इंग्लिस प्रिमियर लिगः लेस्टर सिटीले एस्टोन भिल्लालाई ४–१ गोलले हरायो, अंक तालिकामा लिभरपुललाई पच्छ्याउँदै

मंसिर २३, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले एस्टोन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ । लेस्टरका तर्फबाट जिमी भर्डिले २ तथा किलिचि इनाचो र जोनाथन इभान्सले एक एक गोल गर्दै ४ गोलले जित निकालेको हो ।
२० औं मिनेटमा भर्डिले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा किलिचिले गोल गर्दै अग्रता दोब्बर बनाए । यस्तै पहिलो हाफको अतिरिक्त समयमा भिल्लाका लागि ज्याक ग्रिलिसले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । लेस्टरले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।
जोनाथन इभान्सले ४९ औं मिनेटमा गोल गर्दै लेस्टरको अग्रता ३–१ मा पुर्याए । ७५ औं मिनेटमा भर्डिले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।

भिल्लाले अरु गोल थप्न नसक्दा ४–१ गोलको हार बेहोर्नु पर्यो । लेस्टरले यो जित सँगै आफूलाई अंक तालिकामा माथि उकालेको छ । भिल्लालाई हराउँदै लेस्टरले तालिकामा ३८ अंक बनाएको हो ।
शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी ८ मा झारेको छ । ४६ अंकका साथ शीर्ष स्थानमा लिभरपुल रहेको छ । लेस्टरसँग पराजित भएको एस्टोन भिल्ला १५ अंकसहित १७ औं स्थानमा छ ।








