काठमाडौंमा वर्षा, बाजुरामा हिमपात, जम्यो मुस्ताङकाे ताल र खोलाको पानी

मंसिर २७, काठमाडौं । जाडो बढेसँगै बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ ।
जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात भएका कारण चिसोले जनजीवन प्रभावित बनेको हो ।
चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रुपमा बन्द छन् भने कतिपय गाउँमा विद्यालय पनि बन्द गरिएको छ ।

अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या स्थानीयले बताएका छन् ।
चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ ।
त्यस्तै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ ।
बुधबारदेखि मौसममा भएको बदलीसँगै चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।
उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।
यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए ।
बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ । स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् ।
यता काठमाडौंमा पनि शुक्रबार बिहादेखि वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं उपत्यकामा चिसो बढेको छ ।
आज देशका पश्चिमि भू–भागका केही स्थानमा हावाहुरि आउने पनि सम्भावना पनि रहेको मौसमविदले जानकारी दिएका छन् ।
मौसमविदका अनुसार रातीको समयमा पनि देशभर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरुका साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।
पश्चिमि उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु(भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।








