रत्ननगर महोत्सवको उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

पुष १५, चितवन । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पुस २५ देखी टिकौली चौरमा हुने १० औ संस्करणको रत्ननगर महोत्सवको तयारी तिब्र पारिएको छ ।
महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय भएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष एवम् महोत्सवका संयोजक राजाराम रेग्मिले जानकारी दिए । माघ ७ गतेसम्म संचालन हुने महोत्सवका लागि आवश्यक स्टल निर्माण, गेट निर्माण लगायतको काम तिव्र पारिएको छ ।
कृषि, पर्यटन र उद्योगको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिदै आएको छ । महोत्सवलाई व्यवस्थित बनाउन टिकौली चौरमा स्टल, विभिन्न जातजातिका घर निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको काम तीव्र रुपमा भइरहेको महोत्सवका संयोजक रेग्मीले जानकारी दिए ।

यसवर्ष महोत्सवमा भ्रमण वर्ष–२०२० को प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । भ्रमण वर्षलाई केन्द्रित गरी चितवनको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि हेलिकप्टरमार्फत स्थानीय पर्यटकीयस्थलहरुको भ्रमण गराउने व्यवस्था मिलाइएको छ ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला–संस्कृतिको प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने पाँच सयवटा स्टल रहने संघका निबर्तमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए । यसपटक महोत्सवमा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।








