सागमा स्वर्ण बर्साउने खेलाडीः पानीमा रुझ्दै नगर परिक्रमा

मंसिर २७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडी र प्रशिक्षकहरुलाई आज नगर परिक्रमा गराइएको छ ।   

देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।   

आज शुक्रबार दिउँसो सुरु गरिएको नगर परिक्रमा न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारी र पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्राङ्गणमा आएर समापन गरिएको थियो। 

काठमाडौंमा पानी परेका कारण नागरिक अभिनन्दन प्रभावित बन्यो । केही खेलाडी पानीमा रुझ्दै नगर पक्रिमा गरे भने केही गाडी थिए ।   

खेलाडीको सम्मानमा आयोजित उक्त नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन राखेपले सबैमा आग्रह समेत गरेको थियो ।   

१३ औं सागमा नेपालले ५१ स्वर्ण प्राप्त गरेको थियो । जुन सागमा नेपालका लागि ऐतिहासिक थियो । यो सागमा एकै खेलाडीले ४ स्वर्ण जितेको किर्तिमानी समेत जोडियो ।   

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीलाई ९ लाख, रजत पदक प्राप्त खेलाडीलाई ६ लाख र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई ३ लाख दिने घोषणा समेत गरे ।   

पौडीमा ४ स्वर्ण जित्ने गौरिकाले भने ५९ लाख प्राप्त गर्नेछिन् । उनले ४ स्वर्णको ११ लाखका दरले ४४ लाख, दुई रजतको ६ लाखका दरले १२ लाख र तीन कास्य टिम इभेन्टमा जितेकाले जम्मा तीन लाख गरी कुल ५९ लाख रुपैयाँ पाउने भएकी हुन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *