सागमा नेपाल पावर हाउस भइसक्यो, अबको टार्गेट एशियन, ओलम्पिक र विश्वकपः सदस्य सचिव सिलवाल

मंसिर २६, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आफू परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गरेर आफूले महत्वपूर्ण कार्य गरेको बताएका हुन् ।
उनले भने, ‘म परिषदमा आएको साढे चार महिना भयो । आउनेबित्तिकै मैँले साग खेलकुद निर्धारित मितिमै गराउँछु भनेर घोषणा गरेको थिएँ । सबैको साथ र सहयोगले हामीले सफल रुपमा १३ औं साग सम्पन्न गर्यौँ । यो हामी सबैको लागि खुशीको कुरा हो ।’

उनले सागका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणका लागि आफूले पहिलो पहलकदमी लिएको पनि सुनाए ।
सिलवालले साग सुरु हुनुभन्दा पहिले नै आफूले नेपालले कम्तिमा पनि ५० स्वर्ण पदक जित्छ भनेर घोषणा गर्दा सुरुमा कसैले पनि नपत्याएको र आशंका गरेको स्मरण गरे ।
‘हामीले गरेको लक्ष्यमा आशंका गरियो, यो स्वभाविक पनि थियो । किनकी १२ औं सागमा नेपालले जम्मा तीन स्वर्ण जितेको थियो । यो पटक हामीले राम्रो तयारी गरेका थियौं । खेलाडी, प्रशिक्षकलाई हामीले असार मसान्तबाट क्लोज्ड–क्याम्पमा राखेका थियौँ,’ उनले भने ।
सागका लागि आफूलाई असोज ६ गतेमात्रै कार्यविधि प्राप्त भएपनि अन्य बजेट र ऋणपान गरेर भएपनि प्रशिक्षणको काम अघि बढाएको उनले स्पष्ट पारे ।
खेलाडीहरुले यसअघिका प्रतियोगितामा होटलको बारेमा विभिन्न गुनासोहरु पोख्ने गरेकोमा यो पटक कुनै गुनासो नआएको उनको भनाइ थियो । उनले भने, ‘नेपाली खेलाडीहरुलाई हामीले चारतारे र पाँचतारे होटलमा राख्यौँ । उनीहरु खुशी थिए । यसले खेलाडीमा पनि उच्च मनोबल थपिएको थियो । खेलाडीहरुलाई मोटिभेशनल क्लास गर्यौँ । एन्टी डपिङबारे क्लास दियौं ।’
१३ औं सागमा हासिल गरेको परिणाम नेपालको इतिहासमै अहिलेसम्मकै सबैभन्दा बढी पदक हासिल गर्न सफल भएको स्पष्ट पारे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुको लागि हिजो नगद पुरस्कार पनि घोषणा गरेको स्मरण गराउँदै उनले स्वर्ण जित्नेलाई ९ लाख, रजत पदक विजेतलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख दिने बताए । उनले भने, ‘टिम ईभेन्टमा स्वर्ण जित्नेलाई जनही ५ लाख दिने भनेका छौं । यो रकम कम भयो भन्नेपनि कुरा सुनियो । फुटबलको कुरा गर्दा २३ जनालाई जनही ५ लाखको दरले दिँदा एक करोड १५ लाख हुन्छ ।’
ग्रुप र ईण्डिभिज्युलको लागि स्पेशल प्याकेजपनि घोषणा गर्न सकिने उनको भनाइ थियो । उनले सरकारले खेलाडीहरुको लागि घोषणा गरेको पुरस्कार विगतको भन्दा दोब्बर भएको पनि स्पष्ट पारे । उनले भने, ‘हामीले हिजोको भन्दा दोब्बर पुरस्कार दिने घोषणा गरेका छौं । यसलाई कम भन्न मिल्दैन । प्रधानमन्त्रीज्यूले पनि यो पुरस्कारलाई यत्तिकैमा सिमित गरिँदैन भन्नुभएको छ । पुरस्कारको राशीलाई बढोत्तरी गर्ने भन्नुभएको छ । यो सुरुवात हो, अन्तिम होईन । अब खेलाडीले पनि ध्यान दिनुपर्छ ।’
सिलवालले आफूहरुको अबको ध्यान भनेको १४ औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको बताउँदै यसप्रति आफूहरु जिम्मेवार र गम्भिर भएर लाग्ने बताए । उनले भने, ‘दक्षिण एशियाली खेलकुदमा त हामी पावर हासउको रुपमा उदायौं । अब एशियन गेम हुँदै विश्वकपसम्म हुनेछ । त्यहीअनुसारको प्रशिक्षण र तयारी गर्छौं ।’








