…अनि ‘नेपाल, नेपाल, नेपाल’ मात्रै गुन्जियो (३० तस्विर)

मंसिर २१, काठमाडौं । जाँदा उत्सुकता । के होला ? कसो होला ? कसले जित्ला ? अस्तीको जस्तै बराबरी हुने हो कि । ज्या ! हार्ने पो हो कि । ह्या ! मज्जै आउँदैन नि हार्यो भने त । पैसा मात्रै नास, टिकटको । हे भगवान जितोस् है ! जसरी पनि ।   

फर्किँदा छुट्टै खुशी । बेग्लै आनन्द । मुहारै उज्यालो । नेपालले जित्यो नि त !   

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा छ, यसको बेग्लै उत्साह छ नेपाल र नेपालीमा । भुकम्पले क्षतविक्षत बनाएको रंगशाला रंगिएको छ यसैका लागि । रंगशाला साँच्चै रंगशाला जस्तो देखिएको छ ।   

दशरथ रंगशालामा दिनहुँ साग अन्तर्गतका खेलहरु चलिरहेका छन् । कहिले एथ्लेटिक्स । कहिले के, कहिले के । ती खेलमा दर्शक भन्दा ज्यादा प्रहरी देखिन्थे । विना मान्छेको खाली घर रुँगे जस्तो ।   

फुटबलकै कुरा गरौँ न, १३ औं सागमा पुरुष फुटबलका आजसम्म ८ म्याच भए । नेपालको तीन म्याचमा भरिएका रंगशाला ५ म्याचमा खाली, सुनसान थिए ।   

हुन त संसारको लोकप्रिय खेल नै फुटबल । फुटबलको ‘फ’ नजानेकालाई पनि खुब चासो हुन्छ । विदेशी खेलाडीका फुटबल त चाख मानेर हेर्ने फुटबलप्रेमी नेपालीहरु आफ्नै देशमा, आफ्नै देशको खेल हुँदा रंगशालामा ओइरिनु स्वभाविक थियो ।   

ती तिन खेलमा भुटान, श्रीलंका र माल्दिभ्स नेपाललाई हराउन सक्दो लागि परे । अँह हारेन नेपाल । पहिलो खेलमै भुटानलाई ४ गोलले हरायो । श्रीलंकासँग बराबरीमा रोकिएको नेपालले आज फेरी १ गोल अन्तरले माल्दिभ्सलाई हरायो । नेपालको २ गोल, माल्दिभ्सको १ मात्रै ।   

दिउँसो साढे १ बजे सुरु भएको प्रतियोगीता हेर्न ११ बजेदेखि नै अभिभावकसँगै रंगशाला छिरेका बच्चाहरु समते दंग परेर नियालिरहेका थिए, नेपाली खेलाडीका खुट्टाका चालहरु । गोल हान्दा उफ्रिए, अभिभावकसँगै । जबजब नेपाली खेलाडीको खुट्टामा बल पथ्र्यो, जसरी उनीहरुले बललाई प्रतिस्पर्धीबाट नचाउँथे, दर्शकका आँखा त्यही खेलाडीको खुट्टाको चाल÷तालमा नाचिरहेका थिए । नेपाली टिमको साथमा भएको बल गोलपोष्ट नजिकै पुग्दा त रंगशाला नै उचालिन्थ्यो, हुटिङले ।   

  

दर्शकको भीडले खचाखच रंगशालामा यही बेला निस्कन्थ्यो, ‘ओहो ! कस्तो छेकेको’ आवाज ।   

जसरी युरोपियन च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र इङ्गलिस प्रिमियर लिगमा आफ्नो क्लबको समर्थनमा दर्शकले चियरअप गर्छन् त्यसैगरी आज भएको खेलमा नेपाली दर्शकले नेपाली फुटबल टिमलाई समर्थन गरे ।   

त्यहाँ उपस्थित विदेशी नागरिक समेत नेपालको समर्थनमा थिए । शारीरिक अपांगता भएकाहरुको पनि उपस्थिति थियो भने बालकदेखि युवायुवती र प्रौढहरु समेतले अनुहारमा नेपालको राष्ट्रिय झण्डा अंकित स्टिकर लगाएका थिए । कतिले नेपालको झण्डाको आकृतिमा अनुहार समेत पेन्ट गरेका थिए । कतिपय दर्शक त विभिन्न बाजा÷गाजा बोकेर रंगशाला पुगेका थिए ।   

भुटानसँगको खेलमा ‘दर्शक पुगेन, अपेक्षा धेरै थियो’ भनेका साग पुरुष फुटबल टिमका क्याप्टेन सुजल श्रेष्ठ आज करिब १६ हजार दर्शकले घेरिएका थिए ।   

माल्दिभ्सले सुरुवाती अग्रता लिँदा दर्शकले भगवान पुकारे, ‘नेपालले जितोस्’ भन्दै । बराबरीमा आउँदा अलिकति ढुक्क भो । जितेपछि त हुटिङको ओइरो । अनि ‘नेपाल, नेपाल, नेपाल’ मात्रै गुन्जियाे । 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =