चार जना फुटवल खेलाडीलाई गरिएको कारवाही प्रति गणेश थापाको असहमति

मंसिर २८, काठमाडौं । फिफाको १० वर्षे खेल प्रतिबन्धमा परेका अखिल नेपाल फुटवल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले १३ औं सागको मुखमा अनुशासनको कारवाहीमा परेका चार जना फुटवल खेलाडीका पक्षमा बोलेका छन् ।
गणेश थापाले चारजना नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु भएको कारवाहिको सन्दर्भमा अनुशासन समितिको निर्णय पूर्णरूपमा बाहिर आउनु पर्ने बताएका छन् ।
उनले खेलाडीहरुले के गल्ती गरेका हुन् त्यसबारेमा आम खेल प्रेमीहरुले जानकारी पाउनु पर्ने माग गरेका छन् । थापाले सागको तयारी खेलका लागि भुटान जाने दुई दिन अघि चारजना खेलाडीहरु ठमेलका डान्सबार गएको सन्दर्भमा त्यसबेलामा एन्फाका केही जिम्मेवार पदाधिकारीहरुले अन्य गम्भीर विषय पनि हुन सक्दछ भनेर प्रतिक्रिया दिएपनि अहिलेसम्म कारण सार्वजनिक नगरेको भन्दै अनुशासन समितिले के कस्तो कारण कारवाही गरेको खुलाउनु पर्ने बताएका हुन् । ‘एन्फाले यस विशेषमा अनिवार्यरुपमा जानकारी गराउनै पर्दछ ।’ थापाले भनेका छन् ।

उनले यदि गम्भीर विषयमा खेलाडीहरुबाट गल्ती भएको छैन भने खेलाडीलाई गरिएको कारवाही अन्यायपूर्ण भएको समेत बताएका छन् ।
‘यदि अन्य गम्भीर विषयमा खेलाडीहरुबाट गल्ती भएको छैन भने जुन कारवाही भएको छ मेरो विचारमा खेलाडीहरु प्रति अन्याय भएको मैले महसुस गरेको छु । त्यसकारण यो निर्णय तुरुन्त सच्याउनुपर्ने हुन्छ ।’ थापाले भनेका छन् ।
उनले खेलाडीहरुले गल्ति गरेको खण्डमा कारबाही हुनु पर्दछ भन्नेमा कसैको पनि असहमति नहुने तर, कारबाहीको नाममा खेलाडीहरुलाई जुन कारवाही भएको छ यसमा पनि सहमत हुन सकिने अवस्था नरहेको जिकिर गरेका छन् । थापाले खेलाडीहरुले नेपालको निमित्त पुर्याएको योगदानको कुनै कदर नभएको आफुले महशुष गरेको बताएका छन् ।
हिजोमात्र एन्फाको अनुशासन समितिले चार खेलाडीलाई राष्ट्रिय टिमबाट निलम्बन गर्दै अनुशासनको कारबाही गरेको थियो । बैठकले विमल घर्ति मगर, दिनेश राजबंशी, अन्जन बिष्ट र सन्तोष लामालाई निलम्बन गरेको हो ।
समितिले विमल र दिनेशलाई ९० दिनका लागि राष्ट्रिय टोलीबाट निलम्बन गरेको छ । भने बिष्ट र लामालाई ४५ दिनका लागि निलम्बन गरेको छ । उनीहरू सबैलाई एन्फाले ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय समेत गरेको छ ।
कुवेतविरूद्ध फिफा वल्र्ड कप क्वालिफायर २०२२ मा राष्ट्रिय टोलीको बन्द शिविरमा रहेका बेला अनुशासनविपरीतको कार्य गरेको भन्दै समितिले चार खेलाडीलाई निलम्बन गरेको थियो । उनीहरु १३ औं साग फुटवलमा समेत प्रतिबन्धमा परेका थिए ।
निलम्बनमा परेका चारै जनाले एन्फाद्वारा मान्यता प्राप्त कुनै पनि खेल तथा क्रियाकलापमा सहभागिता जनाउन पाउने छैनन् । विश्वकप छनोटअन्तर्गत कुवेत विरुद्ध भुटानमा भएको खेलका लागि भुटान जाने अघिल्लो रात यी चार खेलाडी रात्री क्लब गएर मदिरा सेवन गरी बिहान ढिलो फर्किएका थिए ।








