काठमाडौंको सुकेधारामा बसको ठक्करबाट छात्राको मृत्यु, आक्रोसित विद्यार्थीहरुद्वारा अर्कै बसमा आगजनी

पुष ७, काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएपछि आक्रोसित विद्यार्थीहरुले बसमा आगजनी गरेका छन् ।   

सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेको आगजनी र प्रदर्शनबाट सुकेधारा चाबहिल क्षेत्रमा तनाव भएको छ । 

भक्तपुर काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे पशुपति क्याम्पस चाबहिलमा अध्ययनरत सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । 

बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो । गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको ज्ञवालीले बताए ।   

बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं भक्तपुरको रुटमा चल्नै बा ४ ख ७१०४ नम्बरको अर्कै बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ । आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *