ब्राजिलको आधुनिक कृषि प्रणाली नेपालमा किन नल्याउने ?

लगभग १५,२०६ किलोमिटर टाढा ब्राजिलको साओ पाउलो नेपालबाट ठ्याक्कै विपरित दिशामा रहेको दक्षिण अमेरिकी देशको एउटा शहर । ८ सय किलोमिटर प्रति घण्टाका दरले जेट एयरमा उड्दा पनि १९ घण्टा लाग्छ पुग्नलाई ।
कात्तिक १५ गते म लगायत नेपालबाट अन्य तीन जनाको टोली ब्राजिल जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रस्थान गर्नुपूर्व नै म भित्र त्यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिदृश्य हेर्ने हुटहुटी बढेको थियो ।
विगतमा अन्य देशहरुको भ्रमण कि पारिवारिक घुमफिरमा हुन्थ्यो कि, राजनीतिक, आर्थिक एजेण्डामा हुन्थ्यो । तर, यसपटकको भ्रमण मूलतः ब्राजिलको आर्थिक, सामाजिक, सास्कृतिक तथा राजनीतिक अवस्थालाई बुझ्नु र आफ्नो देशको समेत प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी हुनु थियो । त्यहि भएर भ्रमणको टुंगो लाग्नु एक महिना देखि नै ब्राजिल र हामीलाई लैजाने त्यहाँको प्रतिष्ठित फ्लोरस्तान फर्नांडिस नेशनल स्कूलको बारेमा पनि अध्ययन गरेकी थिए ।

भ्रमण दलमा म सँगै माननीय सांसद अञ्जना विसंखे, पूर्व सांसद लालबहादुर थापा, नेकपा केन्द्रिय सदस्य राजेन्द्र सिं रावलसमेत हुनुहुन्थ्यो ।
ब्राजिलको फ्लोरस्तान फर्नांडिस नेशनल स्कूलको आयोजनामा हुन गइरहेको कार्यक्रममा विश्वका ३१ वटा देशका ७३ प्रतिनिधिहरुको सहभागीता रहने कार्यक्रममा थियो । कार्यक्रममा सहभागी हुँदा देशको प्रतिनिधिको हिसाबले कमजोरी नहोस भनेर केहि अध्ययन पनि गरेकीले १ महिने अध्ययन फलदायी हुने अपेक्षा गरेकी थिँए ।
नेपालका प्रतिनिधिहरुले एक महिनासम्म त्यहाँको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाका बारेमा अध्ययन गर्ने र नेपालमा हामीले त्यहि क्षेत्रमा काम गर्दा हासिल गरेका अनुभवहरु समेत आदान प्रदान गर्ने कार्यक्रम थियो । नोभेम्बर ३ देखि २८ सम्म भएको अध्ययन भ्रमणमा सोसियोलिस्ट माक्र्सिस्ट थ्यौरी अध्ययन तथा शेयरिङ भयो । जहाँ नेपालबाट गएका हामी चार जनाले विश्वका ३१ राष्ट्रका ७३ जनासँग सात्क्षात्कार हुने मौका मात्र पाएनौं, ३१ देशका राजनीतिक, आर्थिक तथा सामाजिक र महिला अधिकारका विषय बुझ्ने मौका पनि पायौं ।
यो शैक्षिक भ्रमणमा हामीले नेपालको बदलिँदो राजनीतिक परिवेश र नेपालमा कम्युनिस्ट पार्टीको अवस्थाका बारेमा सहभागीलाई जानकारी गराउन सक्यौं । भने, दक्षिण एशियाली राष्ट्रहरुकै प्रतिनिधित्व गरी ‘जनताको बहुदलिय जनवाद’का प्रणेता स्वर्गिय मदन भण्डारीका विषयमा जानकारी समेत दिन पायौं । मदन भण्डारीकै मार्गदर्शनलाइ नेपालका कम्युनिस्टहरूले अनुशरण गरेकाे भनेर सहभागीलाइ परिचय दिन सफल भयाैं ।
नेपाल एशियन प्रिजेन्टटेशन वर्क अन्तर्गत हामीले महिला नेतृ स्वर्गिय सहाना प्रधानका बारेमा बोल्न खोजेपनि धेरै राष्ट्रलाई उहाँका बारेमा जानकारी नभएकोले मदन भण्डारीकै विषयमा प्रस्तुति दियौं । एशियाकै लिडरका रुपमा स्व. भण्डारीलाई प्रस्तुत गर्दा धेरैले उत्साहपूर्वक चासो दिए । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको राजनीतिक अवस्था र कृयाकलापका बारेमा कार्यपत्र प्रस्तुत गरे । एउटा ग्रुप च्यान्टमा नेपालको पछिल्लो बामपन्थी राजनीतिक अवस्था र १० वर्षे शशष्त्र द्वन्द्वबाट नेपालमा कसरी शान्ति स्थापना भयो लगायत समसामयिक विषयमा बोलें ।
तालिममा सहभागी सबैले अहिले वातावरण दुषित गर्न र पृथ्वीका स्रोतहरुको दोहन गरि ईकोलोजिकल बिगारेकाे स्विकारेका छन् । र, आउने दिनमा, आउन सक्ने डरलाग्दो प्रकोपबाट बचाउन पृथ्वीलाई आमा जस्तै मानी हामी वातावरण संरक्षण गर्नु सबै दायित्व हो भने नाराका साथ हाम्रो तालिम कै नाम Mother Earth (पृथ्वी आमा) Portuguese (PACHAMAMA) राखिएको थियो ।
कार्यक्रममा आ-आफ्नो रिजिनल कन्टीनेनटको जनताको लागि अभियान मुलक संदेशमुलक गीत, च्यान्ट तथा प्रिजिटेशन प्रोजेक्ट समेत छान्न दिइएकाे थियो । जसमध्ये एसियन कन्टीनेन्टमा प्रिजेन्टेसन प्रपोजल र च्यान्ट नेपाली नै थियो । जहाँ देशभक्ति गीतहरू ईन्डियन र मलेसियन राखिएकाे थियाे । कार्यक्रममा मुकाम्मा मुकाम्बा…, लाल सलाम, जस्तो एल पालो…, लाल सलाम, जनता एकता ज़िन्दावाद, गॉंउगॉंउबाट उठ बस्ती बस्तीबाट उठ, रक्त क्रान्तिको ज्वालामुखीमा जस्ता क्रान्तिकारी गीत प्रस्तुत गरिएकाे थियाे ।
BG1 (Base Group) मा मैले अनिवार्य समुहगत कार्य संयोजकको भुमिका गर्न पाएको थिएँ । जहाँ नेपालकाे विषयमा साउथ अमेरिका, मध्य अमेरिका, उत्तर अमेरिका, साउथ अफ्रिका, अरब मार्गियन र साउथ एसियनलाई नेपाल के हो भनेर चिनाउन र प्रभावित गर्न सफल भयाैं ।
ब्राजिलको भूमिहिन समस्या
ब्राजिलमा पनि नेपालको जस्तै भूमिहिनहरुको विकराल समस्या रहेछ । खासगरी श्रमिक वर्गहरु अझैपनि भूमिहिन छन् । ब्राजिल भन्दा बाहिरबाट आएका श्रमिकहरु कम ज्यालादरका काम गर्नुपर्ने बाध्यता छ । महिला पुरुषका ज्यालामा पनि नेपालको जस्तै शारिरीक क्षमता प्रदर्शन गर्ने कामहरुमा महिलालाई कम ज्याला दिइँदो रहेछ ।
लुलाको भूमिसुधारको अभियान
ब्राजिलका वामपन्थीहरुले प्रजातान्त्रिकरण र राजनीतिक अधिकारको व्यापक प्रयोगबाट भूमि सुधारको आवश्यकता ठानेका छन् र, त्यसका लागि काम गरिरहेको पाइयो । ब्राजिलका ३५ औं पूर्व राष्ट्रपति लुला (लुइज इन्सिआओ लुला दा सिल्वा) जसले मजदुरका पक्षमा काम गरे । उनको वर्कस पार्टी (पिटी) ले सन् २००२ को निर्वाचनमा विजयी हासिल गरेर त्यहाँका सर्वहारा वर्ग र भूमिहिनका लागि काम गरे । उनी ब्राजिलकै इतिहासका सर्वाधिक लोकप्रिय नेताका रुपमा परिचित भए जसले बोल्सा फैमेलिया र फोमे जीरो जस्ता सामाजिक कार्यक्रमहरू चलाएका थिए ।
राष्ट्रपतिको रूपमा लुलाले इरानको आणविक कार्यक्रम र ग्लोबल वार्मिंगसँग सम्बन्धित गतिविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राष्ट्रहरूमा शक्ति सन्तुलन परिवर्तन गर्न सक्ने दुस्वाकांक्षी ब्यक्तिका रुपमा लुलालाई दिईंदो रहेछ । सन् २००३ देखी २०१० सम्म लुलाको शासन कालमा ब्राजिलमा रहेको धेरै असमानता र भूमिहिनहरुको केहि हदसम्म समस्या समाधान भएका रहेछन् ।
ब्राजिलमा विद्यमान असमानता हटाउन सक्रिय लुलाई पछि भ्रष्टाचारको आरोपमा अपदस्त गर्दै जेल सजाय समेत सुनाइयो ।
भूमिहीन मजदुर आन्दोलन (पोर्तुगाली: Movimento Dos Trabalhadores Sem Terra, MST) ब्राजिलकाे सामाजिक आन्दोलन हो, जुन मार्क्सवादबाट प्रेरित छ । भूमिहिन समस्या ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो समस्याको रूपमा मानिन्छ । ब्राजिलका २ राज्यहरूमा एम.एस.टीले भूमि सुधारमार्फत गरीब मजदुरहरूको जग्गामा पहुँच र असमान आम्दानी वितरण, जातिवाद, यौनवाद र मिडिया एकाधिकार जस्ता जमिनको स्वामित्व प्राप्त गर्न गाह्रो बनाउने सामाजिक मुद्दाहरूमा काम गरेको रहेछ । यहाँका बामपन्थीहरुले ग्रामीण गरिबहरूको लागि आत्मनिर्भर जीवनशैली निर्माण गर्न कार्यक्रम गरेका रहेछन् ।
एम.एस.टीले चलाएको कार्यक्रम
ब्राजिलमा भूमिहिनकै लागि भनेर एम.एस.टीले सामाजिक कार्यक्रम चलाएका छन् जसले महिलाहरुलाई आर्थिक शशक्तिकरणका लागि अभिप्रेरित गर्दछ । ग्रासरुटमा गएर महिलाहरुलाई सामुहिक खेती, पशुपालन जस्ता आयमुलक कार्यमा सहयोग गरेको छ । ग्रास रुटमै विजी ग्रुप खडा गरेर विउविजन दिने, आधुनिक कृषि औजारमा पहुँच पुर्याइदिने, उत्पादीत कृषिको बजारीकरण गर्ने कार्य गर्दो रहेछ । तर, संसारकै ५ औं ठूलो जनसंख्या भएको मुलुकलाई एकाध दुई संस्थाले चलाएका कार्यक्रम ‘हात्तिको मुखमा जिरा’ जस्तै छ । कसैले नयाँ काम गर्छु भनेर ऋण पाउने अवस्था ब्राजिलमा छैन । नेपालमा राज्यले गाउँगाउँमा सहकारी पठाएर जनताको आर्थिक स्थिती सुधान लागि रहँदा ब्राजिलमा भने, कृषि मै केहि गर्छु भनेर ऋण खोज्न सक्ने माध्यम छैन । हातमा सीप भएकाहरु स्वरोजगार हुन नसक्दा कम ज्यालादरमा काम गर्न बाध्य छन् ।
कमजोर मानवअधिकार
स्थानीय सरकारले एम.एस.टी सँग समन्वय गरेर काम गरेपनि ब्राजिलमा तल्लो वर्ग अर्थात श्रमिक वर्गमा अझै विभेद छ । उनीहरुले जमिनमाथीको अधिकार पाउन सकेका छैनन् । खानीहरुमा काम गर्दा उच्च जोखिम छ । गत वर्ष मात्रै मिनास राज्यको एउटा खानीको बाँध भत्किएर २७३ जनाको मृत्यु भएकोमा अझैसम्म १४ जनाको लाश समेत भेटिएको छैन । उक्त घटनामा पिडित कामदारलाई राहत दिने काम नत सरकारले गर्यो, नत खानी सञ्चालकले नै । यहाँ मानवअधिकारको अवस्था कमजोर छ । साओ पाउलो राज्यमै दिउसै चोरी डकैती हुन्छ । हत्या लुटपाट, बलात्कार, असुरक्षित यौन, भ्रष्टाचार ब्राजिलका नसुल्झिएका समस्या हुन् । साक्षरता दर महिला पुरुषको बराबरी नै भएपनि महिलाहरु अझै दविएर बस्नु परेको छ ।
