मामाले गरे तीन भाञ्जाभाञ्जीको अपहरण, फिरौती माग्दा दिदीलाई पत्याउनै मुश्किल !
पुस ४, काठमाडौं । तीन जना बालबालिका अपहरण गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अपहरणको अभियोगमा धनगढीका २४ वर्षीय आशिष सिजापति र गोरखा घर भएका २६ वर्षीय विनोद थापा मगरलाई नियन्त्रणमा लिएको हो ।
के थियो घटना ?
गत मंसिर २८ गते शनिबार सीता (नाम परिवर्तन) ले १४ वर्ष मुनिका एक छोरा, एक छोरी र भान्जी नाता पर्ने बालिकालाई सामाखुसीस्थित कोठामा छोडेर पोखरा गइन् ।
हेरचाहका लागि कोही राख्न आवश्यक ठानिनन् । उनीहरुलाई एक्लै छोडेर पोखरा गइन् ।
बालबालिकामात्र कोठामा भएको जानकारी पाएपछि आशिषले बिहान ९ बजेतिर स्कूल जान लागेका तीनै जना बालबालिकालाई काठमाडौंको टोखास्थित ९ नम्बर वडाको शान्तिटोलमा रहेको होटल ब्लु स्टार लिएर गए ।
आशिष कविता हुँदा पनि बेलाबखत कोठामा पुगिरहन्थे । बच्चाहरु पनि आशिषलाई (मामा) भनेर सम्बोधन गर्थे। मामाले भनेको कुरा नपत्याउने कुरै भएन ती कलिला बालबालिकाले । र केही नसोची मामासँगै गए ।
यद्यपी कविताको एक छोरा भने विद्यालय पुगिसकेका थिए। त्यसपछि आशिषले विद्यालय छुट्टी भएपछि पाँच बजेतिर उनलाई पनि अपहरण गरेको देखिएको डिएसपी बोगटीले बताए ।
अपहरणको तीन दिनपछि आशिषले पोखरामा रहेकी कवितालाई बच्चाको नम्बरबाट फोन गरी (तिम्रो छोराछोरी मेरो कब्जामा छन्, तीन लाख देऊ अनिमात्र पठाउँछु’ भने । तर सितालाई पत्याउन गाह्रो भयो । विश्वासै गर्न सकिनन् ।
आशिष चिनेकै मान्छे थियो, कसरी पत्याउनु ?
गत बुधबार कविता काठमाडौं आइन्। कोठामा पुग्दा छोराछोरी देखिनन्। तब मात्र कवितामाको मनमा चिसो पस्यो। आशिषसँग पनि सम्पर्क भएन। त्यसपछि प्रहरीकहाँ पुगिन् उनी।
सूचना पश्चात खोजतलास खोजतलास गर्ने क्रममा प्रहरीले बच्चाहरुलाई उक्त होटलको कोठा नम्बर ४०४ भित्र बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको हो ।
आशिष भने अपहरणको केसमा नै केही दिनअघि पक्राउ परिसकेका छन्। उनले अपहरणपछि ती बच्चाहरुलाई विनोदको जिम्मा लगाएर अर्को मानिस अपहरण गर्न हेटौंडा पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रहरीले सुरुमा कुरुवाको रुपमा बसेका विनोदलाई पक्राउ गरेको थियो । आशिषको भने अत्तोपत्तो थिएन । सोधपुछ र विस्तृत अनुसन्धानका क्रममा सिजापती प्रहरीकै हिरासतमा रहेको खुल्न आएको हो ।
तीन जना बालबालिका अपहरण गरेको एकदिनपछि मंगलबार सिजापतीले नै काठमाडौंको टोखामा डेरा गरी बस्ने रामेछापका दोरम्बका २१ वर्षीय नरेश थापा मगरलाई अमलेखगञ्जमा अपहरण गरेको तथ्य पनि खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चलाएको अपरेशनमा उनीसहित धादिङका किसन गुरुङ, आशिक लामा, कञ्चनपुरका सुनिता धामी र मकवानपुरका सरस्वती तामाङ पनि पक्राउ परेका थिए ।
हेटौंडा जानलाई बा २ ज ५९५ नम्बरको ट्याक्सीमा सवार रहेका मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका सिजापतीको समूहले अपहरण गरेको थियो ।