साग फुटबलः खेल तालिकामा विभिन्न देशकाे असन्तुष्टि, जितका लागि नेपालले खेल तालिका परिवर्तन गरेको आरोप

  

मंसिर १५, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिकामा विभिन्न देशका प्रशिक्षकहरुले असन्तुष्टि जनाएका छन् ।   

लगातार खेल हुने गरी तालिका बनाइएको तथा खेलाडीहरुले आराम नपाउने भन्दै विभिन्न देशका प्रशिक्षकहरुले असन्तुष्टि पोखेका हुन् ।   

Image result for साग खेलकुद

आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटानले खेल तालिकामा आपत्ती जनाएका हुन्। साग अन्तर्गत पुरुष फुटबलको खेल तालिकामा असन्तुष्टि देखिएको हो ।   

माल्दिभ्सका प्रशिक्षक पिटर सग्टले खेल तालिका फुटबलको हितमा नभएको कारण खेल्नै अप्ठ्यारो हुने भन्दै आफूहरु आफ्नो फुटबल संघसँगको छलफलपछि मात्रै खेल्ने नखेल्ने निर्णयमा पुग्ने बताए ।   

त्यस्तै श्रीलंकाका प्रशिक्षक एम एन पकिर अलि, भुटानका प्रशिक्षक पेमा दोर्जी र बंगलादेशका प्रशिक्षक जेमी डेले पनि खेल तालिकामा असन्तुष्टी जनाए।   

श्रीलंकाका प्रशिक्षक भन्छन्– ‘हामी स्वर्ण पदकका लागि तयारी गरेर आएका छौँ तर यो खेल तालिकाले हामीलाई असर गर्नेछ। यो सुहाउँदो भएन।’ 

यस्तै मालदिभ्सका प्रशिक्षक पिटर सेगर्टले खेल तालिकामा आपत्ती जनाएका छन्। नेपालले आफूले खेल जित्नका लागि खेल तालिका परिवर्तन गरेको उनको आरोप छ ।   

भारत नआउने भएपछि एन्फाले सार्वजनिक गरेको खेल तालिकाअनुसार सुरुवाती दुई खेल माल्दिभ्सले लगातार २ दिन खेल्नुपर्ने छ। डिसेम्बर २ मा श्रीलंकासँग खेल्ने माल्दिभ्सले लगत्तै अर्को दिन भुटानसँग खेल्ने तालिका छ। 

फिफा नियमअनुसार एक खेलमा पछि ४८ घण्टाको ग्याप हुनुपर्ने भएपछि त्यस्तो नभएकाले माल्दिभ्सका कोच ले आपत्ती जनाएका हुन्।   

‘यो तालिका फुटबलको भावना विपरित छ। यो तालिका सच्चाउन हामीले अनुरोध गरेका छौं। खेल्नेबारे आज साँझ खेलाडी, संघ तथा पदाधिकारीहरुसँगको सल्लाहपछि निर्णय गर्नेछौँ’, उनले भने ।   

बंगलादेशका प्रशिक्षकले पनि आफूहरुको तयारी राम्रो भएको तर खेल तालिका नमिलेको बताउँदै भने– ‘हामीले तयारी राम्रो गरेर आएका छौँ, तर यो खेल तालिका मिल्दो भएन। पहिलेको तालिका नै ठिक थियो। यो खेल तालिकाले त खेलाडीलाई सागपछिको अरु खेलमा सहभागी गराउन पनि समस्या हुन्छ। यो खराब ब्यबस्थापन हो।’ 

परिवर्तन गरिएको खेल तालिका अनुसार सोमबार पहिलो खेल बंगलादेश र भुटानबीच र दोस्रो खेल माल्दिभ्स र श्रीलंकाबीच हुने तय थियो। त्यसको भोलिपल्ट मंगलबार नै भुटान, माल्दिभ्स र बंगलादेशको खेल रहेको छ।   

यद्यपी एन्फाले भने खेल तालिकामा भएको असन्तुष्टि समाधान भइसकेको जनाएको छ । पर्याप्त समय नभएका कारण यस्तो खेल तालिका सार्वजनिक गरिएको एन्फाको भनाइ छ । ‘उहाँहरु हामीसँग कन्भिन्स हुनुभएको छ। सबै टिम सहभागी हुनुहुनेछ। उहाँहरुले असन्तुष्टी पहिलेदेखि जनाउनुभएको हो, तर सहमति भइसकेको छ’, नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले भने ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =