८० लाख मूल्य बराबरकाे यार्सागुम्बा सहित ३ पक्राउ

पुस ७, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गामा चेकजाँचको क्रममा बहुमूल्य वनस्पति यार्सागुम्बा सहित तीन जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचना तथा लामो समयदेखिको निरन्तर निगरानीको परिणामस्वरूप महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको कमाण्डमा खटिएको टोलिले नागढुंगामा प्रहरी चेकजाँचको क्रममा ४.२४५ के.जि यार्सागुम्बा सहित ३ जना पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भारतीय UK04TB1967 नंम्बरको मारूति कारबाट ४.२४५ के.जि यार्सागुम्बा सहित ३ जनालाई पक्राउ गरिएको बताए ।

उनका अनुसार पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय नागरिक रहेका छन् । पक्राउ पर्नेमा दार्चुला जिल्ला दुहम गा.पा ५ बस्ने वर्ष अन्दाजी ४८ को गर्जे सिँह महरा, भारत उतराखण्ड, जिल्ला चमौलि, पोष्ट अफिस लत्ता, ग्राम लत्ता बस्ने वर्ष अन्दाजी ३२ को प्रम सिंह र भारत उतराखण्ड, जिल्ला चमौलपी,पोष्ट अफिस उर्गम, ग्राम सल्ना बस्ने वर्ष अन्दाजी ३२ को हरिश सिंह रहेका छन् ।
डिएसपी श्रेष्ठले भने, ‘उक्त सवारी साधनको भित्रि पार्टपुर्जा मेकानिक्सद्वारा खोलि चेकजाँच गर्ने क्रममा उक्त परिमाणको यार्सागुम्बा चालकको सिट पछाडिको सिटहरूको दुबै साईडमा रहेको बोतल स्ट्याण्ड खोलि हेर्दा कागज तथा प्लाष्टिकले र्याप गरी २३ वटा पोकामा लुकाएको अवस्थामा ठूलो परिमाणको यार्सागुम्बा फेला पार्यो ।’
पक्राउ गरिएकाहरूलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि डिभिजन बन कार्यालय हात्तिसार, काठमाण्डौ पठाईएको थानकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूकाे साथबाट फेला पारिएकाे उक्त यार्सागुम्बा करिब ८० लाख मूल्य बराबर रहेको छ।








