अहिले विभाग गठन गर्नुको औचित्य छैन्ः अर्जुननरसिंह केसी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लबमा बोल्दै उनले तोकिएकै मितिमा महाधिवेशन हुनेमा शंका ब्यक्त गरे ।   

‘हामी त तोकिएकै मितिमा महाधिवेशन होस भनेर प्रयत्नशील थियौं । तर, सम्भावना छैन् । सकेसम्म ६ महिना नभए त्यो भन्दा अलिक बढि समय थपेर भएपनि महाधिवेशन सकेसम्म चाँडै गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।’ उनले भने । 

अब पार्टी सम्पूर्ण रुपबाट महाधिवेशनमा केन्द्रित हुनुपर्ने केसीले सुनाए । ‘हामी करिब चारवर्षको अन्त्यतिर छौं । अब सम्पूर्ण रुपमा पार्टीको अधिवेशनमा केन्द्रित हुनुपर्ने बेला छ । अब विभाग बनाउनुपर्ने कुनै औचित्य छैन् ।’ उनले भने–‘धैरै भातृ संस्थाहरुको समयावधि सिद्दिएको छ । केन्द्रिय कार्यसमितिले ६ महिनाभित्र अधिवेशन गर्ने भनिएकोपनि दुई महिना भैसक्यो । तदर्थवादबाट तदर्थ समिति बनाएर हुँदैन् । माथिबाट लाद्ने नेतृत्वको परम्पराको अन्त्य गर्नुपर्छ ।’ 

उनले पार्टीलाई व्यवस्थित् रुपमा अघि बढाउनको लागि नेतामूखी नभएर नीतिमूखी हुनुपर्नेपनि धारणा राखे । ‘पार्टी व्यक्तिमुखी होईन, संस्थामुखी हुनुपर्छ । कार्यकर्ताहरु शक्तिको पछि होईन, सत्यको पछि लाग्ने परिस्थिति बनाउनुपर्छ ।’ उनले भने । 

अहिलेको उपनिर्वाचनको परीणाम हेर्दापनि यसले कांग्रेसलाई उत्साहित बनाएको सुनाए । उनले भने,‘भक्तपुर, धरान र चितवनको निर्वाचन परीणामले कांग्रेसलाई केही उत्साहित बनाएको छ । पहिलो पटक तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि एउटै चुनाव चिन्हबाट नेकपाले लड्दापनि उनीहरुको जनमत ह्रास देखिएको छ, त्यो कांग्रेसको निम्ति सकारात्मक पक्ष हो ।’ 

सभापतिको लागि हरेक महाधिवेशन प्रतिनिधि योग्य रहेका पनि उनको भनाई छ । ‘पार्टीभित्र अहिले जुन खालको शैली, ढाँचा र सोच विकास भएको छ, त्यसमा आमूल परिवर्तनको खाँचो छ । मन, वचन र कर्म १४ औं अधिवेशनमा केन्द्रित हुनुपर्छ । यसलाई पर सार्नुहुँदैन्’ उनले भने । 

अहिलेको उपनिर्वाचनले सरकार परिवर्तनको लागि नभएको सुनाउँदै केसीले तर, यसले जनमतको मापदण्ड निर्देशित गरेको बताए । कांग्रेसले सामाजिक परिवेशलाई प्रतिपक्षीको प्रभावकारी भूमिका अदा देखाउनुपर्ने उनको भनाई छ ।   

वर्तमान सरकारले सुरुदेखि नै सपनाहरु बाँड्ने काम गरेको उनको आरोप छ । उनले भने,‘सरकारले भ्रम र झुठका पुलिन्दा बाँडेको छ । २१ महिनामा तथ्यगत रुपमा र व्यवहारमा सरकारले राम्रो काम गर्न सकेको छैन । अहिले देश सम्पूर्ण रुपमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । चाहे ३३ केजी सुन काण्ड होस, वा वाईडबडी होस, चाहे बुढीगण्डकी होस वा एनसेल काण्ड, चाहे नेपाल टेलिकमको फोरजीमा भएको अनियमितता होस वा बालुवाटार जग्गा काण्ड । यी सबैमा सरकारले दोषीलाई कारबाही गर्न सकेको छैन् ।’ 

