा स्वर्ण जितिसक्दा ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ ।   

सन् १९८२ मा भारतको नयाँ दिल्लीमा एशियाली खेलकुदको जन्म भएपनि, दक्षिण एशियाली राष्ट्रको ओलम्पिक मानिने सागको पहिलो खेल भने नेपालले नै आयोजना गर्ने मौका पाएको थियो । सन् १९८४ को सेप्टेम्बरमा एशियाली महासंघीय खेलकुदको नामबाट साग खेलको प्रारम्भ भएको थियो ।   

पहिलो संस्करणमा पाँच खेलमात्रै समावेश गरेको सागले १३ औं संस्करणसम्म आईपुग्दा २६ खेल समावेश गराएको छ । यस पटक नेपालले आयोजकका हिसाबले गल्फ र प्याराग्लाइडिङ खेल समावेश गरेकोमा प्याराग्लाइडिङ खेल भने गर्न सकेन ।   

१९८४ पछि १९९९ मा दोश्रो सागको आयोजना गरेपछि अहिले नेपालले तेश्रो पटक साग खेलको आयोजना गरेको हो । १३ औं साग खेलकुदलाई सफल बनाउन नेपाल ओलम्पीक कमिटी, राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले निकै मेहनत गरेका छन् । तर जति मेहनत गर्नु पर्ने हो त्यती भने भएको देखिँदैन ।   

खेल सञ्चालन भैरहँदा खेलका प्राविधिक त्रुटी पनि आएका छन् । प्राविधिक त्रुटीकै कारण सुटिङमा नेपालले हार मात्रै होइन् लाज पनि व्यहोर्नु परेको छ । चीन सरकारको सहयोगमा निर्माण गरिएको सुटिङ रेन्ज एशियाकै उत्कृष्ट मानिएको भएपनि नेपालले बन्दुकको जोहो गर्न नसक्दा सुटिङमा नेपालले बेइजतीको सामना गर्नु पर्यो । शुक्रबार सातदोबाटोमा सुटिङको खेल भैरहँदा सामग्री अभाव र राम्रो बन्दुक समेत राख्न नसक्दा खेलाडीहरुले प्रतिस्पर्धीसँग गोली मागेर काम चलाउनु परेको थियो ।   

खेल स्थलमा स्वयंसेवकको समेत अभाब भएको विदेशी खेलाडी र प्रशिक्षकले गुनासो गर्दा नेपालले राखेका स्वयंसेवक भने खेल हेर्न ब्यस्त देखिन्छन् । आयोजक राष्ट्रिय खेलकुद समिति र संघहरुबीच समन्वय अभाव छ । बाहिरबाट प्रतियोगितालाई आयोजकले भब्यता र ऐतिहासिक भनेपनि भित्र टालटुले पारामा टारिएको छ ।   

१३ औं साग चलिरहँदा दैनिक काममा आवत जावत गर्नुपर्ने सर्वसाधारणले सास्ती खेप्नु परेको छन् । उपत्यकाको ट्राफिक ब्यवस्थापन उचित रुपमा हुन सकिरहेको छैन । विदेशबाट आएका खेलाडीलाई टुरिष्ट बसमा स्कटिङ गरीएपनि दशरथ रंगशाला क्षेत्र त्रिपुरेश्वरको जाम अस्तब्यस्त छ । २० र २१ गते दुई दिन त झन् म्याराथन र साइक्लिङ खेलले गर्दा बाटोबन्दका कारण सर्वसाधारणहरुले धेरै सास्ती व्यहोर्नु पर्यो ।   

हतारको काम भएका कारण पनि यस्ता समस्याहरु आएका हुन् । हुन त प्रत्यक दुई दुई वर्षमा गर्ने भनिएको साग प्रतियोगिता अहिले ३५ वर्ष वित्दा भर्खर १३ औं संस्करण हुन सकेको छ । २०१६ पछि खासमा नेपालले १३ औं साग सन् २०१८ मा गर्नु पर्ने थियो तर हुन सकेन । मार्च २०१९ मा ९ देखी १८ गतेसम्मा गर्ने भनिएको सागको मिति फेरि सर्यो । त्यसमा पनि हुनसकेन । र बल्ल डिसेम्बर १ देखि १० सम्मका लागि तय भयो र अहिले जारी छ । यी सबैका कारण भनेको राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव केशवकुमार विष्ट जानु र रमेश सिलवाल आउनु, नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव हुनु जस्ता रहे ।   

त्यसपछि मात्र सागको तयारीले प्राथमिकता पायो । यी सबै कुरा भएको ३ महिना यताका कुरा हुन् । त्यसपछि जति छिटो गरिएपनि सबै हतारका काम थिए । दशरथ रङ्गशालाको भिआईपी प्यारापिटमा छानो लगाउन हतार गर्नु पर्यो, पोखरा रङगशालाको मैदानमा दुबो राख्न थालियो, सातदोबाटोमा हिटिङ सिस्टमको स्वीमिङ पुलमा टायल बिछ्याउन थालियो ।   

साग आउनु भन्दा एक वर्ष अघि देखिनै तयारीमा जुटेको भए यति धेरै समस्या आउने थिएनन् । 

यति मात्रै पनि नभएर खेलाडीलाई प्रोत्साहन दिने काम अझैपनि नेपालले गर्न सकेको छैन । नेपाली खेलाडीहरुको मनाोवल उच्च राख्ने काम गर्न सकेको छैन । भत्ताको विषयमा अहिले पनि नेपाली खेलाडीलाई समान व्यवहार गर्न सकेको छैन र यो विवादको विषय बनेको छ । पाहुना खेलाडीलाई प्रोत्साहन स्वरुप भत्ता ५ हजार रुपैंया दिँदै आएको नेपालले आफ्नै खेलाडीलाई २ हजार रुपैंयामा सिमित राखेको छ । यो विषयलाई पनि नेपालले सुधार्नु पर्ने देखिन्छ ।   

यद्यपी पहिलो संस्करणदेखि १३ औं संस्करणसम्म आई पुग्दा नेपालले खेल क्षेत्रमा धेरैनै प्रगति गरेको छ, तरपनि अझ धेरै कुराहरुलाई सुधार्दै लैजानु पर्नेछ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *