प्रधानमन्त्री हाँस्दा हुन् कि रुँदा हुन्…!

प्रधानमन्त्री कहिले कसैकी श्रीमतीसँग हुन्छन्– ‘पहिला कर तिर’ भन्दै ।
कहिले लुरालुरीलाई भत्ता मिलाउनतिर जोस्सिन्छन् ।
कहिले राष्ट्रपतिलाई अंकमाल गरिरहेका भेटिन्छन् । त कहिले राष्ट्रपतिसँगै बरमालाको पोशाकमा झुल्किन्छन् ।

घरी छिमेकीलाई सीमा मैँले बेचेको भन्छन् । कहिले हिलाम्मे हुन्छन् त कहिले फाटेका झुत्रा लुगामा सजिन्छन् ।
अचेल प्रधानमन्त्रीलाई समाचारमा भन्दा ट्रोलमा ज्यादा देख्न पाइन्छ । बिरामी छन् कमै बोल्छन् ।
यी सब देख्दा दुनियाँलाई हाँसो उठ्छ । प्रधानमन्त्री चाहीँ कस्तो महशुस गर्दा हुन् ? ट्रोलले दिल छुँदो हो कि दिमाग ?
उसै त रोगी, मिर्गौला फेल ! रोगले गिजोल्दो हो कि ट्रोलले ?
पीएम बिरामी भएको खबर बाहिरिँदा ‘रिप’ भन्ने जमातै निस्किए । कस्तो हतारो मलामी जान !
आफैँले पटक पटक जिउँदो छु भन्दै भिडियोमा प्रमाण पेश गर्नुपर्ने, हाय रे कस्तो जिन्दगी !
बिहानै फेसबुक खोल्दा हुन्, ‘नेपाल’ को अपडेट लिन । आफूमाथिको प्रहार हेर्न । जनताका गुनासा चिहाउन । झट्ट ति उछृङ्खल ट्रोलमा नजर पुग्दा खित्का छोडेर हाँस्दा हुन् कि डाँको छोडेर रुँदा हुन् ?
कि ईख हुँदो हो, कारवाहीको । आफैँले ल्याएको ‘वाक स्वतन्त्रता’ सँग डर पो लाग्दो हो कि !
न गरेका काम देख्छन् ।
पानीजहाज ल्याउँछु भन्यो ट्रोल । जनतालाई भोको राख्दिन भन्यो ट्रोल । पाइपलाईनबाट घर–घरमा ग्यास ल्याउँछु भन्यो ट्रोल । धन्न पाईपलाइनबाट पेट्रोलियम पदार्थ चाहीँ आइहाल्यो, नत्र त त्यो पनि ट्रोल !
उनलाई लाग्छ रे, ती ट्रोलर नेपाली होइनन् । ‘नेपाली यतिसम्म गिर्न सक्दैनन्’ भन्दै आफैँ व्यंग्यमा उत्रिन्छन् ।
बेलाबखत सामाजिक सञ्जाललाई खरो प्रहार गर्छन् । उनले एक कार्यक्रममा भनेका थिए– ‘हाम्रो समाज मर्यादित छ । तर कताकति सामाजिक सञ्जालका नाममा नेपालको सभ्यता भत्किएको महशुस हुन्छ । हामी असभ्यतातर्फ लम्कँदै छौँ कि जस्तो भान हुन्छ । हेर्न, सुन्न नसक्ने गरि लेखिन र बोल्न थालिएको देखिन्छ, त्यो नेपालीपन होइन । नेपाली यतिसम्म गिर्न सक्छन् जस्तो मलाइ लाग्दैन ।’
‘कुन्नि के लाई चलायो गन्ध’ भनेजस्तो । उनको व्यंग्यको बाछिट्टा उनैतिर उछिटिन्छ र… फेरि अनेक ट्रोल ।
ट्रोल जगतै उनको शंकाको केन्द्रविन्दुमा छ । यस्ता असभ्य ट्रोललाई विपक्षीको रिस र डाहका रुपमा परिभाषित त गर्छन् पीएम तर यस्तो नहुन पनि सक्छ ।
विश्वमा चर्चितै छ ट्रोल । न भगवान राम बचेका छन्, न त डोनाल्ड ट्रम्प ।
एक युवा जमातै यसमा सक्रिय देखिन्छन् । दुनियाँको ट्रोल बन्छ ।
के सबैको ट्रोल विपक्षी, दुश्मनले नै बनाउँदा हुन् त ? राजनीति हो, यस्तो हुन पनि त सक्छ ।
एउटाले अर्कोको खुट्टा तान्नु । अर्काको राम्रा कामको विरोध गर्नु, खिल्ली उडाउनु । आफ्ना पार्टी सम्बद्धको ‘अपराध’ ढाकछोप गर्नु । राजनीतिमा यी सब ‘नर्मल’ हुन् ।
ताजा दुई उदाहरण । विपक्षी पार्टीका सभापति, कार्यकर्ताले ‘इँट्टाभट्टामा मान्छे पोल्ने’ को समर्थनमा बोल्नु । उनीहरुको पाप पखाल्न, ढाकछोप गर्न आन्दोलन गर्नु । बलात्कारको आरोप लागेका विशिष्ट व्यक्तिलाई फेरि सत्तापक्षका केहीले संरक्षण गर्न खोज्नु ।
प्रमाण मेटाउने प्रयास गर्नु । पीडितलाई बयान फेर्न लगाउनु ।
यहाँ आफू सम्बद्ध पार्टीले गरेका हरेक कार्य राम्रा अनि विपक्षीले गरेका सबै नराम्रा लाग्ने प्रवृत्ति मौलाउँदो छ ।
पार्टीभित्रका अपराधीको संरक्षण र पार्टी बाहिरका ‘अल’, अझ विशेष राजनीतिमा ‘सक्सेसफुल’ व्यक्तित्वलाई राजनीति र जनताबाटै ‘विलिन’ बनाउन खोज्ने संस्कार बढ्दो छ ।
सर्वसाधारणको त के कुरा ? बिल्लीबाठ !
सानोमा एउटा कथा सुनेकी थिएँ,
एउटा गाउँमा तीन मित्र थिए । अलिकति मुर्ख । अति नै मिलनसार । आनीबानी, लवाई, खवाई, हिँडाई दुरुस्तै । तर धर्म फरक । ईस्लाम, क्रिश्चियन र हिन्दू । उनीहरुको मित्रता जति गाढा थियो, त्यो भन्दा कयौँ गुणा धर्मप्रतिको विश्वास । उनीहरु भेट हुँदा एक अर्काबीच आ–आफ्नो धर्मको तारिफ गर्न छुटाउँदैन थिए ।
एकदिन धर्मको विषयमा उनीहरु बिच बहस नै चलेछ ।
तीन सदस्यीय बहसले ‘भगवानको परीक्षा’ लिने निर्णय गर्यो ।
उनीहरु एउटा ठुलो पहाडमा गएर उभिए । योजना थियो, ‘आ–आफ्नो भगवानको नाम लिँदै त्यो पहाडबाट खस्ने, कसको भगवानले कहाँ लैजान्छन्, बचाउन आउँछन् कि आउँदैनन्, जाँच्ने ।’
जसरी हुन्छ आफ्नो भगवानप्रति अरुलाई विश्वास दिलाउनु थियो । ज्यान गए जाओस् ।
सुरुमा प्रभु येशुको नाम लिँदै क्रिश्चियन हाम फाल्यो रे । उसलाई येशु आएर बचाए । दोस्रोमा आफ्नो अल्लाहको नाम लिँदै इस्लाम हाम फाले । उनलाई पनि अल्लाह आएर बचाए रे । अन्तिममा ‘भगवान’ भन्दै त्यही पहाडबाट हिन्दू हामफाले । उनलाई बचाउन कोही आएनन् ।
२ मित्रका भगवान एउटा मात्रै, आए र बचाए । हिन्दू धर्ममा भगवान कति–कति ।
‘भगवान’ भनेर पुकार्दा कुन भगवान जाने भनेर स्वर्गलोकमा बहस गर्दा गर्दै यता उनको मृत्यु भयो ।
(यो कथा, कथा मात्रै हो । कुनै धर्ममाथि प्रचार–प्रहार गरिएको होइन)
माथिका हरफहरु कसैले ‘राजनीतिक वास्तविकता, यथार्थ र हविगत’ लाई नै समेटेर व्यंग्यात्मक कथा बनाए जस्तो लाग्छ ।
ती कथालाई राजनीतिमा एक पटक जोडौँ…,
कथाका तीन धर्मालम्बीहरु मध्ये दुई (जो बाँचे) कुनै पार्टीमा आबद्ध थिए, अर्का एक (जसको मृत्यु भयो) स्वतन्त्र नागरिक ।
मानौँ ती तीनै जना भोकमरीमा छन् । ती मध्ये दुई (जो पार्टीमा आबद्ध छन्) लाई पार्टीले जोगाउँछ । जसरी पनि । अर्को एक (जो पार्टीमा आबद्ध छैन) भोकै मर्छ । उसको भोक मेट्न को जाने ? बहस चल्दा चल्दै यमलोक !
एक त विशुद्ध नेपाली भेटिनै गाह्रो । भए पनि बाँच्नै गाह्रो !
नेपालमा नेपालीको अभाव छ । कोही पार्टीका कार्यकर्ता । कोही राजाका समर्थक अरे ! कोही चम्चे । बचेकुचेका ‘स्वतन्त्र नेपाली’ विदेश पलायन । नेपालमै भएकालाई पनि बाँच्नै गाह्रो !
स्वतन्त्र नागरिकको त अधिकारै कहाँ छ र ? सोर्स–फोर्स नलाई गाँसै हाल्न मुश्किल !
लोकसेवामा सोर्स, सरकारी जागिरमा सोर्स । अब त प्राइभेटमा नोकरी गर्न पनि सोर्स–फोर्स, ‘मेरो मान्छे हो राख है’ भनेपछि सकियो । किन चाहियो पढाइ र क्षमता ?
बस् पार्टीको कार्यकर्ता हुनुपर्यो, कसैलाई मारोस् कि पिटोस्, बच्यो ! बच्यो !
सञ्चार जगतलाई सँधियार दुश्मन ठान्ने, आदर–सम्मानका कुरा छाँट्ने पीएमको ध्यान साँच्ची यता छ कि नाइँ ?
कमजोरी यताको पो हो कि ! आफ्नै र अर्काका ‘असन्तोकी कार्यकर्ता’ ले पो उडाएका हुन् कि ‘विकास’ का मजाक !
‘छौडा र अरिंगाल’ लाई व्यवस्थापन गरे निप्टिन्थे कि यी समस्या !
‘घिनलाग्दा’ ट्रोल पुनर्जीवितको हुँदै मगमगाउँथे कि ! समाज सभ्यतातर्फ लम्कन्थ्यो कि ! विकासका चुट्किला इतिहास बन्थे कि ?








