श्रीराम टोवाको र न्यू लालिगुराँस इन्टरप्राइजेजविरुद्ध मुद्दा दायर, झन्डै १२ करोड विगोसहित तीन वर्ष जेल सजायको माग

पुष ८ काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा विभिन्न व्यक्ति तथा फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले ती व्यक्ति र फर्मविरुद्ध एघार करोड ८१ लाख १६ हजार ७ सय ९७ रुपैंया विगो र विगोको दोब्बरसम्म जरिवाना सहित ३ वर्ष जेल सजायको माग दावी गरेको हो ।
विभागले श्ररिाम टोवाको उद्योग प्रालिलाई राजस्व चुहावट गरेको अभियोगमा १० करोड ७३ लाख रुपैंया विगो सहित जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गराएको छ ।

सुर्तिजन्य पदार्थको उत्पादन कम देखाइ विभिन्न बिक्रेताको सहयोगमा राजस्व चुहावट गरेका भन्दै उक्त उद्योगसहित सम्वन्धी फर्महरुलाई समेत गरि सो विगो सहितको मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
त्यस्तै झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गर्ने न्यू लालिगुराँस इन्टरप्राइजेजका कमल प्रसाद तिवारीमाथि विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । उनमाथि राजस्व चुहावट गरेको अभियोगमा ५९ लाख ३४ हजार ८ सय २८ रुपैया जरिवान सहित ३ वर्ष जेल सजायको माग गर्दै मुद्दा दर्ता गरिएको हो ।
तिवारीलाई वस्तु तथा सेवा खरिद नै नगरि मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको अभियोग लागेको हो ।
आयोगले भारतीय नागरिक अस्फाक मिर्जालाई विदेशी विनिमय अपचलन गरेको आरोपमा ४८ लाख ७८ हजार १ सय २० रुपैंया विगोसहित काठमाडौं जल्ला अदालतमा मुद्दा दायर गराएको छ । मंसिर ८ गते दुवई जान लागेका उनीबाट ५ सयका दरले साउदी रियल एक लाख ५९ हजार बरामद भएको थियो ।








