महासंघको वरिष्ठ उपाध्यक्षकाे उम्मेदवारीमा आइएमइका ढकाल

पुस ११, काठाडाैँ ।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।   

बागलुङमा शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवमा उनलाई उक्त महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले सो महोत्सवको उद्घाटन समारोहमा प्रस्ताव गरेपछि उनले सो प्रस्ताव स्वीकार गरेका हुन् ।    

सो महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका हैसियतमा सम्बोधन गर्ने क्रममा उनले भने ‘साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’   

आफू महासंघको उपाध्यक्षका साथै एकजना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवम् स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गरेकाे स्मरण गर्दै आज आफ्नो गृह जिल्लाका व्यवसायी साथीहरुले पनि यो प्रस्ताव गरेकाेले आफूलाई स्वीकार्य रहेको जानकारी गराए ।     

उक्त सम्बोधनका क्रममा उनले आफूले सानो व्यवसायदेखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको बताउँदै आगामी दिनमा साना तथा मझ्यौला एवम् समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताए । 

 सम्बोधनका क्रममा उनले भने ‘मेरो जीवन पनि तपाईँहरुजस्तै सानो तिनो पसल, उद्यम र सामान्य जागिरबाट शुरु भएर यहाँ पुगेको हुँ, त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरुले भन्दा बढी महसुश गर्न सक्छु ।’   

उनले उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने ‘तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु ।’   

उनले नेपाल सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =