देशभरका ह्याचरी उद्योग आजदेखि १० दिनसम्म बन्द, ३३ करोड बढी नोक्सान

मंसिर २९, चितवन । आज (आइतबार) बाट १० दिनसम्म देशभरका ह्याचरी उद्योग बन्द हुने भएको छ । लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको हो । लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।
१० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड रुपैयाँ बढी नोक्सान हुने नेपाल ह्याचरी उद्योग संघले जनाएको छ ।
शुक्रबार नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले राष्ट्रिय भेलाबारे जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय भएको जानकारी दिएको थियो ।

मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने बताइएको छ ।
निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट छन् ।
सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य रु ५५ का दरले रु ३३ करोडभन्दा बढी नोक्सान हुने बताए ।
पोख्रेलले व्यवसायीले गएको फागुन यता प्रतिचल्ला रु २५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिए ।
नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आबश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उहाँले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए । यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने उनको भनाइ छ ।
नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।
हाल कृषककोबाट जिउँदो कुखुरा रु १२० देखि १३० प्रतिकिलोमा उठेको भएपनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य २६० को हाराहारी रहेको छ । भारतमा उत्पादन रोक्ने प्रयोग भएपनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् ।
दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो रु ५० देखि ५५ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना रु ६० देखि ६५ पर्दछ । यसरी लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम देखिँदा व्यवसाय सङ्कटमा परेको संघको भनाइ छ ।
नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी रहेको छ । त्यसमध्ये लगानीको आधा हिस्सा बैंकको भएको बताइएको छ ।
सरकारले समयमानै सम्बोधन गर्न नसके यो व्यवसाय धारासाही हुने लामिछानेको भनाइ छ ।
नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षहरुमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकोमा आर्थिक वर्ष २०७६/०७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको बताए । उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ ।








