पानीले पानीमा पानी लेखिदैन

संकेत कोइराला,   

भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफु भन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा मेरो दिनप्रतिदिन प्रेम बढ्दै जाओस्’ भन्दै लिन इन्कार गरिदिए । भरतपत्नी माण्डवीको भनाइ थियो– ‘गुरुकुलकी बुहारी बन्न पाएकी छु । त्यही नै मेरो सौभाग्य हो ।’ अब पालो लक्ष्मणको थियो । उनले भने– ‘सानैदेखि हजुरसंग जीवन विताएँ, बाँकी जीवन पनि यसैगरी बितोस् ।’ उर्मिलाले भनिन– ‘जतिसुकै प्रतिकूल परिस्थितिमा पनि धैर्यवान बनौं । शत्रुघ्नले पनि भरतकै बचन दोहो¥याए । अन्तिममा शत्रुघ्न पुत्रीलाई बोलाएर श्रीरामले आग्रह गरे– ‘भन छोरी श्रुतिकीर्ति तिमीलाई के चाहियो ?’ उनले आँखाबाट आँसु बर्साउँदै भनिन– ‘बनबासमा रहँदा तपाईंले लगाउनु भएको लुगा कृपा गरेर मलाई बक्सियोस् ताकि भोलि आउने दुखलाई त्याग र समर्पणको सिद्धान्तले परास्त गर्न सकौं । यसैले थोत्रो लुगा बक्स्योस् भन्ने चाहन्छु ।’ 

यदि राजनीतिभित्र अपराध र दलाली फस्टाएको हुँदैनथ्यो भने यतिबेला केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले लगाएका भादगाउँले टोपी प्रसाद मानेर लाउनेहरुको भीड लाग्थ्यो होला । भूमिगत हुँदा प्रचण्डले रोल्पामा भात खाएको त्यो सिल्भरे थाल संग्रहालयमा हुन्थ्यो । युद्धताका उनले लगाएको फौजी पोसाक किन्न मोल लाउनेहरुको लडाईं चल्थ्यो । देउवा र ओलीले कालकोठरीमा विताएका दिनको संस्मरण उच्च माविमा पढ्ने टिनएज पुस्ताका लागि गीता, बाइबल, कुरान हुन्थ्यो । 

null

तर विधिको विडम्बना देशको सफल अभिभावक भएर छोरापुस्तालाई देशको कार्यभार सुम्पनुपर्ने बेला राजनीतिमा सिण्डिकेट खडा गरी छोराको जवानी समेत पैंचो लिई भोग विलास गर्ने आध्यात्मिक पात्र यायातिको गुण उनीहरुमा थपक्कै सरेको छ । यायाति यस्ता आरिसे ऋषि थिए, जो गधा पच्चीसी ननाघेका आफ्नै छोरा पुरुको आयु लिएर भोगविलासमा लिप्त भए । यहाँ पनि पुरानो पात यस्तो थेत्तरो भएको छ– नयाँपातको भाग खोज्न लालायित छ । आफूलाई क्रान्तिको अग्रदूत भन्ने पार्टीका नेताहरुले तीनदशकदेखि केन्द्रीय नेतृत्व छोडेका छैनन् ।  

अरु त अरु सरदर इमान्दार नेतामा गनिने माधव नेपालले झण्डै तीनदशकअघि सम्हालेको पार्टी विदेश विभाग प्रमुखको पद अहिले धारण गरेका छन् । धेरैका बाआमाले धार्मिक ग्रन्थबाट प्रभावित भएर आफ्ना सन्ततिको नाम राम, कृष्ण, शिव, गणेश, कमल, पशुपति जे राखेपनि त्यसको परागबाट समाज कहिल्यै सुगन्धित भएन । बरु उनीहरुको कर्मका कारण जनताको पुर्पुरो अलैंचीजस्तै बन्यो । जब अलैंची सुगन्धले पूर्ण हुन्छ, त्यतिबेलै उसको शरीरमाथि लोहोरो बर्सिन्छ ।   

ऐतिहासिक धार्मिक नगरी जनकपुर जहाँ, राजा जनकले आफ्नी छोरी सीताको विवाह समेत सुरवीरहरुको जमघट गरी धनु उचालेर गराएका थिए । जुन प्रजातान्त्रिक अभ्यासको उत्कृष्ट नमूना थियो । नेपाली राजनीतिको दुर्भाग्य त्यही माटोमा जन्मिएका रामवरणलाई पहिलो राष्ट्रपति बन्ने सौभाग्य प्राप्त भयो । विडम्बना तिनै पात्र जीवनको उत्तराद्र्धमा नाना, खाना र छानाको लोभबाट मुक्त हुन सकेनन् । उनले निवृत्त जीवनलाई साधुशैलीमा अनुवाद गरिदिएको भए, अब त्यो पदमा आसीन कुनै पनि मानिसमा लोभी नहुन नैतिक दबाब पर्ने थियो ।  

उनका पिताजीले भगवान श्रीरामको जीवन आफ्नो सन्ततिमा देख्न चाहे पनि सफल भएनन् । ग्रन्थमा बाहेक यसखाले आदर्श पुरुष बन्ने सौभाग्य नेपालका कुनै नेतालाई प्राप्त भएन । गणतन्त्रले त झन् राज्यको ढुकुटी लुट्नेहरु राजनीतिका स्वर्णपदकधारी भए । राजाहरुलाई ‘निरंकुश वंशवाद’को आरोप लगाएर डाम्ने नेताहरु ‘परिवारवाद’बाट माथि उठ्न सकेनन् । नेताहरुको परिवारवादलाई गणतन्त्रको गजुर बनाइयो ।   

औंसीमा गरिएको पीच पूर्णिमामा भत्किनु, तीन दशकसम्म मेलम्ची मिथक बन्नु, पैसाविना राज्यका सेवाप्रदायक निकायले उपभोक्ता नचिन्नु, धाराको टुटीबाट पानीको साटो हावा आउनु, शिक्षा र स्वास्थ्यमा कालोबजारी मौलाउनुको मूलजरो गणतन्त्र दीगो बनाउने नाममा गरिएका कुकर्ममा गएर ठोक्किन्छ । माओवादी सशस्त्र युद्धका पीडितहरु झन्झन्  पीडित बन्दै गएका छन् । तर त्यसलाई लिएर व्यापार गर्नेहरुको भाग्य चम्किदो छ । जब एउटा ठेकेदारले पूर्वाधारको सट्टा भावी प्रधानमन्त्री जन्माउने ठेक्का पाउँछ भने उसले मजबुत सडक बनाउने कष्ट किन गरोस् ? धारामा पानी किन झारोस ?   

दुई तिहाइको यो सरकार असफल भयो भने के हुन्छ ? यो प्रश्नले धेरैको शरीरमा काँडा उम्रन्छ । तर, त्यसको उत्तर सरल छ– अर्को सरकार आउँछ । हिजो संविधान बनेपछि रामराज्य हुन्छ भनेर दिनरात भाषण गर्ने डा. बाबुराम भट्टराईहरु सम्पूर्ण समस्याको दोष आफैंले बनाएको संविधानलाई दिँदै त्यस विरुद्ध विषवमन गरिरहेका छन् । राजनीति चलाउने शिल्पी नै छेपारो भएको देशमा ढुक्क भएर भन्न सकिन्छ– यो सरकार गएपछि पनि प्रकृतिका हरेक नियम पहिलेकै गतिमा चलायमान हुनेछन् । २४ घण्टाको दिन एक सेकेण्ड थपघट हुने छैन । कम्युनिष्ट शासन पतन भएको प्रभाव स्वरुप अन्तरीक्षको सन्तुलन गुमेर सूर्यले चन्द्रमाको परिक्रमा थाल्ने छैन ।  

जतिसुकै भोकाए पनि बाघले किमार्थ घाँस खाने छैन । सिंहदरबार चिडियाखाना र चिडियाखाना सिंहदरबारमा सर्ने छैन । राजधानीमा गुड्ने मोटर ब्याक गियर लगाएर पछाडि कुद्ने पारिने छैन ।  कुनै राजनीतिक दलका नेता, देशका उच्च प्रशासक र सभासदहरुको न बर्दी घटने छ, न सुविधा कटौती नै गरिनेछ । समानुपातिकका नाममा संसदभित्र छिराइएका नेताका हुक्के, ढोके, चम्चे, बैठके, नन्दी, भृंगी, साला, जेठान गर्लफ्रेन्डले त्यहाँ गएर दिनभर उँगेवापत पाउने सरकारी सुविधाबाट वञ्चित हुनुपर्ने छैन । नेताका कानैमा पुगेर ट्याँयाँयाँ गर्ने बा¥हमासे लामखुट्टेजस्ता दलालहरु अर्को बजार खोज्दै बसाइँ सर्ने छन् ।   

राजनीतिमा मात्र हैन, हामीले दैनिक भोग्ने र सुन्ने आख्यानका नियति उस्तै छन् । रामायणकालिन महर्षि परशुराम यति घमण्डी र रिसाहा थिए कि जो संग पनि लड्न तयार हुन्थे । कतिसम्म भने आफ्ना पिताजी क्षेत्रीयसंगको युद्धमा मारिएपछि उनले क्षेत्रीलाई विद्या नै नसिकाउने  संकल्प गरे । आखिर आख्यानको त्यही हठी परशुराम पात्रका अवतारहरुले अहिले पनि समाजमा विचित्र लीला देखाइरहेका छन् ।  यी पात्रहरु कतै गुण्डागर्दीको कमाईमा कानुन आफ्नो मुट्ठीमा कैद गर्ने अघोरी त कतै जातीय नारा उचालेर वर्ग विभाजनको अभियन्ता बन्दै हिँडिरहेका छन् । समाधानमा पनि समस्याको बखेडा झिक्नु यिनीहरुको खेलो फड्को बन्दै आएको छ ।   

यहाँ त डाक्टर, पुजारी, न्यायाधीशसमेत पार्टीका झण्डेहरु छन् । दुई पैसाको बुद्धि नभएकाहरु झण्डा बोकेपछि बुद्धिजीवी कहलिन्छन् । दलका नेताको सौजन्यमा प्राप्त कालो कोट लगाएर बार बेन्चमा न्यायको तराजु बोक्न माथापच्ची चल्छ । न्याय सेवामा काम गर्ने धेरै खरिदार सुब्बा एलएलएम डिग्रीधारी भइसके तर सर्वोच्च अदालतमा बल्लतल्ल बीएल पासको खोस्टो लिएकाहरुको भीड छ । देशका संवेदनशील निकाय भद्र, योग्य, प्राज्ञिक नभएर चट्केहरुको माखेसाङ्लोमा पर्दै गएको छ ।  

पहिला पहिला हारेका मानिसलाई ठूलो अवसर दिइन्थ्यो भने अहिले हारेका दलहरु ठूलो भाग पाउने उल्टो यात्रामा शासन व्यवस्थाका पांग्रा गुडाउने प्रतिस्पर्धा छ । सरकार प्रमुखको गद्दीमा बस्ने विरलैले मात्र कुर्सी आरोहणको रंग बचाउन सकेका छन् । राजनेताको अवसर पाएका गिरिजाप्रसाद कोइराला कुन प्रारब्धले राजनीतिक डनमा सीमित भए ? तिलस्मी पात्रबाट अवतरण गरेका कुचा मुठे जुँगाधारी प्रचण्ड एक दशकमै निगाहका पात्र कसरी बने ? दरबारका प्याराहरु गणतन्त्रका उत्तिक्कै वफादार कसरी भए ?  यहाँ एउटा त्यस्तो निकाय बाँकी छैन, जहाँ चलखेल नभएको होस् । सबैथोक फाप्यो भन्दैमा नेताहरुले पानीमा पानीले पानी लेखेपनि बुझिन्न क्यारे । 

नियति कस्तो भने आँखाका सिद्धहस्त बीपीपुत्र डा. सशांक कोइराला हजारौंको आँखामा ज्योति छर्ने सीपलाई घात गर्दै उल्टो आँखामा खरानी छर्ने चटके राजनीतिमा होमिए । अमेरिकी राष्ट्रपति बाराक ओवामा, रुसका शक्तिशाली राष्ट्रपति मिखाईल गोर्भाचोभले कलेज पढाएकोमा आत्मगौरव गर्नेहरु रामवरणलाई गरिबको निशुल्क उपचार गर्ने सल्लाह किन दिँदैनन् ? कलकलाउँदो फूलको मालासंगै स्वार्थका झुसिलकिरा लिएर सिंहदरबार पस्नेहरुको झुण्डबाट गिरिजाप्रसाददेखि प्रचण्डसम्म रंगहीन, ढंगहीन हुन पुगे । आपूmले भनेको नमानेको झोंकमा सचिव, सहसचिवसम्मलाई ‘कू’ गर्न पछि नपरेका बाघ गिरिजाप्रसाद अदालतको वैशाखी टेकेर आएका तिनै कर्मचारीको बाख्रे घेराउमा परेर देउरालीको ढुंगोमा सीमित भए । 

कर्मचारी थर्काएर हैन, फकाएर काम लिने शक्ति हो भन्ने थोरै विवेक राख्न नसक्दा राजनीतिक परिवर्तन न हाँस न बकुल्लो बन्दै आएको छ । कर्मचारीको इतिहास चाकरीतन्त्रबाट शुरु भएको हो । पुस्तैनी शक्तिको चाकरीमा जुटेको परिवारभित्रको पाँच पासेलाई न्यायाधीश बनाइदिने तर निर्धो, सहाराविहीन पढेलेखेकालाई विचारीमा थन्क्याइदिने राणाकालीन तदर्थवादको ऐंजेरु छिमल्ने प्रयास कसैले गरेन् । अयोग्यहरुको भीडमा योग्यहरु हराउँदै गए । 

 पदीय कर्मभन्दा पनि ठूलाहरुलाई रिझाउने विशेष योग्यता भएकाहरुको पहुँच दिन दुईगुना रात चारगुनाका दरले बढ्यो । समस्याको गाँठो फुकाउने विन्दुमा सवै निरपेक्ष रहँदै आए । बीपीले जेलमा बस्दाको एउटा स्मरण लेखेका छन् । जसमा उनी भन्छन– ‘आमाको चिट्ठी आएको थियो । वहाँ लगभग सत्तरी वर्षको र म एकाउन्न वर्षको छोरो जो अनिश्चित कालका लागि चार वर्षभन्दा बढी समयदेखि जेलमा थुनिइरहेको छु । उहाँले लेख्नु भएको थियो– …..मैले तिमी जन्मिदा छोराको सम्बन्धमा जुन ठूलो कल्पना गरेकी थिएँ, जसले मलाई आत्मविश्वास र आनन्द दिएको थियो । त्योभन्दा बढी मेरो कल्पनाभन्दा बढीको कुरा तिमीले मलाई दिलायौ, जसले मलाई ठूलो गर्व छ । तिमी मैले कल्पना गरेभन्दा ठूलो छोरा भयौ ।’ एकपटक छातीमा हात राखेर सोचौं त हामी कति आमाका सपनाको हकदार हुन सक्यौं ?   

राजनीतिमा विज्ञता सधैं फापसिद्ध नहुन सक्छ । त्यसैले कहिलेकाहीँ देश हितमा सरकारमा पुगेकाहरुले आफ्नो विगत बिर्सिएर सकारात्मक मुख्र्याइँ गर्नुपर्छ । पृथ्वीनारायण शाहले योग्य मानिसलाई उचित पदमा राखे । न्यायलाई जनताको अधिकारका रुपमा स्थापित गराए । राज ज्योतिष कुलानन्द ढकालदेखि विज्ञ, विद्वान, सुरवीर मात्र हैन, बिसे नगर्चीलाई पनि साथ लिएर हिँडे । यसको प्रतिफल गोर्खामा जन्मिएका पृथ्वीनारायण शाह मुलुकको आधिपत्य जमाएर ५२ वर्षको उमेरमा त देहत्याग गरे ।   

नेपालको दोस्रो प्रधानमन्त्री भीमसेन थापाका पालाका कवि सुन्दरानन्द बाँडाले राजाका भारदार गाँजा तान्ने गँजडी जुवाडे थिए भनेर लेखेका छन् । उनी भन्छन– ‘ऐलेका भारदार दुनियाँसमेत रातबिरात जूवा खेलनामा लाग्याका छन् कोही गाँजा लि खान्छन् , गाँजाले मातियाका भारदारले क्या सहि राख्दछन् , कोहि बक्सिस भया पनि वस्तु पाउँदैनन, कोहि सन्दुक भरी राख्दछन् ।’ भीमसेन थापाको कार्यकाल समाप्त भएको झण्डै २ सय ५० वर्षपछि ३८ औं प्रधानमन्त्री बनेका केपी ओलीका सहयोगी  विरुद्ध सामाजिक सञ्जालमा त्यही स्तरको आलोचना छ । राज्यका संयन्त्रमा व्यवस्थाकीय सुधार नहुँदाको परिणाम हो यो ।   

प्रकृतिमा निर्विल्प प्रकृति मात्र हो । हामीले मान्दै आएको मृत्युलाई पनि कतिपयले अन्तिम होइन भनेर व्याख्या गर्न थालेका छन् । उनीहरुको तर्क छ– अक्टोपसले शंखेकिरा खान्छ । तर अक्टोपसले पेटमा पार्नुअघि नै शंखेकिराले हड्डीको खोलभित्र हालेर आपूmलाई सुरक्षित गरिसकेको हुन्छ । जब शंखेकिरा अक्टोपसको पेटमा पुग्छ तब खोलबाट निस्कने शंखेकिराले अक्टोपसलाई सिध्याउँछ । अन्तिममा अक्टोपस मर्छ । तर शंखेकिरा जस्ताको तस्तै । हाम्रो सन्दर्भमा राजनीतिक परिवर्तन पनि त्यस्तै भएको छ । घटनाक्रम जे सुकै होस् तर प्रकारान्तरमा पञ्चायती राजनीति अर्थात राजसंस्थाका अनुचरहरु नै अरुभन्दा सुकिला देखिदै आएको परिस्थिति छ । गणतन्त्र नामको गोलचक्करले जितेर हार्नुपर्ने अनौठो चक्रव्यूह खडा भएको छ ।  देशभित्रै जनता शरणार्थी बनेका छन् । विवेकका आँखा दिनदहाडै बन्द छन् । इतिहासका यी हरफबाट नेतृत्वले पाठ सिक्न जरुरी छ । नत्र सत्ता उही म्यूजिकल चियर त हो, को आएर बस्छ पत्तो हुन्न ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *