प्रदेश ३ सरकारले सौराहाबाट भ्रमण वर्ष शुभारम्भ गर्ने

पुष १४, चितवन । प्रदेश नम्वर ३ सरकारले प्रदेशको दोश्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाबाट भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने भएको छ ।
प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सोमवार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरि भ्रमण वर्षको तयारी र भ्रमण वर्षको शुभारम्भमा गरिने कार्यक्रम सार्वजनिक गरेको हो ।
भ्रमण वर्षका अवसरमा प्रदेशका विभिन्न पर्यटकीय स्थानमा कार्यक्रम गरिने भएपनि सौराहाबाट शुभारम्भ गर्न लागेको प्रदेश ३ सरकारका पर्यटनमन्त्री अरुण नेपालले बताए । मन्त्री नेपालका अनुसार यही पुष १८ गते हात्ती महोत्सव समापनका दिन भ्रमण वर्षको शुभारम्भ हुनेछ ।

मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भ्रमण वर्षको शुभारम्भ हुनेछ । भ्रमण वर्षकै अवसरमा सौराहामै पुष १६ गते स्ट्रीट कल्चरल डान्स, चितवन आउने प्रथम २० जना पर्यटकलाई जंगल सफारी गराईने छ भने भरतपुर विमानस्थलमा पर्यटकको स्वागत गरिने छ ।
त्यस्तै अन्तराष्ट्रिय नाका रसुवा,तातोपानीमा विदेशी पाहुनालाई स्वागत, नेपाल भ्रमण वर्ष शुभारम्भ स्तम्भ निर्माण तथा प्याराग्लाईडिङ उद्घाटन (मकवानपुर इन्द्रसरोवर र काभ्रे धुलिखेल ) , ठमेलमा स्ट्रीट कल्चरल डान्स, शहिद स्मारक हेटौंडामा विषेश स्वागत कार्यक्रम, इन्द्र सरोवर मकवानपुरमा प्रथम तीन जना पाहुनालाई वान नाईट स्टेको व्यवस्था मिलाईने पर्यटन मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा पर्यटन मन्त्री नेपालले प्रदेश ३ लाई पर्यटनको हव वनाउन सरकारले यस वर्ष पर्याप्त वजेट विनियोजन गरेको उल्लेख गर्दै नेपाल सरकारले लिएको भ्रमण वर्षको लक्ष्य पुरा गर्न आम नेपाली जुट्नु पर्ने बताए ।








