बनेपामा वित्तीय जागरण: गरिवी निवारणमा लघुवित्तको भूमिका महत्वपूर्ण

पुस १३, काभ्रे । काभ्रेको बनेपामा ‘वित्तीय जागरण: राष्ट्रिय अभियान’ अन्तरगत लघुवित्त विशेष कार्यक्रम सम्पन्न भएको छ ।
लघुवित्त हबका रुपमा रहेको बनेपामा आयोजित उक्त कार्यक्रममा सहभागिहरुले समृद्धिका लागि हरेक व्यक्तिले उद्यमी बन्ने अठोट बोक्नुपर्ने बताए । साथै उनीहरुले गरिबी निवारणमा लघुवित्तको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उद्यमशीलताको विकास विना समृद्ध हासिल हुन नसक्ने बताए ।
कार्यक्रममा स-सानो रकमलाई पनि पुँजीका रुपमा परिचालन गर्नुपर्ने आवश्यकता औल्याइयो । समारोहमा बरिष्ठ लघुवित्त अभियनता भगवति चौधरीले महिलाको शसक्तिकरणका लागि लघुवित्त महत्वपूर्ण भएको उल्लेख गर्दै कर्जा सदुपयोग गरेर अगाडि बढ्न लघुवित्त सदस्यहरुलाई आग्रह गरिन् । उनले संसारमा स-सानो पुँजी परिचालनबाटै ठुला उद्यमीहरुको जन्म भएको उल्लेख गर्दै काम गर्नका लागि सक्रियता र हिम्मत जुटाउन महिलाहरुलाई आग्रह गरिन् ।

लघुवित्तबाटै देशको गरिवी निवारण सम्भव हुने भन्दै उनले यसका राज्यले सक्रियता अपनाउनु पर्ने खाँचौ औल्याइन् । कार्यक्रममा भवगति चौधरीलाई लघुवित्त अभियन्ताका रुपमा अभिनन्दन गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक सुशील ज्ञवालीले वित्तीय चेतना विना समृद्धि सम्भव नहुने बताए । उनले हरेक व्यक्ति वित्तीय रुपमा साक्षर हुनुपर्ने समय आएको उल्लेख गर्दै विकासका लागि वित्तीय साक्षरता जरुरी रहेको बताए ।
बनेपा नगरपालीकाका नगरप्रमुख लक्षमी नरसिंह बादे श्रेष्ठले उद्यमीलताको विकासका लागि योजना बोकेर नगरपालीकामा आउन नगरबासीलाई आग्रह गरे । उनले काम गर्नका लागि अग्रसर हुन पनि सबैलाई आग्रह गरे ।
कार्यक्रममा लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले नेपालमा ४२ लाख नागरिकहरु लघुवित्त सदस्य रहेको उल्लेख गर्दै सबैलाई उद्यमशीलताको माध्यमबाट ठूला उद्यमी बन्न आग्रह गरे। उनले गरिवी निवारणको कार्यमा लघुवित्तले महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।
त्यसैगरी सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले अन्तर्राष्ट्रिय स्तरमै वित्तीय साक्षर हुने देश समृद्ध भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि वित्तीय साक्षरता महत्वपूर्ण भएको बताए । उनले कर्म गर्न र सहि ठाउँमा लागनी गर्न सके पैसा कमाउन कठिन नहुने बताए । त्यसैगरी वित्तीय जागरण राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक माधव निर्दोषले हरेक नागरिकले राज्य र राजनीतिबाट आशा नबोकी आफ्नै पौरखमा उद्यमी बन्नुपर्ने समय आएको बताए । उनले संसारमा सय रुपैयाँ कर्जाबाट समेत ठूला उद्यमी जन्मीएको उल्लेख गर्दै लाज नमानी काम सुरु गर्नेैहरु नै समृद्धिका बाहक भएको बताए । उनले हरेक लघुवित्त सदस्यलाई काममा ध्यान दिएर लगानी गर्न पनि आग्रह गरे ।
कार्यक्रममा फाइनान्सीयल टेक्नोलोजी विज्ञ केशवराज आचार्यले बैंक अब मोवाइलमै केन्द्रीत रहेको हुँदा मोवाइल वालेटको प्रयोग बढाउनुपर्ने बताए । उनले वित्तीय लनेजका लागि र वित्तीय सुविधाका लागि वालेटको प्रयोग आवश्यक रहेको बताए ।








