चिनियाँ काठमाडौंमा डेरा जमाएर के गर्दै छन् ?

पुस ०८, काठमाडौं । चिनियाँ नागरिकले लामो समयदेखि शंकास्पद व्यवहार देखाएको सूचना गृह मन्त्रालयसम्म पुग्यो।   

काठमाडौंका बाँसबारी, बूढानीलकण्ठ र मनमैंजुमा घरै भाडामा लिएर बसेका उनीहरूको गतिविधिप्रति स्थानीयलाई शंका लागेको थियो। 

मन्त्रालयमा गत साता बसेको सुरक्षा समिति बैठकमा त्यसबारे गम्भीर चर्चा चल्यो। प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरोले चिनियाँ बसेका घरमा प्रहरी खटायो।   

null

भित्र छिर्न परिचयपत्र देखाउनुपर्ने र नौलो व्यक्ति देखेपछि उनीहरूले शंकास्पद व्यवहार देखाए। त्यसको रिपोर्टिङ प्रहरी महानिरीक्षकदेखि गृहमन्त्रीसम्म पुग्यो। 

सीआईबीमा आइतबार काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका अधिकारी सम्मिलित बैठक बस्यो। सोमबार संयुक्त रूपमा अपरेसन गर्ने निर्णयमा प्रहरी पुग्यो।   

त्यहीअनुसार अपरेसनको नेतृत्व सीआईबीले गरेको छ। त्यसमा बालाजु र महाराजगन्ज वृत्तका प्रहरीसमेत सामेल थिए। प्रहरीले तीन घरमा एकसाथ अपरेसन गर्दा चिनियाँ नागरिक झस्किएनन् मात्रै ‘तपाईहरु को हो ?’ भन्दै प्रश्न गरे। 

एकै दिन ९७ चिनियाँ पक्राउ परेका छन्। पर्यटक भिसामा आएका उनीहरूका राहदानी, ल्यापटप, मोबाइल र विभिन्न कागजपत्र प्रहरीले बरामद गरेको छ। अधिकांशको भिसा म्याद सकिएको पाइएको छ।   

होटल भनेर बसे पनि साइनबोर्डसमेत नभेटिएको प्रहरीले जनाएको छ। ‘पर्यटक बनेर बसेका छन्। होटल भनेर बसे पनि कुनै साइनबोर्ड छैन’, सीआईबी प्रमुख डीआईजी नीरज शाहीले भने, ‘हामी उनीहरूलाई एकै स्थानमा भेला गरेर स्क्रिनिङ गर्छौं।’ 

पछिल्लो पटक चिनियाँ ह्याकर पक्राउ परेका थिए। ठमेलमा पनि चिनियाँ नागरिकले शंकास्पद गतिविधि देखाउँदै आएको सूचना प्रहरीमा पुगेको थियो। यो समाचार अन्नपूर्ण पोस्टले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *