सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतकको संख्या १४ पुग्यो

मंसिर २९, काठमाडौँ । लामोसाघु जिरी सडकखण्ड अन्तर्गत सिन्धुपाल्चोकको ६ किलोमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको पतालमा उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो ।
यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले मकालु खबरलाई जानकारी दिए । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ । भक्तपुरको रुटमा चल्ने लोकल बस रिजर्भ गरि शनिबार दोलखाको कालिञ्चोक दर्शनका लागि गएका यात्रु बोकेको बस आइतबार बिहान फर्कने क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि १८ जना घाइते भएको भनिए पनि अझै एकिन विवरण आउन नसकेको डीएसपी काफ्लेले बताए । मृतकहरुको पहिचान एवं सनाखत हुन अझै केही समय लाग्ने छ ।

अहिले दुर्घटनास्थलमा स्थानीय सर्वसाधारण र प्रहरी उद्धार कार्यमा खटिएका छन् ।








