धारिलो हतियारद्वारा सन्तानको हत्यापछी दुई श्रीमतीसहित आत्महत्या

मंसिर १७, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीसँगै जोडिएको गाजियावादको इन्दिरापुरममा एक पुरुषले आफ्ना दुई सन्तानको हत्या गरी दुई पत्नीसहित आत्महत्या गरेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार इन्दिरापुरमको वैभव खण्डमा बस्दै आएको परिवारमा सो घटना भएको हो । दुई सन्तानको हत्यापछि आवासीय भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या गरेको बताइन्छ । घटनास्थलमै ती पुरुष र उनकी एक पत्नीको मृत्यु भएको थियो भने घाइते अवस्थामा उद्धार गरिएकी अर्की पत्नीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

मंगलबार  बिहान भएको उक्त हत्या र आत्महत्याको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

भारतीय सञ्चारमाध्यमले स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार मृतक पुरुषको नाम गुलशन हो । मृतक दुई महिला उनका पत्नी परविन र सञ्जना रहेको बताइएको छ । मृतक दुई सन्तानमा रितिक र रितिका छन् । उनीहरु बस्दै आएको फ्ल्याटमा एउटा खरायो पनि मृत फेला परेको छ । 

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले उक्त फ्ल्याटमा सुइसाइड नोटका साथ ५०० रुपैयाँ पनि फेला पारेको थियो । कोठाको भित्तामा केही ‘बाउन्स चेक’ पनि टाँसिएको थियो । दम्पतीले आफ्ना केही छिमेकीमाथि आरोपसमेत लगाएको बताइएको छ । 

प्रहरीका अनुसार दम्पत्तीले सुरुमा १४ वर्षीय छोरा रितिक सुतिरहेको अवस्थामा घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि उनको घाँटीमा धारिलो हतियारले रेटेको पाइएको छ । छोराको हत्यापछि उनीहरुले छोरीको पनि त्यसैगरी हत्या गरेका थिए । 

प्रहरीले आर्थिक संकटका कारण उक्त परिवारले यस्तो कदम उठाएको आशंका गरेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *