इक्यानको १४ औं महाधिवेशन पुष २६ मा गर्ने तय

पुष १०, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १४ औं महाधिवेशनको मिति तय भएको छ । इक्यानको आज बसेको बोर्ड बैठकले आगामी पुष २६ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
आजको बैठकले पुष २६ गते नै नयाँ कार्यसमिति चयन गर्ने निर्णय समेत गरेको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए । इक्यानलाई नयाँ ढंगबाट अगाडी बढाउन र सम्पूर्ण ब्यवसायीलाई एक सुत्रमा बाध्नका लागि समयमै महाधिवेशन तय गरिएको अध्यक्ष पाण्डेले बताए ।
‘इक्यानलाई पारदर्शी र ब्यवसायी मैत्री बनाउनका लागि समयमै अधिवेशन आवश्यक भएकोले बर्तमान कार्य समितिको कार्यकाल रहँदै अधिवेशनको मिति तय गरेका हौं ।’ पाण्डेले भने ।

यस अघि इक्यानमा महाधिवेशन र निर्वाचन छुट्टाछुट्टै गर्ने प्रचलन थियो । इक्यानको महाधिवेशनको मिति तय भएसँगै इक्यानको नयाँ नेतृत्व लिनका लागि आकांक्षीहरु सक्रिय भएका छन् ।








