धरानमा ‘धरान डे’ मनाउने स्थानीय सरकारको तयारी

पुस १३, धरान । धरान उपमहानगरपालिका स्थापना भएको ११९ औं वर्षपछि पहिलो पटक सुनसरीको धरानमा ‘धरान डे’ मनाउन लागिएको छ ।
आइतबार धरान उपमहानगरपालिकाको सभाहलमा पत्रकारहरुसँगको छलफलका क्रममा यही पुस १८ गतेदेखि २० गतेसम्म ‘धरान डे’ मनाउने तयारी गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए । नेपाल सरकारद्वारा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गर्न लागिएको उनको भनाइ छ ।

विगतमा पौष २० गते धरान डे मनाउने चलन रहेको भएपनि केही वर्षदेखि जनप्रतिनिधि नभएकाले उक्त कार्य स्थगित नै भएको थियो ।
छलफलकै क्रममा मेयर तिलक राईले धरानको विविध क्षेत्र तथा विधामा योगदान पुर्याउने व्यक्तित्वहरु र १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक प्राप्त गर्ने धरानका खेलाडीहरुलाई सम्मान गरिनुका साथै क्षेत्रगत रुपमा धरानको सद्भावना दूत समेत घोषणा गरिने जानकारी दिए ।
कार्यक्रममा शैक्षिक प्रदर्शनी, स्वास्थ्य प्रदर्शनी, चित्रकला तथा फोटो प्रदर्शनी, साहसिक खेलकुद प्रदर्शनी, जातिय खानाको प्रदर्शनी तथा धरानका स्थानिय उत्पादनहरु प्रदर्शनीमा राखिने बताइएको छ ।
त्यस्तै सो अवसरमा हुने सांस्कृतिक कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ लगायत धरानका कलाकारहरुको प्रस्तुतिका साथै धरानमा रहेका विभिन्न जातजातिको जातिय संस्कृतिक नृत्य तथा जातिय संस्कृति झल्कने कार्यक्रम रहने जानकारी दिइएको छ । प्रदेश स्तरीय साहित्यिक कार्यक्रमको प्रस्तुति समेत राखिने छ ।
३ दिन सम्म चल्ने सो कार्यक्रमलाई सफल पार्न पौष २० गते धरानमा सार्वजनिक बिदा समेत दिइनेछ भने औपचारीक कार्यक्रमको समयमा हेलिकप्टरबाट पुष्प वृष्टी गरिने छ ।








