हार अनि जीतपछिका क्षणहरु…(२० तस्विर)
मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्वाक्समा स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।
सोमबार केही खेलमा जित्दै ४९ स्वर्ण पुर्याएको नेपालले आजको खेलमा स्वण जिते ५० स्वर्ण लक्ष्य पुरा हुनेछ ।
हिजो आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा भएको थियो । जसमा बक्सिङ अन्तर्गत मिनु गुरुङ र भुपेन्द्र थापाले स्वर्ण थप्न सहयोग पुर्याए भने ललिता महर्जन र संगीता सुनार रजत पदकमै सिमित भए ।
६० केजी तौल समूहको खेलमा संगीता सुनार पनि रजतमै सिमित भइन् । श्रीलंकाकी बक्सर केशानी हंसिका कस्तुरी अर्चचिघेलाई हराउँदै फाइनल पुगेकी संगीता भारतीय खेलाडी परिवनसँग हार्न पुग्दा रजतमै सिमित बन्न पुगेकी हुन् ।
ललिता महर्जन भने सुरुमै अलिकति नर्भस देखिन्थिइन् । खेल अगावै उनको अनुहारमा हारको डर देखिन्थ्यो । नभन्दै भारतीय बक्सर श्रीनिभासन कालाईभानिसामु उनी स्तब्ध बन्न पुगिन् । रजतमै सिमित भइन् । हारपछि अलिकति खिन्न र भावुक देखिइन् । तस्विरका लागि मुस्कुराउन पनि उनलाई निकै सकस परिरहेको थियो ।
भन्नेलाई भन्दिए भो ‘खेल हो, हारजीत भइहाल्छ’ । हारपछिको पीडा कसले बुझ्ने !
भुपेन्द्र र मिनुको भने खुशीको सिमा थिएन । होस् पनि कसरी उनीहरु मार्फत् नेपालले २ दशकपछि बक्सिङमा स्वर्णको रेकर्ड बनाएको थियो ।
सागको पुरुष बक्सिङमा २० वर्षपछि पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएका भुपेन्द्र त जितेपछि एकैछिन बक्सिङको रिङभित्रै खुशीले नाचे । उनले भारतका मनिष कौशिकलाई हराउँदै बक्सिङमा नेपाललाई स्वर्ण दिलाएका हुन् ।
जितसँगै मिनु सागमा स्वर्ण जित्ने पहिलो महिला बक्सर बनिन् । भारतीय खेलाडी रजतमै खुम्चिए ।
यसअघि सन १९९९ मा नेपालमा सम्पन्न सागको ८ औं संस्करणमा नेपालका लागि दुई दाजुभाई रामचन्द्र थापा मगर र प्रकाश थापा मगरले स्वर्ण जितेका थिए ।
जितेपछि मिनुले स्वर्ण आफ्नी आमाका नाममा समर्पण गरिन् । ‘१२ औं सागमा कास्यमा सिमित भएकी थिएँ । १३ औं सागमा स्वर्ण जित्ने लक्ष्यका साथ २०१६ देखि नै तयारी गरेकी थिएँ । आज पनि मनमा डर त थियो तर सफल भएँ । एकदमै खुशी छु’, मिनुले भनिन् ।
यसअघिका विभिन्न प्रतियोगीतामा फाइनल पुगेर स्वर्ण चुम्ने अवसर नपाएका भुपेन्द्रको पनि खुशीको सीमा थिएन ।
पटक पटकको हारपछि ‘जहिल्यै हारेर आउँछ’ भन्ने बचन खेपेका भुपेन्द्रले यसपटक परिवारलाई सुइँको नदिई स्वर्ण जितेका थिए । यो पटक स्वर्ण जितेरै छोड्छु भन्ने उद्देश्यका साथ मैदान उत्रिएका भुपेन्द्रको सपना पुरा भयो । जितपछि उनले घरमा फोन गरेर खुशी साटे, परिवार सरप्राइज भए ।
त्यस्तै ‘जलपरी’ गौरिका सिंहले सोमबार पौडीमा थप स्वर्ण दिलाईन् । उनीमार्फत् पौडीमा स्वर्णको किर्तिमान बनेको छ । चौँथो स्वर्णमा उनी भावुक बनिन् । जितपछि आमाबाबुसँगै गौरिका पनि रोइन् ।
गौरिकाले ५८.१३ सेकेन्डमा निर्धारित दूरी पूरा गरी चौथो स्वर्ण हात पारेकी हुन् । यसअघि गौरिकाले २ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक, ४ सय मिटर फ्रिस्टाइलमा तेस्रो व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन् । महिला ४ सय मिटर रिलेमा भने उनी कास्यमा सिमित भइन् ।
१३ औं सागबाट उनले नेपाली भाषामा समेत सुधार गरेकी छिन् । यसअघिसम्म नेपाली राम्रोसँग बोल्न नसक्ने गौरिकाले ४ स्वर्ण जितेपछि आफ्नो बलबुताले भ्याएसम्म नेपालका मिडियालाई नेपालीमै जवाफ फर्काइन् ।
उनलाई धेरैले बेलायती नागरिकको उपमा दिँदै आएका थिए । यसैकारण उनी कति नेपाली खेलबाट बञ्चित भएकी थिइन् ।
आमाबाबुसँगै बेलायतमा रहँदै आएकी गौरिकाले यसअघिका प्रतिक्रियामा ‘म पनि नेपाली नै हुँ’ भन्दै व्यंग्य समेत गरेकी थिइन् । १३ औं सागका लागि नेपाल आएकी उनी अब केही दिनमा फेरि बेलायत फर्किँदै छिन् ।