ब्राजिलको तुलनामा नेपालको मानवअधिकार धेरै फराकिलो छ । सडक दुर्घटनामा मृत्यु भएका नागरिकलाई समेत विमाको ब्यवस्था छ नेपालमा । ०७२ सालमा आएको विनाशकारी भूकम्पबाट पिडितलाई पुर्नस्थापना गर्न राज्य आफैं सक्रिय भयो । हरेक वर्ष तराईमा आउने बाढिबाट आक्रान्तलाई नेपालको सरकारले हेर्ने गरेको छ । भर्खरै मात्र नेपाल सरकारले श्रमिक र कामदारका पक्षमा सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर ठूलो योगदान पुर्याएको छ ।
ब्राजिल र नेपाली समुदाय विच केहि कुराहरुमा समानता देखिएका छन् । जसरी नेपाली समाज पुरुष प्रधान छ त्यहाँपनि रहेछ । ब्राजिलको तल्लो समुदाय जो आर्थिक, राजनीतिक रुपले कमजोर छ त्यो तहमा महिला हिंसाका घटनाहरु बढि हुँदा रहेछन् । पुरुषको अधिनमा महिला बस्नुपर्ने, पुरुषले जतिसुकै अत्याचार गरेपनि सहनुपर्ने बाध्यता रहेछ ।
ब्राजिल जनसंख्या र भूगोलको हिसाबले विश्वकै पाँचौं ठूलो देश हो जहाँ सर्वाधिक पोर्तुगेली भाषा बोलिँदो रहेछ । ग्रामिण इलाकादेखि घना शहरी क्षेत्रमा पनि स्पेनिस र पोतुगेली भाषा बोलिन्छ । ब्राजिलको राजधानी ब्रासिलिया र रियो द जेनेरियो पर्यटकीय शहर हुन् जहाँ विश्वका विभिन्न देशबाट पर्यटक आउने गर्दछन् । हामी गएको साओ पाउलो पनि ब्राजिलको प्रमुख ठूलो शहर हो जहाँ ठूल्ठूला औद्यागिक क्षेत्र र कृषि योजनाहरु रहेका छन् ।
ब्राजिल सन् १८८९ मा संघिय गणतन्त्रमा प्रवेश गरेको मुलुक हो । यसअघि १८२२ बाट पोर्चुगलबाट स्वतन्त्र भएको थियो । १८८९ देखि संघिय संरचनामा गएको ब्राजिलले त्यसपछि मात्र विकासका आधार तयार गर्दै अगाडी बढेको हो ।
विकासको आधार खानी र आधुनिक कृषि
ठूल्ठूला खानी र आधुनिक कृषिका कारण ब्राजिलको अर्थतन्त्र मजवुत छ । साथमा यहाँको पर्यटनले पनि ठूलो भूमिका निर्वाह गरेको छ । हामी बसेको साओ पाउलो क्षेत्रपनि खानी र कृषि क्षेत्रको पकेट क्षेत्रमा पर्दोरहेछ । अध्ययनकै क्रममा कफी खेती र कृषि क्षेत्रको अवलोकन पनि गरियो । ब्राजिलको आधुनिक कृषि प्रणालीलाई नेपालमा प्रयोग गर्न सके नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर हुन समय लाग्दैन ।
पोर्चुगलको अधिनमा रहँदा गरिबीको चरम चपेटाबाट गुज्रिएको ब्राजिल दक्षिण अमेरिकी मुलुकहरुकै ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल हुनुको श्रेय टेक्नोलोजी र कृषि क्षेत्रलाई जान्छ । साथमा ब्राजिलमा रहेका ठूल्ठूला माइन अर्थात खानी त भए नै ।
चक्लाबन्दी कृषि कार्यक्रमकाे प्रभावकारीता
परम्परागत कृषि उत्पादनलाई प्रतिस्थापन गर्दै ब्राजिलले जब कृषि क्षेत्रमा टेक्नोलोजी प्रयोग गर्यो, जब चक्लाबन्दी प्रणालीबाट कृषि उत्पादनको रणनीति बनायो त्यसपछि मात्र यहाँको आर्थिक क्षेत्र बलियो बन्दै गएको हो ।
ब्राजिल संसारमै धेरै कफी उत्पादन गर्ने मुलुक हो । जहाँ सामुहिक रुपमा कफी खेती गरिन्छ । यसका अलावा अन्य नगदेबाली र खाद्यान्न उत्पादनमा विशेष जोड दिइएको छ । ब्यक्तिगत रुपमा खेती गर्नेहरु पनि छन् । स्थानीय निकायले चक्लाबन्दी कृषि गर्नेलाई सहुलियत दिने गर्दोरहेछ । ठूल्ठूला प्लटमा आधुनिक कृषि औजारको प्रयोग गरेर गरीने खेती लोभलाग्दो छ । भने, पशुपालनमा बंगुर, गाइ पालन गरिँदो रहेछ ।
खानीको कुरा गर्दा ब्राजिलमा प्रेटोलदेखि सुनचाँदी, फलाम, तामा सबै प्रकारका ठूल्ठूला खानी छन् । जसको बजार दक्षिण अमेरिकादेखि युरोप, अमेरिका र एशियासम्म फैलिएको छ ।
पर्यटनसँग सांस्कृतिक रहनसहन
दक्षिण अमेरिकी मुलुक ब्राजिल सांस्कृतिक रुपमा धनी मुलुक हो । ब्राजिलको संस्कृति पश्चिमी रहेपनि त्यसभित्र जातिय र सांस्कृतिक मिश्रण पाइन्छ । ब्राजिलमा रहेका बहुजातिय बहुसंस्कृतिले नेपालको झल्को दिन्छ । ब्राजिलको साम्बा नृत्य संसारमै प्रसिद्ध छ । ब्राजिलको संस्कृतिको मूल पोर्चुगलबाट आएको हो ।
ब्राजिलियाको कार्निवाल र बुम्बा मेउबोई जस्ता उत्सव र चाडपर्वहरू विश्वभरि फैलिदो क्रममा छन् । भने, ब्राजिलको पर्यटन प्रवद्र्धनमा यहाँको संस्कृतिले ठूलो भूमिका निर्वाह गरेको छ । नेपाल पनि जातिय विविधता र विविध संस्कृतिको धनी भएकोले नेपालको पर्यटन विकासमा बहुजातिय संस्कृतिलाई समावेश गरेर अगाडी बढेको अवस्थामा स्थानीय जनताको आर्थिक अवस्था सुदृढ हुन्छ नै, मुलुकको अर्थतन्त्रको सुचकांकमा समेत सुधार हुन्छ ।
नशा नशामा बसेको फुटवल
ब्राजिललाई फुटवलको देश त्यसै भनिएको हैन । यहाँका हरेक गल्लीहरुमा फुटवल छ । बालकदेखि युवा र बृद्धबृद्धाहरुमा समेत फुटवलको क्रेज छ । फुटवलकै माध्यमबाट विश्वमा परिचित ब्राजिलका हरेक स्टेटमा आधुनिक रंगशाला निर्माण गरिएका छन् । भ्रमणको दौरान हामीले साओ पाउलो स्थित फुटवल म्युजिएम तथा रंगशाला अवलोकन गर्यौं । यहाँ स्कुल तह बाटै खेलकुद विशेष गरी फुटवलको विकास गरिएको छ ।
चिटिक्क परेका घर
शहरी क्षेत्रमा ठूल्ठूला भवनहरु भएपनि ब्राजिलको ग्रामिण इलाकामा भने परम्परागत रुपमा माटोका झुप्रा घरहरु छन् । जुन घरलाई परम्परागत रुपले सजाइएको हुन्छ । बाहिरबाट स–सानो झुपडी जस्तो देखिएपनि ती घरभित्र सबैका भान्सामा ग्यास पुगेको छ । कोठाहरु चिटिक्क पारेर सजाइएका हुन्छन् । सरसफाइमा अत्यन्त ध्यान दिएको पाइयो । अझ रोचक कुरा एउटा छ्वालीको सामान्य घर भएका परिवारको पनि कम्तिमा एउटा आफ्नै सवारी रहेछ ।
ब्राजिल दक्षिण अमेरिकी देशहरुमा विकासको पथमा अगाडी बढेको मूलुक हो । नेपालले ब्राजिलसँग सुमधुर दौत्य सम्बन्ध कायम गर्दै त्यहाँको कृषि प्रविधिलाई नेपालमा ल्याउन सकेको खण्डमा नेपालको कृषि क्षेत्रले ठूलो फड्को मार्नेमा दुईमत छैन । यो विषयमा खासगरी दुताबासका कर्मचारी र सहचारीले मध्यस्तता गरेर अगाडी बढ्नु पर्दछ ।
चौधरी, पूर्वराज्यमन्त्री तथा नेकपाकी केन्द्रिय सदस्य हुन् ।








