धनुषा बम विस्फोटमा ज्यान गुमाएका प्रहरी निरीक्षक दाहालको पशुपति आर्यघाटमा यसरी भयो दाहसंस्कार (तस्बिरसहित)

मंसिर २९, काठमाडौँ । धनुषामा भएको बम विष्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहाललाई उनका बुबा प्रकाश शर्माले दागबत्ती दिएका हुन् ।   

उनको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत प्रहरी अधिकारीले पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गरे ।   

धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ कुचियाही टोलमा शुक्रबार मध्यरातमा बम विष्फोटन हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।   

सङ्खुवासभामा जन्मिएका दाहाल हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ कृष्णनगरमा बस्दै आएका थिए । विसं २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरी विसं २०६० असोज ९ गते प्रहरी नायब निरीक्षक तथा विसं २०७५ वैशाख १९ गते प्रहरी निरीक्षकमा पदोन्नति भएका थिए ।   

स्व दाहालका बुबा, आमा, श्रीमती र एक छोरा छन् । दाहाल गत साउन ८ गतेदेखि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखका रुपमा कार्यरत थिए ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =