यसकारण लोकप्रिय राजा वीरेन्द्र

पुष १४, काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शाहको आज ७५ औं जन्म दिवस । देशले बिर्सन नसक्ने व्यक्तित्वको रुपमा पर्छन राजा वीरेन्द्र शाह । राजतन्त्रका समर्थकहरुले आज राजा वीरेन्द्रको ७५ औं जन्मदिन मनाउँदैछन् ।   

वि.स. २०२८ सालमा राजा महेन्द्रको निधन पछि राजा बनेका वीरेन्द्रले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलेका थिए ।   

राजा वीरेन्द्र विदेशी कुटनीतिप्रति सँधै चनाखो थिए । भारतले राजा वीरेन्द्रलाई नेपालको विदेश नीति आफुलाई सुम्पिए पञ्चायत बचाउने प्रस्तावलाई ठाडै अस्वीकार गरि नेपाली जनतालाई देश सुम्पिदै नेपालमा बहुदलीय व्यवस्था लागु गराई आफु संवैधानिक राजा बनेका थिए । उनले दलहरुमाथि लागेको प्रतिवन्ध फुकुवा गरे । जनता र दलका नेताहरुप्रति घुलमिल हुने राजाका रुपमा वीरेन्द्रलाई सम्झने गरिन्छ । त्यसैले पनि राजा वीरेन्द्र जनतामाझ झन लोकप्रिय बने ।   

राजा र साम्यवादी सत्तावीचको सहकार्य सामान्यतः अकल्पनीय रहे पनि नेपाली परिवशेमा त्यो अपवादको दुर्लभ ऐतिहासिक संयोगान्त यथार्थ थियो । यसको सीधा र सरल कारण थियो, राजा वीरेन्द्र यति उदार थिए कि आलोचकहरुलाई पनि आफ्नो प्रशंसक बनाउन सक्थे । जीवनभर राजाविरोधी आन्दोलन लडेका शिखर वाम पुरुष मनमोहनको पनि मन जित्ने क्षमता उनै राजा वीरेन्द्रमा थियो । 

मदन भण्डारी तिनै एक ज्यूँदा वाम नेता थिए, जसले राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनावमा आउन हाकाहाकी चुनौति दिएका थिए । तर, तिनै भण्डारी पटक९पटक राजालाई भेटेर फर्केपछि राजाका प्रशंसक बनेका थिए । उनले पार्टीको राजाविरोधी नीतिमा अल्पविराम राजा वीरेन्द्रको संगतपछि नै लगाउन थालेका थिए । यसको पनि कारण उही हो, वीरेन्द्र असल राजाको छविले नै आलोचकहरुको मन जितेर विश्वासिला बनिदिने खुबीका राजा थिए । 

कांग्रेस र वाम मोर्चा नेतृत्वको ०४६ साले संयुक्त जनआन्दोलनमा खास ठूलो जनधनको क्षतिबिनै प्रजातन्त्र पुर्नस्थापनाको घोषणा उनै राजा वीरेन्द्रले गरिदिए, जब कि त्यति छिटो र सहजै प्रजातन्त्र पुर्नस्थापित भैहाल्ने वा पञ्चायत बिदा भैहाल्नेमा तत्कालीन आन्दोलनकारी दलहरुमा नै विश्वास थिएन । यसले राजा वीरेन्द्रको लोकसम्मतिका आधारमा चल्ने शाहवंशीय परम्पराको निरन्तरताप्रतिको झुकावलाई दर्शाएको थियो । 

परिवर्तनका लागि जनता मर्नु हुन्न भन्ने वीरेन्द्र दृष्टिकै उपज थियो, थोरै क्षतिको त्यो धेरै राजनीतिक उपलव्धि, जसले उनको जनताप्रेमी धारणालाई व्यवहारमै उतारेको थियो । ०३६ को जनमत संग्रह होस् वा ०४६ को बहुदल घोषणा, ती वीरेन्द्रका प्रजातान्त्रिक निष्ठाका नमूना थिए । 

पञ्चायतको पतनपछि पुनर्स्थापित प्रजातन्त्रकालीन नेपालमा जति राजा बन्न पाए, त्यतिन्जेल व्यवस्था र संविधानका सीमा नाघ्ने प्रयाश कहिल्यै गरेन्न उनले । 

विवादास्पद नागरिकता विधेयक संसदलाई फिर्त्ता गरिदिएर होस् वा संवैधानिक जटिलताका मुद्दा अदालततिर पठाइदिएर होस् प्रजातान्त्रिक छविमा कहिल्यै धुमिलपना आउन दिएनन् । 

सामान्यतः व्यवस्था परिवर्तनपछि आउने संक्रमण र सत्ताशक्ति संर्घषका अभ्यासमा विवादभन्दा माथि र अलग्गै रहे राजा वीरेन्द्र ।   

भूराजनीतिलाई बुझेका राजा वीरेन्द्रले दक्षिण र उत्तरको छिमेकीसंगको सम्बन्धलाई सन्तुलित राख्नु पर्ने बताउँने गर्थे । भारतको कुदृष्टि र पश्चिमाहरुको नेपाल नीतिलाई प्रष्ट बुझेका उनले नेपालको सार्वभौमसत्ता रक्षाका लागि नेपाललाई शान्ती क्षेत्र घोषणा गर्ने अभियान चलाए । यो अभिनलाई धेरै देशले स्वीकारे पनि भारतले भने यो अभियानको खुलेरै विरोध गरेको थियो ।   

शान्तीवादी छवी बनाएका उनको मृत्यु भने रहस्यमयी बनेको छ । आजसम्म पनि राजपरिवारको हत्यारा पत्ता लगाउन सकिएको छैन ।   

यदी दरबार हत्याकाण्ड नभएको भए नेपालमा यति छिट्टै राजतन्त्र समाप्त नहुने विश्लेषण अहिले पनि गरिन्छ ।   

आज नेपालको राजसंस्थाको अन्त्य भईसक्दा पनि राजा वीरेन्द्रको योगदानलाई कहिल्यै विर्सनै सकिन्न । आज भन्दा झण्डै १९ वर्ष अघि हामीले एउटा अमुल्य रत्नलाई गुमाउन पुग्यौं । यो एउटा अपुरणीय क्षति हो नेपाली जनताका लागि ।   

उनले नेपालको धर्म परम्परा र चाडपर्वलाई संधै संरक्षण र सम्वर्धन गर्ने काम गरे । त्यसैले त उनी आज पनि हामी नेपालीको मन मस्तिष्कमा अमर रहेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eight =