मेडिकल हलको चरम लापरवाही, ५० प्रतिशत औषधी म्याद गुज्रिएका

मंसिर २६, चितवन । चितवनको कालिका नगरपालिकाभित्र रहेका मेडिकल हल (औषधी पसल ) हरुको अनुगमन गरिएको छ ।   

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रकाशचन्द्र पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, डाक्टरहरुको सहभागीतामा गरिएको अनुगमनमा सवै पसलहरुमा मिति सकिएको औषधी बिक्रीका लागि राखिएको पाइएको छ ।   

कालिका नगरपालिकाको क्लव चोक स्थित जीवन मेडिकल हल,प्रकाश क्लिनिक,केटिएम पोलिक्लिनिक एण्ड होम केयर, जनक मेडिकल, जुटपानी स्थित रुपा फार्मेसी र जुटपानी मेडिकल हलको अनुगमन गरिएको थियो ।   

अनुगमनका क्रममा मिति सकिएको औषधी बिक्रीका लागि राखिएको, फर्माशिष्ट नभेटिएको, दर्ता नभएको भेटिएपछि जीवन मेडिकललाई वन्द गर्न आदेश पश्चात सञ्चालकले बन्द गराएको कालिका नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख पौडेलले बताए ।   

जीवन मेडिकल हलमा बिक्रीका लागि राखिएको ५० प्रतिशत औषधी मिति सकिएको पाइएको उनले जानकारी दिए । पौडेलका अनुसार सरकारले निःशुल्क उपलब्ध गराउने औषधी फिजिसन स्याम्पलमा शुल्कको ट्याग लगाएर बिक्रीका लागि राखिएको, मिति सकिएको औषधी भेटिएकाले जुटपानी मेडिकल हल बन्द गराइएको छ ।   

अनुगमन गरिएको प्रकाश मेडिकल हल र जुटपानी मेडिकल हलमा राखिएको प्रयोगशाला दर्ताको कागजपत्र संचालक उपलब्ध गराउन नसकेपछि प्रयोगशाला संचालनमा रोक लगाइएको छ ।   

कालिका नगरपालिका ७ का वडाध्यक्ष डिल्लीराम दवाडी,जिल्ला प्रशासन कार्यालय चितवनका नायव सुब्बा उमेशचन्द्र पन्थी,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारी, जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर जीवन खरेल, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारी, मेडिकल ल्याब टेक्निसियन कलाधर पौडेल, स्वास्थ्य प्राविधिक रिमाकुमारी दुबे, नगरपालिकाका स्वास्थ्य शाखाका विजय पाण्डे लगायत प्रहरी र पत्रकारहरुको लगायतको उपस्थितीमा अनुगमन गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *