नेपालका लागि बराबरी पर्याप्त, बंगलादेशलाई जित्नै पर्ने दबाब

मंसिर २२, काठमाडौं । घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबल अन्तर्गत आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । 

यसअघि तीन राष्ट्रसँग प्रतिस्पर्धा गरिसकेको बंगलादेश आज नेपालसँग भिड्दैछ । प्रतियोगीतामा नेपाल र बंगलादेश दुवैको आज चौँथो खेल हो ।   

भुटानसँग पहिलो प्रतिस्पर्धा गरेको नेपालले पहिलो खेलमै ४–० को जीत हाँसिल गरेको थियो । आफ्नो पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको भुटान नेपालसँग स्तब्ध बन्न पुग्यो ।   

यसअघि नेपालमा गएको असोज महिनामा भएको साफ यु १८ मा भुटानसँग पराजित हुँदै समूह चरणबाटै नेपाल बाहिरिएको थियो । शनिबारको खेलमा श्रीलंकालाई ३–० ले हराएपछि भुटान ४ खेलबाट ९ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाउन सफल भएको छ ।   

तीन खेल खेलेको नेपाल भने ७ अंकसहित दोस्रो स्थानमा छ । उसले २ खेलमा जीत र एक खेलमा बराबरी गरेको थियो ।   

यता जितकै होडमा रहेको बंगलादेश ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेल जितेको बंगलादेशले दोस्रो खेलमा बराबरी गर्यो । तेस्रो खेलमा हार व्यहोरेका कारण पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा नेपालसँग जित्नैपर्ने दबाबमा छ बंगलादेश ।   

नेपालले भने फाइनलमा स्थान बनाउनका लागि बराबरी खेले पुग्छ । आजको खेल जितेको खण्डमा नेपाल १० अंकसहित फाइनलमा पुग्छ । बराबरी भएमा ८ अंक हुन्छ, यो पनि नेपालका लागि फाइनलकै यात्रा हो ।  खेल आज साँझ ५ बजे दशरथ रंगशालामा हुँदैछ । 

बंगलादेशले जितेमा ऊ ७ अंकसहित नेपालको बराबरी दोस्रो स्थानमा आउँछ । र हेड टु हेडका आधारमा बंगलादेश फाइनलमा पुग्नेछ । नेपालले तेस्रो स्थानसहित कास्य पदकमै चित्त बुझाउनुपर्ने हुन्छ ।  

हुन त सागमा नेपाली फुटबलको उपस्थिति पनि राम्रो रहँदै आएको छ । नेपालले सन् १९८४, १९९३ र २०१६ को सागमा स्वर्ण पदक जितेको थियो भने सन् १९८७ र १९९९ मा रजत पदक जितेको थियो । त्यस्तै सन् १९८५ र २००९ मा कास्य पदकमा चित्त बुझाएको थियो ।   

महिला फुटबलमा भने सन् २०१० मा ढाकामा सम्पन्न ११ औं सागबाट नेपालले सहभागिता  जनाउँदै आएको छ । नेपालले सन् २०१० र २०१६ मा रजत पदक हात पारेको थियो ।   

यसपाली पनि फुटबलमा कस्तो प्रदर्शन रहला भन्ने जनस्तरबाटै चासोको रुपमा हेरिएको छ । नेपाली फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जन पनि लामो प्रशिक्षण र मैत्रीपूर्ण खेलहरु खेलेकाले १३ औं सागमा नेपालले स्वर्ण जित्नेमा आशावादी देखिन्छन् । साग पुरुष फुटबलका क्याप्टेन सुजल श्रेष्ठ पनि स्वर्णकै टार्गेटमा छन् ।   

आजको खेलले फाइनलको यात्रा तय गर्नेछ । फाइनल पुगेमा नेपालले स्वर्णका लागि भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =