झारखण्डका ११ औँ मुख्यमन्त्री हेमन्त सोरेन

पुस १४, भारत । झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेनले आज झारखण्डको मुख्यमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन् । उनले झारखण्डको ११ औँ मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन् ।
झारखण्डकी राज्यपाल द्रौपदी मुर्मूले हेमन्तलाई मुख्यमन्त्री पदको सपथ खुवाएकी थिइन् ।
४४ वर्षीय हेमन्तले राजनीति विरासतको रुपमा प्राप्त गरेका हुन् । शिबू सोरेनका दोस्रो छोरा हेमन्तले दाजु दुर्गा सोरेनको असामयिक निधनपछि राजनीतिमा कदम राखेका थिए । उनी त्यसपछि राज्यसभाको सदस्य बने, सांसद बने र सन् २०१३ मा झारखण्डमा पहिलोपटक मुख्यमन्त्री बनेका थिए ।

८१ सदस्यीय झारखण्ड विधानसभामा झामुमोले ३० सिटमा जीत हासिल गरेको थियो भने उसको गठबन्धनमा सहयोगी काँग्रेसले १६ र राजदले एक सिटमा जितेको थियो ।
काँग्रेस अध्यक्ष राहुल गान्धी पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए । त्यस्तै, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी, द्रमुक अध्यक्ष स्टालिन, आम आदमी पार्टीका नेता सञ्जय सिंह र राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले पनि कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रममा हेमन्तका पिता शिबू सोरेन र उनको परिवारले पनि भाग लिएका थिए । त्यस्तै, बामपन्थी पार्टीका तर्फबाट सीताराम यचुरी र डी राजा पनि कार्यक्रममा उपस्थित थिए । एजेन्सी








