प्रशिक्षकसहित सागका पदक विजेता खेलाडी सम्मानित, टेटेमा आरुणी च्याम्पियन

मंसिर २९, काठमाडौं । गोंगबुस्थित युरो किड्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई शनिबार सम्मान गरेको छ ।
युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो ।
बुद्धिले पुरुष क्रस कन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए । बुद्धिसहित नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण जितेको थियो । सागको साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण जितेको हो । बुद्धिले १२ औं सागमा पनि सहभागिता जनाएका थिए । त्यस बेला रोड रेसमा सहभागिता जनाएका बुद्धि समग्रमा चौंथो भएका थिए ।
युरो किड्सका अध्यक्ष प्रमोद पाण्डे, निर्देशक राजन कार्कीलगायतले बुद्धिलाई प्रशंसा पत्र र नगद १० हजार रुपैयाँ प्रदान गरी सम्मान गरे ।
लपुका साग पदक विजेता सम्मानित
ललितपुर जिल्ला कराते महासंघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल ललितपुरका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
करातेको पुरुष ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनि दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन र विनोद शाक्य गुभाजुले कांस्य जितेका थिए ।
स्वर्ण विजेतालाई २५ हजार, रजतलाई १५ हजार र कांस्यलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । काता प्रशिक्षकद्वय गोपाल महर्जन र गंगाराम महर्जन तथा कुमुते प्रशिक्षक दीपक श्रेष्ठलाई जनही १५ हजार नगद पुरस्कार दिइयो ।
सोही अवसरमा निर्णायकद्वय राजेन्द्र कपाली र महेश रन्जितलाई जनही १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो । उनीहरुलाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष सानुलाल श्रेष्ठलगायतले सम्मान गरे ।
तेक्वान्दो पदक विजेतालाई सुमेरुको पुरस्कार
सुमेरु ग्रुपले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोमा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई शनिबार नगद पुरस्कार प्रदान गरेको छ । नेपाल तेक्वान्दो संघले सातदोबाटोस्थित आफ्नै एकेडेमी हलमा आयोजना गरेको बधाइ तथा पुरस्कार वितरण कार्यक्रममा उनीहरु पुरस्कृत भएका हुन् ।
तेक्वान्दोमा पुम्से र ग्योरोगी गरी २९ स्पर्धामा प्रतिस्पर्धा भएकोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । तेक्वान्दोमा सहभागी सबै नेपाली खेलाडी पदक हात पार्न रहे । सागको तेक्वान्दोमा नेपालले हासिल गरेको यो दोश्रो ठूलो उपलब्धी हो ।
नेपालमै भएको आठौं संस्करणमा तेक्वान्दोले १४ स्वर्ण र २ रजत जितेको थियो । आठौं संस्करणदेखि सागमा पहिलो पटक प्रवेश पाएको तेक्वान्दो १२ औं सागमा मात्र स्वर्णविहीन छ । तेक्वान्दोले नवौंमा ६ स्वर्ण, दसौंमा २ स्वर्ण, ३ रजत र १ कांस्य तथा एघारौंमा २ स्वर्ण तथा उत्तिनै रजत र कांस्य हात पारेको थियो । १२ औं सागमा भने नेपालले ७ रजत र ३ कांस्य पदक हात पारेको थियो ।
सुमेरुले व्यक्तिगत स्वर्णलाई ५० हजार, पेयरलाई २५ हजार र टिमलाई २० हजार नगद प्रदान ग¥यो । रजत पदक विजेतालाई २५ हजार, व्यक्तिगत तथा पेयर÷टिममा कांस्य जित्नेलाई क्रमशः १५ हजार र २० हजार नगद पुरस्कार दिइयो ।
त्यस्तै मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले २० हजार तथा प्रशिक्षकहरु क्वान योङ दल, टीका लिम्बू, संगीना वैद्य, दीपक विष्ट, नोर्बु लामा र हीराबहादुर थापाले जनही १५ हजार नगद पुरस्कार थापे । व्यस्थापक श्रीमान थापा मगर र पूर्णकुमार योञ्जनले जनही १५ हजार नगद पुरस्कार पाए ।
उनीहरुलाई संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले दोहोरो स्वर्ण विजेता आयशालाई ब्रान्ड एम्बासडर बनाउन चाहेको बताउदै पदक विजेता खेलाडीलाई सुमेरु अस्पतालमा उपचार गराउन ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।
टेटेमा आरुणी च्याम्पियन
तेश्रो एन प्याब्सन खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिसमा आरुणी स्कुल शनिबार टिम च्याम्पियन बनेको छ ।
काठमाडौं एन प्याब्सनद्वारा आयोजित खेलकुद सप्ताहमा आरुणी १९ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्यो । ११ अंकमा ग्रिनफिल्ड नेसनल स्कुल दोश्रो तथा ९ अंकमा कान्तिपुर इङलिस एकेडेमी तेश्रो भए । बाफलस्थित ग्रिनफिल्डमा भएको टेबलटेनिसमा विभिन्न २८ विद्यालयका ३ सय प्रतिस्पर्धी सहभागी थिए ।
खेलकुद सप्ताहको औपचारिक उद्घाटन भने पुस १ गते टुँडिखेलमा हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष विष्णु पराजुलीले जानकारी गराए । टेबलटेनिस बाहेक खेलकुद सप्ताहमा ब्याडमिन्टन, छात्र क्रिकेट, छात्रा फुटसल र सिनियर छात्र बास्केटबलमा प्रतिस्पर्धा हुने छ ।
प्रोग्रेसिभमा हुने ब्याडमिन्टनमा २ सय खेलाडी, टुँडिखेलमा हुने क्रिकेटमा ५० टिम, सिनामंगलस्थित ब्रिजवाटर स्कुलमा हुने फुटसलमा ६४ टिम तथा धुम्बाराहीस्थित युनिभर्सलमा हुने बास्केटबलमा ५० टिमले भाग लिने काठमाडौं एन प्याब्सनका प्रचार प्रसार विभाग प्रमुख गेन्द्र लामाले जानकारी दिए । प्रमुख लामाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने छ ।