केसीले भ्रष्टाचार विरोधी अभियानमा पनि वर्तमान सरकार सशक्त रुपमा अघि बढ्न नसकेको टिप्पणी गरे । ‘प्रतिपक्षीलाई देखाउने काम गरिन्छ, यदि सरकारले जोसुकै होस् आग्रह वा पूर्वाग्रहबाट मुक्त भएर र मेरो मान्छे, तेरो मान्छे नभनी कारबाही गर्नुपर्छ । तर, सरकार त्यतातिर प्रयत्नरत छैन् । उसलाई आफ्नै मान्छे पर्ने खतरा छ ।’ 

उनले जघन्य भ्रष्टाचारमा प्रतिपक्षीलाई उभ्याईदिन सके सरकारलाई पनि फाईदा हुन्छ भन्दै यदि छ भने आरोप पुष्टि गरेर देखाईदिन खुल्ला चूनौति दिए । ‘सरकार आफू कमजोर छ । तर, कर्मचारी प्रशासनलाई दोष लगाउने काम गरिरहेको छ । अहिले लोकतान्त्रिक मूल्य, पद्धती र प्रक्रियामाथि नियन्त्रण गरिएको छ । मिडिया काउन्सिल विद्येयक, संवैधानिक परिषदको विद्येयक, मानवअधिकारसम्बन्धी विद्येयक, गुठी, सुरक्षा परिषदसम्बन्धी विद्येयक नियन्त्रणमुखी बनाउन खोजिएका छन् ।’ 

उनले अहिले राष्ट्रिय परिस्थिति अत्यन्तै जटिल बन्दै गएको सुनाए ।सरकार असफलताको चरम चुलीमा पुगेको बताउँदै डा. केसीले राष्ट्रिय माटोमाथि आक्रमण, विवाद र अतिक्रमण भैरहेको जिकिर गरे । कालापानी, लिपुलेक र लिम्पियाधुराको कुरामा अहिलेको सरकारलाई मात्रै दोष दिन नहुने भन्दै उनले भने–‘यो धेरै वर्षदेखिको समस्या हो । यो समस्यालाई समाधानको निम्ति अहिलेको सरकार सर्वदलीय सहमतिको शक्ति प्राप्त गरेको छ । समस्या समाधान गर्नको लागि क्रियाशिल, उच्चस्तरीय कुटनीतिक कदम चाल्नुपर्छ । सरकार सम्पूर्ण रुपमा त्यतातिर केन्द्रिकृत भएर लाग्नुपर्छ ।’ 

केसीले आफूहरु नेपालको एक ईन्चपनि भूमी गुमाउन तयार नभएको बताउँदै भने,‘अहिले सम्पूर्ण नेपाली एक छन् । यसलाई उच्चस्तरीय कुटनीतिक सम्वाद र सहमतिद्वारा हल गरिनुपर्छ । हाम्रा ऐतिहासिक दस्तावेज (१८१६ को सुगौली सन्धि) पछिको सम्झौतापछिका हाम्रो भूभागको संरक्षण गर्ने दायित्व हाम्रो हो । सरकारको कोर्टमा बल पुगेको छ । उ कसरी आफ्नो अहिलेसम्म देखाईएको राष्ट्रवादी छविलाई मेन्टन गर्छ ? त्यो हेर्न बाँकी छ ।’ 

उनले सीमा सुरक्षाको लागि वर्तमान सरकारबाट चालिने प्रत्येक कदममा नेपाली कांग्रेसको साथ र समर्थन हुने विश्वास दिलाए । केसीले सभामुखमा बहुमतको दाबी हुने परम्परा भएको सुनाउँदै संवैधानिक मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *