भाटभटेनी सुपरमार्केट विराटनगरमा सिनेमा हल सञ्चालन

विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको पाँचौ तलामा क्यूएफएक्स सिनेमाजको मल्टिप्लेक्स सिनेमा हल शनिबारदेखि सञ्चालनमा आएको छ । उक्त सिनेमा हल १६ करोड लागतमा बनेको हो ।
थिएटरमा डेफ्थ क्यू थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको सिनेमा हल रहेको क्यूएफएक्सका अध्यक्ष नखिम उद्धिमले जानकारी दिए । २ वटा स्क्रिनहरूमा डल्बी एटमस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ । जसले इन्हान्स साउण्ड क्वालीटी प्रदान गर्ने सञ्चालकले जनाएका छन् ।
नयाँ मल्टिप्लेक्समा क्रिष्टि प्रोजेक्ट सिस्टम पनि रहेको छ । जसले पिक्सेलहरूको समायोजन गरी अप्टिमल इमेज क्वालिटी प्रदान गर्छ । जसले गर्दा दर्शकहरूले सबैभन्दा इन्हान्स्ड सिनेमेटिक एक्सपेरियन्स गर्न सक्नेछन् । पहिलो पल्ट क्यूएफएक्स सिनेमाजको थिएटरमा रिक्लाइनर सिटहरूको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा जम्मा ४ सय २४ सिट क्षमता रहेको छ । जसमध्ये २८ वटा रिक्लाइनर सिट रहेका छन् ।
null
क्यूएफएक्स सिनेमाजले नयाँ चेनमा आफ्नो मोबाइल एप र लोयल्टी प्रोग्राम ‘गोजी’ पनि जारी राखेको छ । साथै क्यासलेस ट्रान्जेक्सनको लागि अनलाइन टिकेटिङ सुविधा पनि उपलब्ध रहेको छ । यो नयाँ मल्टिप्लेक्समा किचेनसहितको फूडकोर्टमा ताजा खानाहरू पनि उपलब्ध हुनेछ ।
नयाँ मल्टिप्लेक्सको इन्टेरियर निकैनै आधुनिक तथा एलिगेस्ट रहेको छ । नयाँ २ स्क्रिनको मल्टिप्लेक्स संचालनसँगै क्यूएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या देशभरीमा २७ पुगेको बताइएको छ । देशभरीमा क्यूएफएक्सको शाखाहरू एक दर्जन पुगेको छ ।
काठमाण्डौं बाहिर पूर्वमा यसअघि विर्तामोर्डमा क्यूएफएक्सको सिनेमा हल सञ्चालमा छ । क्यूएफएक्समा देखाएको सिनेमाको टिकट २ सय ५० देखि ८ सय रूपैयाँ सम्म हुनेछ । मर्निङ शोमा ५० प्रतिशत छुट रहने बताइएको छ ।








